ऋणको दशांस तिर्नु पर्दैन किनभने यो आम्दानी होइन। बैंक, सहकारी, साहु वा कुनै वित्तीय संस्थाबाट ऋण लिनु भनेको आम्दानी होइन। यो सापटी लिएको रकम हो। यसलाई तोकिएको समयभित्र फिर्ता दिनुपर्छ। ऋण लिएवापत उल्टै व्याज पनि तिर्नुपर्छ।
ऋणवापत लिइएको पैसाको मालिक तपाईं होइन, साहू वा कुनै वित्तीय संस्था हो। केही समयको लागि उनीहरूले तपाईंबाट फाइदा लिनको लागि शर्तसहित दिएका हुन्। ऋण दिनको लागि प्राय चल अचल सम्पत्ति धरौटी राख्नुपर्ने हुन्छ। यसरी लिइएको ऋणबाट दशांस तिर्नुपर्ने कर्तव्य सृजना हुँदैन।
लेवी २७,३०अनुसार जमिनबाट उब्जेका वा फलेका कुनै पनि थोकको दस भाग परमप्रभुको हो। अहिले पनि खेती किसान गर्नेहरूले बालीको दसांश बुझाउँछन् भने मासिक तलब बुझ्नेहरूले त्यसैबाट दस प्रतिशत मण्डलीमा बुझाउँछन्।
बाइबलीय अवधारणा हेर्ने हो भने ऋण सकारात्मक आर्थिक जीवनको चित्र होइन। लेखिएको छ, ''तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ'' (व्यवस्था २८,१२)… दुष्टहरूले ऋण लिन्छन्, र तिर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्छन्'' (भजन ३७,२१)। ऋणप्रति बेइमानी गर्न नहुने विषयमा हितोपदेशको पुस्तकले झन् धेरै चेताउनी दिन्छ, जुन अर्कै शीर्षकमा चर्चा गरौँला। ऋण भनेको उदारताको ठीक उल्टो हो। सकेसम्म ऋण नलिएकै राम्रो र ऋण लिनुपर्ने गरी जीवन नबिताएको राम्रो किनभने आर्थिक तवरले तपाईं खराब अवस्थामा हुनुहुन्छ भन्ने यो एउटा सङ्केत हो।
ऋण लिँदा पैसा पाएको जस्तो देखिन्छ। हामीमध्ये कतिले त्यस्तै नै सम्झन्छौँ, तर त्यो तपाईंको होइन। त्यो कसैको हो। ऋणले तपाईंलाई जहिले पनि जोखिममा पार्छ। राम्रोसँग जिम्मेवारी निभाइएन भने यसले डुबाउँछ।
कुनै कुनै धूर्त र दसांशको विषयमा जहिले पनि ल्याङ–ल्याङ गर्ने पास्टरहरूले ''यो त बिउ हो, रोप्नुपर्छ। मण्डलीमा ल्याऊ। मेरो संस्थामा ल्याऊ'' भन्न बेर छैन। तपाईंलाई कसैले झुक्याउन नपाओस् किनकि यो बाइबलीय होइन। बाइबलले आम्दानी र नाफाको मात्र दशांस माग गर्छ, ऋणवापत लिएको रकमबाट होइन।