अहँ मिल्दैन। कतिलाई लाग्न सक्छ कि विश्वास नगर्नेसँग विहे गर्छु र विहेपछि उसलाई पनि ख्रीष्टियान बनाउँछु। यो गैरबाइबलीय सोच हो। यो सैद्धान्तिक र व्यावहारिक हिसाबले पूरै गलत छ। सबैभन्दा पहिलो कुरा त, विवाहको उद्देश्य विशुद्ध रूपमा सङ्गति गर्नु हो। परिवार बसाल्नु हो। दुई शरीर आत्मामा एक हुनु हो, अर्थात् परमेश्वरमा एक हुनु हो। केटाले एउटा ईश्वर मान्छ र केटीले अर्कै ईश्वरलाई मान्छ भने उनीहरू आत्मा र हृदयमा एक हुन सक्दैनन्। परमेश्वरको विषयमा दुवैको धारणा साझा वा एउटै भएन भने तिनीहरू एक हुन सक्दैनन्। यसकारण याद गर्नुस्, विवाहचाहिँ कसैलाई ख्रीष्टियान बनाउनको लागि परमेश्वरले रच्नुभएको विधि होइन। दोस्रो, मानिसलाई प्रभुमा ल्याउनको लागि सुसमाचार दिइएको छ, विवाह होइन। येशूले मत्ती २८,१८–२०मा भन्नुभयो, “स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।” येशूले यसो भन्नुभएन, ''जाओ र विवाह गरेर मानिसहरूलाई विश्वास गर्न लगाओ!''
कतिले चाहिँ विश्वास नगर्नेसँग विहे गरेर पछि चर्चमा आएका जोडीहरूको हिसाब राखेको भेटियो, ''फलानाले पनि विश्वास नगर्नेसँग विहे गर्यो। पछि केटीलाई चर्चमा ल्यायो। फलानाले पनि केटालाई आखिर चर्चमा ल्याएरै छाड्यो। आखिर आत्मा त बाँच्यो नि!'' तिनीहरू गलत उदाहरण हुन्। विश्वास नगर्ने केटा वा केटीसँग विहे गर्नेलाई मण्डलीले सुधारको लागि ६ महिनादेखि एक वर्षसम्म अनुशासनमा राख्छ। यस्ताहरू प्रभुदेखि तर्कने सम्भावना बढी हुन्छ। यसकारण मौका मिलेसम्म परामर्श दिएर फेरि प्रभुमा फर्कनको लागि उत्साह दिनलाई समय लगाउनुपर्छ, तर हाम्रा मण्डलीहरू विश्वास नगर्नेहरूसँग विवाह गर्नेहरूलाई पुनस्थापना गर्ने कुरामा उति पाको देखिँदैन। विश्वास नगर्ने केटा वा केटीले विहेपछि प्रभुलाई विश्वास गर्ने वातावरण सृजना होस् भनेर परामर्शसहित मण्डलीले प्रार्थना गर्नुपर्ने देखिन्छ।
दुःखको कुरो, विश्वास नगर्नेसँग विहे गर्नेहरूमा चर्च आउनेभन्दा पनि नआउनेको सङ्ख्या बढी देखियो। कतिको लागि त विश्वास नगर्नेसँग विवाह गर्नु भनेकै परमेश्वरदेखि टाढा पुर्याउने कारण बनेको छ। विहेपछि प्रभुलाई विश्वास नगर्ने थुप्रै कारणहरू छन्। पहिलो कुरो, अरू कुरामा लोग्ने स्वास्नीको मत मिल्न सक्छ र सम्झौता गर्न सकिने आधारहरू छन्, तर प्रभुलाई विश्वास गर्ने मामिलामा थुप्रै प्रतिरोधको सामना गर्नुपर्ने हुन्छ किनकि येशूबाट जीवन पाइने कुरोमा सांसारिक द्वन्द निकै चुनौतीपूर्ण हुन्छ। दोस्रो, विवाहपछि सुधार्ने र परिवर्तन गर्ने ठाउँ उति रहँदैन। कि छोड्नुपर्ने हुन्छ – त्यो त झन् नराम्रो हो – कि त सम्झौता! अर्को विकल्प रहँदैन। तेस्रो, अरू विश्वासीले के भन्ला भन्ने लोकलाजले पनि चर्च आउन सक्दैन। यस्तो अवस्था भए पनि यो लेख पढ्दै गर्नुहुने मित्रहरू, जसले प्रभुलाई विश्वास गर्दागर्दै पनि विश्वास नगर्नेसँग विवाह गर्नुभएको छ, तपाईंहरूले प्रभुलाई छोड्नुभएको जस्तो लाग्ला, तर याद गर्नुस्, प्रभुले छोड्नुहुन्न। उहाँले तपाईंलाई छाड्नुहुन्न। बरु जिम्मेवारी उठाउन लाग्नुस्, आफ्नो विश्वास नगर्ने श्रीमान् वा श्रीमतीलाई प्रभुमा डोर्याउने नजिकको व्यक्ति तपाईं नै हुनुहुन्छ। यसको लागि पहिला तपाईं डोहोरिनुस्। तपाईंको जोडी अलि अप्ठेरो खालको छ भने पनि प्रार्थना गर्नुस्, प्रभुले त्यो प्रार्थना सुन्नुहुनेछ।