येशूको जुवाभन्दा बाहिर विश्राम छैन (मत्ती ११:२५–३०)

 

भूमिका

ग्रीक कथाकार एसपका छोटा, रोचक र शिक्षामूलक कथाहरू मलाई एकदम मनपर्छ।  उमेरले बूढो भइसकेको एसप एक दिन केटाहरूसँग गुच्छा खेल्दै गरेको देखेपछि मानिसहरू हाँस्न थाले।  सधैँ अरूतिर हेरेर हाँस्ने मान्छे, त्यो दिन आफूतिर हेरेर अरू हाँसेको कारण कस्तो–कस्तो लागेछ।  उसको पालो डोरी खुस्काइएको एउटा धनु बीच बाटोमा राखेर मानिसहरूलाई सोध्यो, ‘यसको अर्थ के हो?’  धेरैले त्यो डोरी खुस्काइएको धनुको अर्थ खोल्न खोजे, तर सकेनन्।  अन्तमा एसपले भन्यो, ‘‘यो धनु सधैँ तनक्क कसेर राख्ने हो भने चाँडै भाँचिन्छ, तर काम नपर्दा यसको डोरी फुकाएर राख्ने हो भने, मन लगेको बेला चलाउन सकिन्छ!’’ भन्न खोजेको कुरो, धनुलाई घरिघरि चलाउने हो भने आराम चाहिन्छ।

 

प्रसङ्ग

मानिसहरूले पश्चात्ताप गरेर विश्राममा प्रवेश गरून् भन्ने उद्देश्य राखेर येशूले खोराजीन, बेथसेदा र कफर्नहुमजस्ता शहरहरूमा अचम्मका कामहरू गर्नुभयोतर तिनीहरूले आफूलाई बुद्धिमान् र समझदार सम्झेर उहाँको काम मात्र होइन, उहाँलाई नै इन्कार गरे। आफूलाई बुद्धिमान् सम्झनेहरूले उहाँलाई इन्कार गरेपछि तिनीहरूलाई मूर्ख तुल्याउनको लागि समाजका तल्लो र हेलित समुदायका मानिसहरूलाई पश्चात्तापमा ल्याउनुभयो र विश्राम दिनुभयो।

            परमेश्वरले उहाँको विश्रामको योजनालाई बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो। तिनीहरूको समझ र बुद्धिले नभेट्ने गरी रहस्यमा राख्नुभयो, तर बालकहरूलाई प्रकट गर्नुभयो। याद गर्नुस्, एउटाको लागि लुकाउनु र अर्कोको लागि प्रकट गर्नु परमेश्वर पिताको योजना हो, यो कुनै पक्षपातको खेल होइन किनभने आफूलाई बुद्धिमान् सम्झनेहरूसँग उहाँले गर्ने व्यवहार यस्तै हो। मानिसले आफ्नो बुद्धि चलाएर उहाँको विश्रामलाई प्राप्त गर्न सकिँदैन।

            यो खण्डमा चलाइएको भाषालाई हेर्नुस्, जुवाले बोझ र दासत्वको अर्थ दिन्छ, तर येशूको जुवा स्वतन्त्रताको जुवा हो। भाषागत हिसाबले यो कताकता नमिलेको जस्तो सुनिन्छ र तपाईं भन्नुहोला, स्वतन्त्र नाम गरेको जुवा पनि हुन्छ र? अवस्य हुन्छ। येशूको जुवा स्वतन्त्रता मात्र होइन, साझेदारीको जुवा पनि हो – उहाँसँगसँगै नरिने जुवा!

 

वचनको यो खण्डलाई हामी अझै गहिराइमा गएर बेलिविस्तार गरौँ,

 

सबैभन्दा पहिलो कुरो,

१) परमेश्वरले आफ्नो विश्रामको रहस्य खोल्नुभयो (२५–२७ पद)

विश्राम परमेश्वरबाट मात्र आउँछ।  यसलाई जसले पनि प्राप्त गर्न सक्छ र प्राप्त गर्नको लागि बडो सजिलो उपाय दिइएको छ, त्यो हो पश्चात्ताप! मानिस स्वभावैले पश्चात्ताप गर्ने प्राणी होइनन्, यसकारण पश्चात्ताप गर्न उत्साह मिलोस् भनेर उहाँले खोराजिन, बेथसेदा र कफर्नहुममा अचम्मका कामहरू गर्नुभयो, तर तिनीहरूले हृदयलाई कठोर पारे। याद गर्नुस्, पश्चात्तापी हृदयमा मात्र परमेश्वर वास गर्न सक्नुहुन्छ र उहाँ मानिसको हृदयमा वास गर्नु नै विश्राम हो। 

            पश्चात्तापमा डोर्याउनको लागि येशूले गर्नुभएका अचम्मका कामहरू सबैको अगाडि छर्लङ्ग थिए, जस बारे यही मत्ती ११:५मा यस्तो लेखिएको छ,

‘‘अन्धहरूले दृष्टि पाउँछन्, र लङ्गडाहरू हिँड्दछन्। कुष्ठरोगीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्न सक्ने भएका छन्। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ।’’

यसरी स्पष्टसँग देखिने गरी काम हुँदा पनि ती शहरका मानिसहरूले उहाँलाई स्वीकार गरेनन् (२० पद)।  तिनीहरूले आफूलाई बुद्धिमान् र समझदार सम्झेर विश्रामको योजनालाई इन्कार गरे।  को थिए, ती बुद्धिमान् र समझदारहरू? निश्चय नै शास्त्र जान्ने शास्त्रीहरू, व्यवस्थापालन गर्नमा कट्टर फरिसीहरू र धर्मगुरुहरू थिए।  अहिले पनि आफूलाई ज्यादै ज्ञानी र बुद्धिमान् सम्झनेहरूले परमेश्वरको कामलाई स्वीकार गर्दैनन्।  यसमा अनौठो मान्नुपर्दैन किनभने संसारको बुद्धिअनुसार ख्रीष्टलाई चिन्न सकिँदैन (१कोरिन्थी १:२१)। यसकारण अटेरी मानिसहरूले इन्कार गर्दैमा परमेश्वरबाट आउने विश्रामको योजना तुहिँदैन। तिनीहरूलाई मूर्ख बनाउनको लागि तिनीहरूले नै मूर्ख ठह¥याएकाहरूलाई उहाँले बुद्धिमान् तुल्याउनुहुन्छ ताकि सांसारिक बुद्धि व्यर्थ ठहरिओस्।

            यहाँ येशूले साना बाल–बालिकाहरूको विषयमा भन्नुभएको होइन, बरु आफूलाई बुद्धिमान् सम्झनेहरूको नजरमा तुच्छ ठहरिएकाहरूलाई ‘बालकहरू’ भनेर मायालु दर्जा दिँदै हुनुहुन्छ। यिनीहरू आफ्नो समझ र बुद्धिमा घमण्ड गर्न नसक्नेहरू हुन्। यस्तै सोझाहरूलाई परमेश्वरले मन पराउनुहुन्छ र तिनीहरूलाई नै आफ्नो विश्रामको रहस्य खोलिदिनुभयो (२५ पद)।  यस्ताहरूलाई विश्रामको योजना प्रकट गर्नु पिताको ठूलो योजना हो। विश्राम परमेश्वरबाट मात्र आउँछ किनभने उहाँ ‘स्वर्ग र पृथ्वीका प्रभु’ हुनुहुन्छ।

            मानिसले पिताबाट पाइने विश्रामको रहस्य बुझ्न सकोस् भनेर पुत्रले त्यसलाई प्रकट गर्नुभयो। पुत्रले प्रकट नगरीकन पिताको विश्रामलाई बुझ्न सकिँदैन किनकि यसलाई मानवीय बुद्धि र समझ चलाएर प्राप्त गर्न सकिँदैन। पुत्रले नै प्रकट गर्नुपर्छ किनकि उहाँ सिद्ध मानिस र सिद्ध परमेश्वर हुनुहुन्छ।  मानिस कहिल्यै पनि ईश्वर वा त्यसको अवतार हुन सक्दैन, तर हामी यूहन्ना १:१४मा पढ्दछौँ, येशू शरीरमा उत्रनुभएको परमेश्वर हुनुहुन्छ। त्यसै गरी यूहन्नाकै १४:६ मा उहाँले भन्नुभयो, ‘‘मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।’’ अहिले पनि पापी मानिस र परमेश्वरको बीचमा मध्यस्थकर्ता भएर पुत्रले काम गरिहनुभएको छ, साथमा पवित्र आत्माले पश्चात्तापद्वारा विश्राममा डोर्याउनको लागि काम गर्दै हुनुहुन्छ। अब परमेश्वरबाट पाइने विश्राम हामीले बुझ्न नसक्ने विषय रहेन किनकि यो हाम्रो अगाडि प्रकट गरिएको तथ्य हो।  यसलाई मानिसले स्वीकार गरोस् भन्ने उहाँको इच्छा हो। इन्कार गर्ने स्वतन्त्रता मानिसलाई दिइएको छ, तर परिणम पनि स्पष्ट छ, त्यो हो – मृत्यु!

 

उदाहरण

अफ्रिकामा बेब्बून नाम गरेको बाँदर पाइन्छ।  त्यसका ढेडुहरू निकै आक्रमक, बलियो र कुद्न सक्ने हुँदछन्।  शिकारीले खेदेर मार्न नसके पनि बडो सजिलोसँग मारिँदोरहेछन्। कसरी भन्नुहुन्छ भने, एउटा टिनको ट्वाकमा ढेडुको हात मात्र छिर्ने दूलो बनाइन्छ र त्यसभित्र बदाम हालिन्छ।  बेब्बूनलाई बदाम औधी मन पर्छ।  बदाम निकाल्नको लागि ट्वाकमा हात हाल्छ।  मुठीमा बदाम मुठ्याएर त्यसले निकाल्न खोज्छ, तर निस्कँदैन। ट्वाकको छेउमा डोरी राखेको त्यसलाई थाहा हुँदैन।  बदाम निकाल्नको लागि जति धेरै बल गर्छ, त्यति नै शिकारीले आफू लुकेको ठाउँतिर त्यसलाई तान्छ, तर पनि आफू तानिएको उसलाई थाहा हुँदैन।  बेब्बून यति नजिक तानिन्छ कि उसमाथि शिकारीले मुङ्ग्रो उठाएर टाउकोमा हान्न भ्याउँछ।  त्यो ढेडुसँग उम्कनको लागि एउटै मात्र उपाय थियो, त्यो हो, बदामलाई मुठीमा कस्न छोड्नु, तर त्यसलाई नछोडेको कारण मारियो। पाप नछोड्दासम्म विश्राम पाइँदैन।  यसले मृत्युमा पुर्याउँछ।

 

व्यावहारिक पाठ

हाम्रो बीचमा परमेश्वरले येशूमार्फत विश्रामको योजनालाई उपहारको रूपमा दिइसक्नुभएको छ।  यसलाई स्वीकार वा इन्कार गर्ने निर्णय तपाईंमा भर पर्छ।  स्वीकार गर्नुहुन्छ भने जीवन, अर्थात् विश्राम पक्का छ, तर इन्कार गर्नुहुन्छ भने मृत्यु निश्चित छ।  पापलाई नछोड्दासम्म विश्राम कहिल्यै थाहा गर्न सकिँदैन र खुसीको कुरो, पश्चात्ताप गरेर उहाँको विश्राममा प्रवेश गर्ने मौका र रहस्य हामीलाई दिइएको छ। यसलाई पश्चात्ताप गरेर स्वीकार गरौँ।  याद गर्नुस्, पश्चात्ताप नगर्ने मानिसको हृदयमा परमेश्वर वास गर्नुहुन्न।  जसको हृदयमा उहाँ हुनुहुन्न, त्यहाँ विश्राम छैन। यसकारण उहाँलाई वास गर्ने मौका दिऔँ र विश्रामलाई थाहा गरौँ। 

 

दोस्रो,

२) विश्रामको लागि आह्वान (२८–३० पद)

येशूका पालाका मानिसहरू आफ्नो पापको बोझसँगै धार्मिक, राजनीतिक र आर्थिक बोझबाट थिचिएका थिए।  त्यस बेला रोम सरकारले इस्राएलमाथि अत्याचार गरिरहेको थियो। त्यो राजनीतिक बोझ थियो। रोम सरकारलाई कर तिर्दातिर्दा जनता गरिब भएको इतिहास पढ्न पाइन्छ। त्यहाँ आर्थिक बोझ थियो।  त्यति मात्र होइन, तिनीहरू व्यवस्थापालन गर्दागर्दा थकित भएका थिए किनकि धर्मगुरुहरूले मोशाद्वारा दिइएका व्यवस्थामा अनेक दफाहरू थपेर व्यवस्थालाई बोझिलो बनेको थियो। त्यो धार्मिक बोझको विषयमा येशूले लूका ११:४६मा भन्नुभयो,

‘‘तिमी व्यवस्थाका पण्डितहरूलाई पनि धिक्कार! किनकि बोक्न नसक्ने भारी मानिसहरूमाथि तिमीहरू लाद्दछौ, तर तिमीहरू आफैचाहिँ एक औँलाले पनि ती भारीहरू छुँदैनौ।’’

यी बोझहरूबाट थिचिएकाहरूलाई येशूले बोलाउँदै हुनुहुन्छ, ‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ।’

            यो छुटकाराको लागि परमेश्वरबाट आएको निम्तो हो। मानिस थाकेका छन्, बोझले दबिएका छन् र आफ्नो भारी आफै उठाउन नसक्ने अवस्थामा छन् भन्ने कुरो उहाँले मात्र बुझ्नुहुन्छ।  मानिस आफू थिचिने गरी भारी बोक्नको लागि सृजिएको प्राणी होइन, तर बोक्न बाध्य छ किनकि पापको कारण शैतानको जुवा उसमाथि परेको छ।  येशूकहाँ नजाँदासम्म भारीको थिचाइबाट ऊ मुक्त हुन सक्दैन। खुसीको कुरो, बोझले थिचेकाहरूलाई नै तोकेर उहाँले बोलाउँदै हुनुहुन्छ, ‘मकहाँ आओ।’ बाइबलभरि भएका ‘मकहाँ आओ’ भन्ने आज्ञालाई ख्याल गर्नुस्।  मानिसको पापको समस्या समाधान गर्नको लागि आफूकहाँ आउनलाई दिइएको आह्वान हो, जस्तैः यशैया १:१८अनुसार छलफल गर्नको लागि पापी मानिसहरूलाई परमेश्वरले आफूकहाँ बैठक राखेर बोलाउँदै हुनुहुन्छ। येशूको सन्दर्भमा भन्नुहुन्छ भने, चेला बन्नको लागि दिइएको निम्तो हो। हामी ईश्वरलाई कुना–कन्दरामा गएर खोज्नुपर्ने संस्कारबाट आएका हौँ, तर यहाँ यस्तो अवस्था छ, मानिसले खोज्नु नपर्ने गरी तिनीहरूकै बीचमा उपस्थित भएर उहाँले भन्दै हुनुहुन्छ, ‘मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।’ यो आह्वानलाई यसरी बुझौँः मानौँ, एउटा भरिया गह्रुङ्गो भारी बोकेर सकीनसकी उकालो चढ्दैछ। उकालो अझै बाँकी छ।  त्यस्तो बेला कोही एक जनाले उसलाई ‘तिम्रो भारी मलाई दे, म बोकिदिन्छु’ भनेको जस्तै हो। 

            मानिस धेरै विश्राम चाहिने प्राणी हो। तपाईंलाई थाहा छ, रचना गरेको भोलिपल्टै आदमले विश्राम पाए – कामै नगरी विश्राम! अनि परमेश्वर स्वयम्ले सातौँ दिन विश्राम लिनुभयो।  उहाँलाई थकाइ लागेर विश्राम लिनुभएको होइन, बरु सृष्टिले पूर्णता पाएको घोषणा थियो।  त्यसमा थप्नु वा घटाउनुपर्ने केही पनि थिएन। सृष्टि असल थियो।  विश्रामको नियम सबै सृष्टिको लागि राखिदिनुभयो, तर मानिसको पापले गर्दा सृष्टिमा राखिएको विश्राम खोसियो।  सृष्टिले सन्तुलन गुमायो।  विश्राम खोसिएपछि मानिस स्वयम् पनि परमेश्वरको उपस्थितिमा टिक्न सकेन। फलस्वरूप भाग्ने वा लुक्ने भइदिए।  विश्रामदेखि भाग्नेहरूलाई येशूले भन्दै हुनुहुन्छ, ‘मकहाँ आओ।’ 

            यहाँ मत्तीले चलाएको ‘विश्राम’ शब्दले शबाथको विश्राम नभएर ‘आराम, छुट्टी, भारी बिसाउनु, पापलाई त्यागेर पश्चात्ताप गर्नु’ भन्ने अर्थ दिन्छ, तर सजिलोको लागि हामी विश्राम शब्द नै चलाउँछौ।  यो बिर्सनु हुँदैन कि विश्राम परमेश्वरको योजना हो। सृष्टिमा राखिएको विश्रामको योजना बिथोलिए पनि धेरै लामो समयपछि व्यवस्थाको माध्यमबाट विश्राम पालन गर्नैपर्ने नियम बसालियो। यसको लागि इस्राएलीहरूले सातौँ दिन काम नगरीकन बस्नुपर्दथ्यो। तैपनि, येशूको पालासम्म आइपुग्दा यहूदी धर्मगुरुहरूले लगाएका विभिन्न नियमहरूको कारण व्यवस्था पालन गर्दागर्दा मानिस थाकिसकेको थियो। थकित अवस्थामा पुगेका मानिसहरूको माझमा येशूले आफूलाई ‘विश्रामको प्रभु’ भनेर चिनाउनुभयो।  यो विश्राम भनेको कुनै काम नगरी बस्नु होइन, बरु

            येशूको जुवामा नारिनु हो।  यस विषयमा उहाँले भन्नुभयो, ‘‘मेरो जुवा आफूमाथि लेओ।’’ जुवा दासत्व/बन्धनको चिन्ह हो, तर येशूको जुवा फरक किसिमको छ – यो स्वतन्त्रता दिने जुवा हो। येशूसँग गरिने साझेदारीको जुवा हो। मानिस वास्तवमा परमेश्वरको जुवा बोक्नको लागि सृजिएका हुन्, अर्थात् उहाँसँग सङ्गत र साझेदार गर्नको लागि सृजिएका हुन्, तर उसले उहाँको जुवा फालेर शैतानको जुवालाई आफ्नो काँधमा हाल्यो।  शैतानको जुवामा एकचोटि परिसकेपछि येशूको जुवामुनि नआएसम्म त्यसबाट छुटकारा पाउन असम्भव छ। येशूको जुवाले शैतानको जुवाबाट छुटकारा मात्र होइन, उहाँसँग सिक्ने मौका पनि दिन्छ।  प्रभुले भन्दै हुनुहुन्छ, ‘मसँग सिक।’ 

            गोरुलाई जुवामा नहालीकन जोत्न सकिँदैन।  कहिल्यै जुवामा नपरेको एउटा बहरलाई जोत्नको लागि अनुभवी गोरुसँग नारिन्छ। यसलाई सधाउनु भनिन्छ। बहर गोरुलाई शुरूमा निकै गाह्रो हुन्छ।  उसले शुरूमा मुन्टो बटार्छ। जुवाबाट फुत्कन खोज्छ। जोत्दाजोत्दै थचक्क बस्छ, तर अनुभवी गोरुसँगै नारिएपछि उसले बिस्तारी जोत्न सिक्छ। यो त भयो गोरुसँग गोरु नारिने कुरो, तर हामी येशूको जुवामा नारिने कुरा गर्दैछौँ। मानिसलाई पनि येशूको जुवामा हालेर सधाउनुपर्छ – सताउनु होइन, सधाउनुपर्छ।  एक समय शैतानको जुवामा सधाइएको मानिसलाई बानी नपर्दासम्म येशूको जुवा अनौठो लाग्नसक्छ, तर सिक्ने सही ठाउँ उहाँको जुवा हो।  यो जुवाभन्दा बाहिर रहेर सिक्ने ठाउँ नै छैन।

            थकित र बोझले दबिएकाहरूलाई सिकाउन निकै गाह्रो हुन्छ।  तिनीहरूलाई सिकाउन सक्ने क्षमता येशूसँग मात्र छ किनभने लेखिएको छ, ‘उहाँ विनम्र र कोमल’ हुनुहुन्छ।    येशू नम्र र कोमल गुरु हुनुहुन्छ। आना चेलाहरूलाई आफूसँग लगभग तीन वर्ष सँगै राखेर नम्रता र कोमलतामा सिकाउनुभयो।  सजिलोसँग बुझून् भनेर दृष्टान्त प्रयोग गरेर सिकाउनुभयो।  सिकाउनु मात्र भएन, आफैले गरेर देखाउनुभयो, जस्तैः उहाँले चेलाहरूलाई क्रूस उठाउनुपर्छ भनेर शिक्षा मात्र दिनुभएन, त्यसलाई आफैले उठाएर देखाउनुभयो।  यसकारण पत्रुस यसो भन्दछन्,

‘‘ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोड्नुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ’’ (१पत्रुस २:२१)।

 

धेरैजसो शिक्षकहरू रिसालु हुँदछन् र कमजोर विद्यार्थीहरूलाई मन पराउँदैनन्। शिक्षकहरू आफूलाई अति बाठा सम्झन्छन्, तर येशू त्यस्तो हुनुहुन्न किनकि उहाँ विनम्र र कोमल हृदयको हुनुहुन्छ। १२ जना चेलाहरूलाई नै हेर्नुस्।  तीमध्ये कति जना बुद्धू थिए।  यूहन्ना १४ अध्याय पढ्नुस्।  येशूले एउटा कुरा गर्नुहुन्थ्यो, तिनीहरूले अर्कै कुरा बुझ्थे। तिनीहरूलाई सिकाउन सजिलो थिएन, तर विनम्र र कोमल हृदयसँगै तिनीहरूलाई आफ्नो जुवामा नारेर तालिम दिनुभयो। पछि तिनीहरूले नै पवित्र आत्माको शक्तिमा उहाँको सन्देस विश्वभर फैलाए। 

            येशूको जुवा दासत्वको होइन, आत्मामा विश्राम पाइने जुवा हो – लेखिएको छ, यो जुवाबाट ‘‘तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ’’ (२९घ)। जुवाको भार यसकारणले सजिलो र हल्का छ कि येशू हाम्रो भारी तान्नको लागि हामीसँगै नारिनुहुन्छ।  हामी एकलैले आफ्नो जीवनका भारीहरू तान्न सक्दैनौँ। यो येशूसँगको साझेदारको जुवा हो – एकातिर उहाँ नारिनुहुन्छ भने अर्कोपट्टि हामी नारिन्छौँ। यसले हामीलाई कमजोर होइन, बलियो बनाउँछ। येशूले यहाँ प्रतिज्ञासहित घोषणा गर्नुभएको विश्राम यही हो। 

            आत्मा र शरीरमा विश्राम दिने परमेश्वरको योजना धेरै पुरानो हो।  विभिन्न अगमवक्ताहरूले विभिन्न समयमा यसलाई घोषणा गरे, तर मानिसहरूले इन्कार गर्दै रहे।  यर्मियाको समयमा पनि विश्रामको घोषणा गरियो, तर मानिसहरूले त्यसलाई इन्कार गरे।  परमेश्वरको दुःखेसो यस्तो थियो, यर्मिया ६:१६–१७सम्म पढौँ,

‘‘परमप्रभु यसो भन्नुहुन्छ, ‘दोबाटोमा उभिएर हेरप्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्यो सोध, र त्यसैमा हिँड, र तिमीहरूले आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी त्यसमा हिँड्नेछैनौं।’  मैले तिमीहरूमाथि पहरादारहरू नियुक्त गरें, र भने, ‘तुरहीको आवाज ध्यानसित सुन’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्नेछैनौं।’

 

यशैयाको पालामा पनि मानिसहरूले परमेश्वरको विश्रामलाई इन्कार गरे।  एउटा यस्तो प्रसङ्ग पढ्न पाइन्छ,

विश्राम गर्ने ठाउँ यही हो, थाकेकाहरूले यहीँ नै विश्राम गरून्।  अनि आरामको ठाउँ यही हो।’ तापनि तिनीहरूले सुन्ने मन गरेन (यशैया २८:१२)।

 

युगौँदेखि मानिसहरूले परमेश्वरले उपहारको रूपमा दिन लाग्नुभएको विश्रामलाई इन्कार गर्दै आए।  येशूको पालाका मानिसहरूले गरेको व्यवहार त देखिहाल्नुभयो।

            थाकेका मानिसहरू आफैले विश्राम खोज्न सक्दैनन्।  खोज्न पनि जान्दैनन्। विश्रामको अर्थ पनि जान्दैनन् र यसलाई इन्कार गर्छन्।  विचार गर्नुस् त, मोशा मिश्रमा गएर इस्राएलीहरूलाई परमेश्वरले छुटकारा दिन चाहनुभएको खबर सुनाउँदा तिनीहरू रमाएनन्, बरु उनले छुटकाराको कुरा चलाएपछि पहिलाभन्दा झन् बढी दुःख थपिएको गुनासो गरे। अहिले पनि मानिसहरूलाई विश्राममा ल्याउनको लागि सुसमाचार प्रचार गर्दा, सोझै इन्कार गर्नुको अर्थ यही हो।

 

व्यावहारिक पाठ

के हाम्रो काँधमा येशूको जुवा छ? छैन भने, हामी छाडा हुनेछौँ – त्यो भनेको स्वतन्त्र हुनु होइन, बरु येशूबाहेक अरू कसैको दसत्वमा पर्नु हो।  विश्रामरहित अवस्थामा जीवन बिताउनु हो।  हाम्रो काँधमा येशूको जुवा छैन भने, सीधै बुझ्नुस्, त्यहाँ शैतानको जुवा छ।  शैतानको जुवामा परेपछि उसले चाहेको ठाउँमा लानसक्छ। उसले चाहेको काम गराउन सक्छ।  यसबाट फुत्कन येशूको जुवामा नारिनुबाहेक अर्को उपाय रहँदैन।  तपाईंको काँधमा कसको जुवा छ, जाँच्नुस्।

            हामी पाको ख्रीष्टियान पनि थाक्दछौँ किनभने हामी थकित हुने संसारमा छौँ।  त्यसमाथि शैतान सक्रिय छ। यहाँ तन थाक्छ, मन थाक्छ, आत्मा थाक्छ।  शरीर र मन थाक्दा आराम गरेर वा ओखतिमूलो गरेर पनि ठीक पार्न सकिन्छ, तर आत्मा थाक्दा परमेश्वरकहाँ नगई हुँदैन।

            येशूले क्रूसको जुवा बोक्नुभयो। त्यो हामी पापी मानिसले बोक्नुपर्ने जुवा हो।  त्यसलाई हामीले बोक्न सक्दैनौँ भन्ने कुरो उहाँ जान्नुहुन्छ, जसकारण हाम्रो लागि त्यसलाई कलभरीको खप्परे भनिने ठाउँसम्म बोक्नुभयो।  अब हामी पनि त्यो क्रूस उठाउन सक्छौँ किनकि कसरी बोक्नुपर्छ भन्ने तरिका उहाँले देखाइसक्नुभएको छ।  यहूदीहरूको निम्ति लाज र गैर–यहूदीहरूको लागि मूर्ख ठहरिएको क्रूस आज ख्रीष्टियानहरूको परमेश्वरको शक्ति भएको छ।

            ख्रीष्टियान जीवन भनेको आफ्नो काँधमा येशूको क्रूसको जुवा बोक्ने जीवन हो। येशूको जुवाले थकाउँदैन, बरु विश्राम दिन्छ। हामीले अहिले संसारमा छँदा नै प्राप्त गरेको विश्रामले अझ बढी परिस्कृत र अनन्तको विश्रामलाई सुनिश्चित पार्छ।  हामी त्यो विश्रामबाट त नबहकिऔँ भनेर चेताउनीको लागि यो वचन दिइएको छ,

''परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौँ, तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस्’’ (४:१)।

इस्राएलीहरू मरुभूमिबाट प्रतिज्ञाको मुलुकमा जान नमानेको अवस्थालाई बुझाउनको लागि हिब्रूको लेखकले हामीलाई यस्तो चेताउनी दिएका हुन्।

            हामी सजिलै थाक्ने प्राणी हौँ। हामी थाक्ने संसारमा छौँ। हामी आफैसँग थाकेका छौँ। खराब सम्बन्धको कारण एकअर्कासँग थाकेका छौँः छोराछोरीसँग बाआमा, लोग्नेसँग स्वास्नी र स्वास्नीसँग लोग्ने थाकेका छन्। प्रतिकूल परिस्थितिसँग थाकेका छौँ। खराब आर्थिक स्थितिबाट थाकेको कुरै नगरौँ। हामीमध्ये कति जनाचाहिँ खराब स्वास्थ्यको कारण थाकेका छौँ – त्यसमाथि कोरोनाको जोखिम अझै हटेको छैन। यी थकानहरूलाई हटाउन खोज्दा झन्झन् थकित हुँदै गएको अनुभव गरिरहेका छौँ।  अनि यस्तो बेला महसुस गरिने सबैभन्दा पीडाको कुरा यो हो कि परमेश्वर हाम्रो परिस्थितिसँग बेखबर हुनुहुन्छ। 

            याद गर्नुस्, सक्दै नसक्ने, उचाल्नु नपर्ने र प्रभुले मात्र उचाल्नुपर्ने भारी बोक्न हामी व्यस्त भएको खण्डमा प्रभुतिर हाम्रो ध्यान छुट्नेछ र हाम्रो भारी बोक्नको लागि येशूले थापिरहनुभएको काँधलाई समेत हेर्न भ्याउनेछैनौँ।  ध्यान बरालिनेछ।  अनि हामी भनिरहेका हुनेछौँ, ‘प्रभुले मलाई त्याग्नुभयो’ – कतिले त ख्रीष्टियान धर्म मलाई फापेन भन्नुको कारण यही हो। तपाईंका भारीहरू जे पनि हुनसक्छ। केवल बिसाउने आँट गर्नुस्। भारी बिसाउने जिम्मेवारी तपाईँको हो।  परमेश्वरले बोक्न चाहनुभएको भारी हामी आफैले बोक्ने प्रयास गरेको खण्डमा तपाईँ नराम्रोसँग थिचिनुहुनेछ। हामी जीवनका भारीहरूले नथिचून् भनेर येशूले आफ्नो काँध फैलाएर भन्दै हुनुहुन्छ,

‘‘हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।’’

यो आवाजलाई सुन्नुस्। प्रभुले यस वचनबाट हामीलाई आशिष् देऊन्।

 

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.