रक्सी जसले, जहाँ, जहिले, जति, जसरी पिए पनि समस्याको विषय हो। यसलाई ठीक ठहराउने कोही पनि छैन। पिउने मानिस आफैले पनि 'यो ठीक छैन' भन्छन्, तर पनि पिएकै छ। यसलाई पिउन समय चाहिँदैन – बिहान–दिउँसो–राती जतिखेर पनि पिएकै छ। यसलाई पिउन कुनै बाहना चाहिँदैन – खुसी–दुःखी जतिखेर पनि पिएकै छ। यसलाई पिउन पैसा हुनुपर्छ भन्ने छैन – बिकेसम्म आफैलाई बेचेर भए पनि पिएकै छ। पिउनेलाई रक्सीले नै नलडाएसम्म कसैले–केहीले रोक्न सक्दैन। लडे पनि उठाइदिने मानिस पाएसम्म उसले पिउन छोड्दैन। एउटा ख्रीष्टियानले बुझ्नुपर्ने कुरो, परमेश्वरको स्वरूपमा बनेको मानिसलाई निकम्मा तुल्याउन शैतानले चलाएको हतियारमध्ये यो अति नै घातक हतियार हो। यसबाट जोगिनको लागि बाइबलले हामीलाई चेताउनी दिएको छ, तर कतिपय ख्रीष्टियानहरूले नै यस्तो तल्लो स्तरको प्रश्न सोधेको पाइयो, ''अरूले पिउन मिल्ने, हामीले चाहिँ किन नमिल्ने?'' प्रस्तुत छ, पास्टर गणेश तामाङको उत्तर!
प्रश्न
मैले तपाईंबाट 'जान्नैपर्ने उत्तर', के तपाईंलाई पनि कसैले यस्तो प्रश्न सोधेको छ,
''विदेशमा चाहिँ पास्टरले समेत पिउँदा कसैले केही नभन्ने, तर नेपालका पास्टरहरू चाहिँ अरूले पिउने विषयमा किन छुचो?''
उत्तर
मलाई पनि धेरैले सोधेको छ, तर म एक जना ख्रीष्टियान दाइसँग भएको कुराकानीलाई एउटा केस स्टडीको रूपमा लिन्छु। धेरै वर्षअघिको कुरा रहेछ। एउटा विदेशी वक्ता थापाथलीको ब्लूबर्ड होटेलमा बसेको थियो। त्यहीँबाट ललितपुरको एउटा कार्यक्रम स्थलमा ओहोरदोहोर गर्दोरहेछन्। त्यो दाइले वक्तालाई होटेलमा भेट्ने कार्यक्रम मिलाएको रहेछ। बेलुका भेट्न जाँदा त वाइनले भरिएको गिलास लिएर टेबिलमा बसेको भेटिएछ। वक्ताले दाइलाई भनेछन्, ''तपाईं के लिनुहुन्छ, वाइन कि चिसो/तातो?!'' त्यो दाइले हल्का चिसो पेय पदार्थ लिएछन्, तर कुरा गर्दै गर्दा वक्ताले वाइन सुँइकाएको दृश्यचाहिँ मज्जाले देखेछन्। त्यो दाइको प्रश्न, ''दिनभरि बोल्ने त्यत्रो ठूलो वक्ताले पिउँदा हुने र कसैले केही नभन्ने, तर यताका पास्टरहरूचाहिँ वचन बोल्ने बेला जहिले पनि रक्सी पिउनेलाई घोचपेच मात्र गर्छन्! के भाका?''
गैर–ख्रीष्टियानहरूले कोही ख्रीष्टियान हुनु भनेको रक्सी पिउने बन्नु हो पनि भनेका छन् – यसमा सक्कली ख्रीष्टियानसँग सम्बन्ध नै नभएको होली वाइनको कुरो पनि जोड्ने गर्छन्।
प्रश्न
के त्यो दाइले रक्सी पिउनुहुन्थ्यो?
उत्तर
त्यो मलाई थाहा छैन, तर यस्तो तर्क प्राय पिउने आदतमा फँसेकाहरूले मात्र गर्दछन्। उहाँको विषयमा धेरै कुरा नगरौँ, तर रक्सी पिउनेहरूले अरूलाई पनि आफूजस्तै पिउने सम्झन्छन्।
प्रश्न
रक्सी पिउने मानिसको आफ्नो स्वतन्त्रतालाई हामीले कुन हदसम्म आदर गर्नुपर्ला?
उत्तर
रक्सी पिउने कसैको स्वतन्त्रता बारे मलाई नाटीकुटी गर्नु छैन, तर स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई बाधा हुन्छ भने, त्यो पापै हो, रोक्नुपर्छ। एउटा ख्रीष्टियानले ''म जेसुकै गरूँ, तिमीहरूलाई के मतलब?'' भनेर घुर्काउन पाइँदैन। जिम्मेवारी र जवाफदेहीविनाको स्वतन्त्रताले छाडापनतिर डोर्याउँछ। आफ्नो स्वतन्त्रता ख्रीष्टमा सुम्पेको एउटा ख्रीष्टियानले आफूखुसी काम गरेर मण्डलीलाई कहिल्यै बाधा दिँदैन। अर्को कुरो, बाइबलको सही व्याख्या गर्दा 'घोचपेच भयो' भन्ने अधिकार छैन – पिउनेलाई वचनले घोच्छ त! पिउनेहरूलाई जोगाउनको लागि बाइबलको व्याख्या नै नगर्ने कुरा आउँदैन। अनि विदेशी पास्टरले नै पिएको गफ चुट्नेहरूले रक्सी छोड्न कोसिस गरिरहेको विश्वासीलाई भ्रममा पार्ने काम गरिरहेका छन्।
प्रश्न
कतै रक्सी पिउने आदतलाई जायज ठहराउनको लागि ''विदेशमा त पास्टरले पनि पिउँछ...मैले पास्टरसँगै बसेर पिएको छु'' भनेका त होइनन्?
उत्तर
रक्सी पिउनेहरूको बोलीको ठेगाना हुँदैन। धेरै बहाना गर्छन्। बाइबलमा दिइएको 'तिमीहरूले मद्य नपिउनू' भन्ने प्रष्ट आज्ञा सुनेपछि पिउनेहरूलाई छटपट हुन्छ, त्यसपछि केही अटेरी ख्रीष्टियानहरूले चाहिँ रक्सी पिउने कामलाई जायज ठहराउनको लागि गोरा ख्रीष्टियानहरूले यस्तो र उस्तो गर्छन् भनेर झूट बोल्छन्। अध्ययनले देखाउँछ, पिउनेहरूले धेरै झूटो बोल्छन्।
प्रश्न
पिउनु हाम्रो संस्कार हो। विश्वका कैयौँ देशहरूमा पिउने संस्कार छ। सबैतिर स्वीकार्य भइसकेको यो संस्कारलाई अचानक पास्टरले 'पिउनु हुँदैन' भनिदिँदा, मण्डलीमा विरोध आएको देखिन्छ। यो सर्वस्वीकार्य चलन बारे, चुपचाप रहँदा के होला?
उत्तर
पास्टरले होइन, बाइबलले 'नपिउनू' भन्छ। बाइबलले नै 'नपिउनू' भन्छ भने, पास्टरले पिउन नदिएको दोष लाउन पाइन्छ? हामी कसैको कोठा–कोठामा गएर के खान्छन् र पिउँछन् भनेर चियाउने कुरो आउँदैन, तर कसैले के खान्छ र पिउँछ भन्ने कुराले मण्डलीलाई बाधा दिन्छ, र उनीहरूले नै उल्टै विदेशमा पास्टरले समेत पिउँछ, यहाँका पास्टर यस्ता–उस्ता भनेको कारण त्यस्ताहरूले मण्डलीमा भ्रम सृजना गरेका छन् – त्यस्ताहरूको कुरा सुनेपछि पिउने आदत सुधार्न लागेकाहरूलाई पिउन निकै आँट मिल्दोरहेछ।
म पनि मान्छु, रक्सी पिउने कुरो खानपीनको चलनभित्र पर्ने कुरा हो, तर यसलाई संस्कार भन्न मिल्दैन किनभने संस्कार त्यो हो, जुन लामो समयदेखि असल/शुद्ध ठहरिएको चलनलाई आदत बसालेर संस्थागत गरिन्छ। त्यो सकारात्मक छ भने मात्र संस्कार हुन्छ, नत्र त्यो कुसंस्कार हो। संसारका कुनै पनि संस्कारको दाँजोमा सुसमाचार जहिले पनि माथि नै हुन्छ। सुसमाचारले हाम्रा सबै चाल चलनहरूलाई जाँच्छ र त्यसको मापदण्डभित्र नपर्ने खानपीनसँगै अरू सबै लवाइ–खवाइका चालचलन, आचरण, आनीबानी, संस्कारलाई काट्छ र पल्टाइदिन्छ। सुसमाचारले हामीलाई खाने–पिउने–बोल्नेजस्ता संस्कारहरू दिन्छ, दिँदैन त? हामीले पछ्याउनुपर्ने संस्कार भनेको 'येशूको संस्कार हो। बाइबलीय संस्कार हो। सुसमाचारीय संस्कार हो। अरू होइन।
प्रश्न
पिउने बहाना गर्ने मित्रहरूलाई बुँदागत हिसाबले सम्झाइदिनुस् न!
उत्तर
सबैभन्दा पहिलो कुरो, रक्सी पिउन हुन्छ कि हुँदैन भन्ने कुराको निर्णय कुनै ख्रीष्टियान वा पास्टरको भनाइ र गराइको आधारमा गरिँदैन, बरु बाइबलले के भन्छ भन्ने कुरोमा निर्भर हुन्छ। अरूले पिएको/खाएको/लाएको हेरेर मैले पनि गर्न पाउनुपर्छ भन्नुचाहिँ जग नभएको ख्रीष्टियान जीवनको लक्षण हो।
प्रश्न
बाइबलले त नपिउनु नै भन्छ, हैन र?
उत्तर
म पनि दोस्रो बुँदामा यही कुरो भन्दैछु, बाइबलमा दर्जनभन्दा बढी खण्डहरूमा स्पष्टै लेखिएको छ, ''मद्य नपिउनू।'' के ती आज्ञाहरू पर्याप्त छैनन्? बाइबलमा मद्य पदार्थ पिएर गति छाडेका नोआ, लोत, शिमसनजस्ता पात्रहरूलाई हेर्नुस्। यिनीहरूले पिएर गति छाडेपछिको परिणाम हामी जान्दछौँ र यस्तै गतिछाडा जीवन हामीले बिताउन नपरोस् भनेर तिनीहरूका हर्कतहरूलाई हाम्रै चेताउनीको लागि वचनमा लेखियो।
तेस्रो कुरो, चाहे गोरा–गहुँगोरा–काला, ख्रीष्टियान वा गैर–ख्रीष्टियान जो भए पनि रक्सीविना बाँच्न नसक्नेहरू भनेका रक्सीको दास बन्नु हो। परमेश्वरको अधीनमा बस्नुपर्ने मानिसहरूले रक्सीलाई मालिक बनाउँछन् भने उनीहरू त्यसैको दासदासी बन्दछन्। जसले जे अपनाउँछ, ऊ त्यसको दास हुँदछ। यसकारण रक्सी छोड्न नसकेर येशूलाई छोडेकाहरू प्रशस्तै भेटिन्छ।
चौथो, पश्चिमी देशहरूमा रक्सी नपिउने कैयौँ असल ख्रीष्टियानहरू पनि छन्, जस्तैः अमेरिकाको साउदर्न ब्याप्टिस्ट मण्डलीले रक्सी पिउने र बेच्ने कार्यलाई ज्यान र आत्माको लागि खतरनाक, ईश्वरनिन्दा गर्नको लागि उत्तेजित पार्ने, बदनाम, अपराध र घीनलाग्दो विषादि भनेका छन्।/1/ खाना र रक्सी सँगै बेच्ने होटेल तथा रेष्टुराँमा खाना खान जाने ख्रीष्टियानहरूलाई यसरी गाली गरिएको पाइयो, ''तिमीहरूलाई लाज लाग्नुपर्ने! तिमीहरू आफै रक्सी व्यवसायको मतियार बन्दैछौ! (त्यो रेष्टुराँमा) तिम्रो उपस्थितिले केटीहरू बिग्रन, जवानहरू व्यभिचारमा लाग्न, सरकारलाई भ्रष्ट बनाउन, रक्सी बेच्ने व्यवसायलाई बढाउन सजिलो पारेको छ। तिमीहरू गरीब, वेश्या र अपराधीहरू बनाउने काममा सहायक बनेका छौ। देख्नुभो, रक्सीप्रति गोरा ख्रीष्टियानहरूको भनाइ!
प्रस्तोता
त्यो ब्लूबर्ड होटेलमा पिउने वक्ताको व्यवहार तपाईंलाई कस्तो लाग्छ?
छाला गोरा भएका सबैलाई नेपालीहरूले ख्रीष्टियान सम्झन्छन्।
प्रश्न
तपाईंले अघि भन्नुभएको व्यक्ति त वक्ता नै हुन् भन्ने बुझियो!
उत्तर
ब्लूबर्ड होटेलमा बस्ने त्यो गोरा वक्ताले वाइन पिएको कुरो साँच्चै नै हो भने, उनले पनि सिक्नुपर्दछ कि मादक पदार्थ कहिले पनि सामान्य पिउने थोक होइन र मैले खाने वा पिउने कुराले कसैलाई बाधा दिएको त छैन भनेर सोच्नुपर्दछ? नेपालमा रक्सी छोड्नु भनेको ख्रीष्ट येशूको निम्ति चेलापनको कदमसँग जोडिएको हुन्छ। हिजो भर्खर रक्सीबाट छुटकारा पाएर प्रभुमा बढ्दै गरेको भाइको सामुन्ने रक्सी/वाइन पिउँदा ऊ वक्ता नै हो भने उसले रोमी १४,१५ र २० पढ्नुपर्दछ, जहाँ यस्तो लेखिएको छ
यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्.....खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर।''# वक्ता भन्दैमा हुन्छ? यहाँ त चिन्न न जान्नुका छाला गोरालाई वक्ता बनाउने पनि चलन छ। गोराविना सम्मेलन नै नहुने रीत बसालिसकेका छन्, हाम्रा अग्रजहरूले!#
पश्चिमी देशमा रक्सी पिउने पास्टरलाई सेवाबाट निकालिदिएका र विश्वासीहरूलाई कारवाही गर्ने मण्डली पनि छन्। तिनीहरूलाई पनि हेर्नुहोला। रक्सी पिउनु हुँदैन भनेर जुनसुकै सभ्य मानिसले भनेकै हुन्छ भने, पास्टरले वचनको व्याख्या गर्ने बेला पियक्क्डपनको विरोध किन हुँदैन? 'रक्सी पिउनु हुँदैन' भनेको हो, तर राम्रो काम गर्न नदिएको जस्तो गरी गुनासो गर्छन् भने त्यस्तो विश्वासीलाई प्रार्थना गर्न सकिन्छ, तर काँध थाप्न सकिँदैन।
प्रस्तोता
गोराहरूले चाहिँ पिउन मिल्ने र हामीले चाहिँ पिउन किन नहुने भन्ने प्रश्नको 'जान्नैपर्ने उत्तर' हामीले पायौँ। अन्तमा, मैले अझै भन्न छुटेको कुरो छ?
निष्कर्ष
रक्सी पिउने कुरो हरेक युगमा प्रश्न उठिराख्ने मामिला हो। ख्रीष्टियानहरूको लागि मात्र होइन, सबैको लागि यो कहिले पनि स्वीकार्य पेय पदार्थ होइन। विदेशीले पिउँदा हुने, यहाँचाहिँ पिउन नदिने भनेर नेपाली पास्टरहरूलाई तारो बनाएर खिसी गरेर आनन्द लिनुभन्दा प्रार्थना गरेर, उचित परामर्श र उपचार गरेर चङ्गाइ हुने बाटो समाउनुपर्ने हुन्छ ताकि प्रभुबाट पाएको मुक्तिको आनन्द शरीरमा हुँदा नै थाहा गर्न सकोस्। पास्टरले रक्सी नपिउनु भन्ने अधिकार वचनबाट चलाएका हुन्। यो पनि नबिर्सनुस् कि रक्सी पिउनेहरूलाई न्याय गर्ने काम पास्टरको होइन, तर न्यायमा पर्न नदिनको लागि चेताउनी काम मात्र गर्छ।
यो देशमा मदिरारहित समाज निर्माण गर्नको लागि राज्यलाई साथ दिन सक्ने भनेका ख्रीष्टियानहरू नै हुन्। हामी संसारको ढाँचामा चल्ने मानिसहरू होइनौँ, बरु संसारको ढाँचालाई बदल्नेहरू हौँ। रक्सी पिउने मानिसले समाज त के आफैलाई बदल्न सक्दैन। त्यस्तो थोकको पक्ष लिएर पास्टरलाई गली नगरौँ। मेरो भन्नु यति हो।
End Notes
/1/ Rufus Spain, At Ease in Zion: Social History of Southern Baptists, 1865-1900 (Tuscaloosa: The University of Alabama Press, 2003), 177f.