याकूब र एसावः के ज्येष्ठ अधिकार पनि किनबेच गर्न मिल्छ र?

बाइबलका कतिपय घटनाहरू पढेर तपाईंलाई धेरै पल्ट ‘यस्तो पनि हुनसक्छ र?’ भन्ने विचार आएको हुनसक्छ। म पनि त्यस्तै शङ्काको भुमरी परेको छु। मेरो व्यक्तिगत शङ्काको घेरामा परेका खण्डहरूमध्ये उत्पत्ति २५ अध्याय पनि एक हो जहाँ याकूबलाई एसावले आफ्नो ज्येष्ठ अधिकार बेचेको घटना पढ्न पाइन्छ। ज्येष्ठ अधिकार पनि कहीँ किनबेच गर्न मिल्छ र? मिल्दोरहेछ। त्यस चलन बारे हामी छोटो चर्चा गर्न गइरहेका छौँ।

इसहाकका छोराहरू एसाव र याकूब जुम्ल्याहा हुन्। जुम्ल्याहा भए पनि अगिपछिको कुरो गर्नुपर्दा एसाव जेठा हुन् भने याकूब कान्छो। एसावले आफ्नो ज्येष्ठ अधिकार भाइ याकूबलाई दाल र रोटीको टुक्रामा बेचे –– इज्जत फाल्नु गुन्द्रुकको झोलमा!

ज्येष्ठ अधिकार एसावको लागि घाँडो थियो र याकूबको लागि भाँडो भयो। दाइले मतलब नै नराखेको ज्येष्ठ अधिकार याकूबको लागि निकै चासोको कुरो थियो। हेर्नुस् त, अब्राहामको घरानामा ज्येष्ट अधिकारको अपहेलना! के एसावले खाना खाइसकेपछि त्यसलाई फिर्ता लिन मिल्दैनथ्यो त?  मिल्दैनथ्यो किनकि फिर्ता लिन नमिल्ने गरी उनलाई शपथ खुवाइएको थियो। शपथमा परमेश्वरलाई मध्यस्थ बनाइन्छ। यसकारण एसावले बेचेको ज्येष्ठ अधिकार याकूबबाट कुनै हालतमा पनि फिर्ता हुन सक्दैनथ्यो। उत्तरी इराकको नुजी भनिने ठाउँमा प्राप्त अभिलेखहरूले याकूब र एसावबीच भएको ज्येष्ठ अधिकार किनबेचलाई बुझ्न मदत गर्छ। ईश्वी संवत् १९२५–१९३३सम्म उत्खनन गरेर भेट्टाइएका ती अभिलेखहरूमा लगभग १४५०–१३५० ईशा पूर्वमा जिउने होरी नाम गरेको जातिहरूका सामाजिकआर्थिकधार्मिक र कानुन बारे चर्चा गरिएका छन्। ती अभिलेखहरूमा ज्येष्ठ अधिकारको किनबेच र मर्न लागेको बुबाले ओछ्यानबाट छोराहरूलाई आशिष् दिएका घटनाहरू पढ्न पाइन्छ। इतिहासको यही कालखण्डमा अब्राहामइसहाक र याकूब जिएको अनुमान गरिन्छ। नुजी भनिने ठाउँमा प्राप्त अभिलेखमा चर्चा गरिएको एउटा घटना यस्तो छ: टुप्किटिल्ला नाम गरेको दाइले आफ्नो भाइ कुर्पाजाहबाट तीन वटा भेडा लिएर ज्येष्ठ अधिकारवापत आफूले पाएको भूमिसँग साटेको विषयमा बयान गरिएको छ।/1/ बाह्य सांस्कृतिक चलनहरूलाई सापटी लिएर बाइबललाई बुझ्ने र बुझाउने काममा हामी होसियार हुनैपर्छ, तर अहिलेको लागि यसलाई एउटा माध्यम बनाएर हेरौं।

बाइबलले जेठाहरूलाई विशेष महत्त्व दिएको छ। जेठाहरू परमेश्वरको लागि चढाइन्थे (प्रस्थान १३)। जेठाहरू बुबापछिको सीधा उत्तराअधिकारी हुन् जसकारण इसहाकले एसावलाई आफ्ने उत्तराधिकार हस्तान्तरण गर्ने इच्छा गरे। किन याकूब उनको प्राथमिकताभित्र परेनन् भन्नुहुन्छ भने उनी जेठो थिएनन्। जेठाहरू मात्र पूजाहारी र राजा बन्न पाउँदथे।

बाइबलमा जेठो छोराको अधिकारलाई मिचेका केही घटनाहरू पढ्न पाइन्छ। शिम्रीलाई उनको बुबाले जेठो तुल्याए जब कि उनी जेठो थिएनन् (१इतिहास २६:१०)। व्यभिचार गरेको कारण इस्राएलको छोरो रूबेनको ज्येष्ठअधिकार खोसिएर योसेफलाई दिइएको घटना १इतिहास ५:१–२मा पढ्न पाइन्छ। सोलोमनलाई पनि ज्येष्ठताको क्रम मिचेर राजा बनाइयो। नियमअनुसार अर्कै छोरो राजा हुनुपर्ने हो। यी चलनहरूको आधारमा हामी बुझ्न सक्छौं कि बुबाले चाहेको खण्डमा छोराहरूलाई ज्येष्ठ अधिकार खोस्ने वा दिने चलन इसहाकको पालामा हुनु अनौठो कुरो थिएन।

के अहिले पनि यो सम्भव छ? हाम्रै देशमा पनि सम्भव भएको देखियो। नेपालमा अस्ताइसकेको राज–शासनलाई हेर्नुस्। राजा वीरेन्द्र मारिएपछि ज्येष्ठताको पद खालि भयो। त्यो पद ज्ञानेन्द्रमा हस्तान्तरण गरियो। राजा बन्ने मौका जेठोले मात्र पाउँदछ, तर जेठो मरेपछि खालि रहेको त्यो पद माइलोमा सर्यो। तसर्थज्येष्ठता एउटा दर्जा हो जसलाई हस्तान्तरण गर्न सकिँदोरहेछ।

अहिले हाम्रो लागि ज्येष्ठ अधिकार के हो? ख्रीष्ट सबैभन्दा ज्येष्ठ हुनुहुन्छ (कलस्सी १:१५–२० खास गरी १७ पद) र अहिले हामी सबैले पुनरुत्थानको अगौटे फलको रूपमा उहाँसँग हाम्रो ज्येष्ठतालाई प्राप्त गरेका छौं (रोमी ६:१–४८:२९)।

 

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.