अय्यूबको पुस्तकअनुसार, के शैतानले मानिसलाई सताउनको लागि जहिले पनि परमेश्वरसँग अनुमति लिन्छ?

 

निश्चय नै अय्यूबलाई सताउनको लागि शैतानले परमेश्वरबाट अनुमति लिएको हो, तर अहिले पनि मानिसलाई सताउनको लागि उसले यसरी नै अनुमति लिइरहन्छ र परमेश्वरले पनि अनुमति दिइरहनुहुन्छ भन्ने सिद्धान्त अय्यूबको पुस्तकले बसाल्दैन। १ र २ अध्यायमा रहेको भित्री घटनालाई केलाउने हो भने शैतान र परमेश्वरको बीचमा ठूलो द्वन्द चलेको छ, त्यो द्वन्दमा अय्यूब एउटा अभिन्न पात्र हुन्।

शैतानले परमेश्वरलाई गम्भीर दोष लगायो। उसले परमेश्वरलाई भन्यो, ''अय्यूबले त्यसै परमेश्वरको डर राखेका हुन् त? के तिनलाई, तिनका घराना र तिनका सबै धन–सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईंले आशिष् दिनुभएको छ, अनि तिनका गाईबस्तुहरू देशभरि अनगन्ती बढेका छन्। तर आफ्नो हात पसारेर तिनका सबै चीजमाथि प्रहार गर्नुहोस्, र तिनलाई तपाईंकै मुखको सामुन्ने सराप्नेछन्'' (,९–११)। भए भरका सम्पत्ति खोसियो भने अय्यूबले परमेश्वरलाई सराप्छ भनेर शैतानले चुनौती दियो। उसको चुनौतीलाई उहाँले स्वीकार गर्नुभयो। जसअनुरूप अय्यूबको सम्पत्ति नाश हुन दिइयो र उनका जवान छोराछोरी मारिए।

अय्यूबबाट सबै सम्पत्ति र छोराछोरी खोसिएपछि उनले परमेश्वरलाई सराप्छन् भन्ने शैतानको अनुमानले फेल खायो किनकि उनले सरापेनन्, बरु यसो भने, 'परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्'' (,२१)।  यो बाजीमा शैतान हार्यो, तर पनि उसले हार मानेन, बरु सग्लो र स्वस्थ ज्यान रहेसम्म अय्यूबले उहाँलाई सराप्दैन भनेर अर्को चुनौती दियो।  शैतानको अनुमानलाई झूट ठहराउनको लागि परमेश्वरले अय्यूबको शरीरभरि घाउ आउन दिनुभयो। तैपनि उनले उहाँलाई सरापेनन्।

यो घटनाक्रमलाई हेर्दा, परमेश्वर र मानिसविरुद्ध शैतानका युक्तिहरूलाई फेल गराउनको लागि अय्यूबलाई बीचमा ल्याउनु आवश्यक थियो।  परमेश्वरले मानिसलाई आफ्नो पक्षमा ल्याउनको लागि आशिष् दिनुहुन्छ र आशिष् दिइएन भने मानिसले उहाँलाई इन्कार गर्छ भन्ने शैतानको युक्तिलाई रद्द गर्नु थियो, तर यस खण्डभित्र रहेको वास्तविकतालाई नबुझ्दा यस्तो देखिन्छ कि मानिसलाई सताउनको लागि परमेश्वरले शैतानलाई अनुमति दिनुपर्छ र उहाँले अनुमति नदिईकन उसले मानिसलाई दुःख दिन पाउँदैन। शैतानले जहिले पनि हानि मात्र गर्न खोज्छ, तर त्यसले रचेका सबै युक्तिहरूलाई चलाएर त्यसका सबै दाबीहरूलाई खतम पार्नुहुन्छ। तसर्थ, अय्यूबको पुस्तकले शैतानको युक्ति फेल खाएको यथार्थ चित्रण गर्छ, जसमा अय्यूब स्वयम् पनि एउटा महत्त्वपूर्ण पात्र भएका छन्।

अय्यूबको पुस्तकमा शैतान परमेश्वरको नियन्त्रणमा भएको व्यक्ति हो। ऊ मानवविरोधी हो। परमेश्वरको जनले सुख पाएको ऊ हेर्न चाहँदैन। मानिसले उहाँलाई सरापेको देख्न चाहन्छ – वास्तवमा अदनको बगैँचामा उसले गरेको षड्यन्त्रको रहस्य यही हो, तर उसको त्यो इच्छा पूरा हुन पाउँदैन। ऊ परमेश्वरभन्दा माथि छैन र ऊ सीमामा बाँधिएको छ। उसले परमेश्वरको सर्वाधिकारलाई उसले चुनौती दिन सक्दैन। तसर्थ मानिसलाई दुःख दिनको लागि अहिले पनि उसले परमेश्वरबाट अनुमति लिन्छ भन्नुको साटो ऊ परमेश्वरको बराबरी होइन र उहाँभन्दा माथि गएर कुनै पनि काम उसले गर्न सक्दैन।

 

निष्कर्ष

शैतानको मुख्य निशाना अय्यूब होइनन्, बरु परमेश्वर हो – उहाँलाई दोष लाउनु हो – त्यसो त 'शैतान'को अर्थ नै 'दोष लाउने' हो। परमेश्वरबाट मानिसले आशिष् पाएको कारण मात्र उहाँलाई पुजेको र आशिष् खोसिने हो भने मानिसले उहाँलाई पुज्दैन भनेर परमेश्वरको सर्वाधिकारलाई नै चुनौती दिएको कारण उहाँले केही न केही गर्नै पर्यो, जसको लागि अय्यूबलाई अगाडि ल्याउनुभयो। यस्तो अवस्थामा, मानिसलाई सताउनको लागि शैतानले परमेश्वरबाट अनुमति लिएको देखिए पनि अन्तरवस्तुचाहिँ परमेश्वरको सर्वाधिकारलाई घोषणा गर्नु हो। परमेश्वरमाथि दोष लाउने शैतानको युक्तिलाई विफल तुल्याउनु हो।  साँच्चै उसको सबै योजनाहरू बिफल भयो।

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.