ख्रीष्टियान विश्वासमा पुनरुत्थान एउटा आधारभूत खम्बा हो। यसको चर्चा जति गरिए पनि पुग्दैन र थप चर्चा गर्नको लागि ‘इस्टर’ शीर्षकमा चाडको रूप दिएर अझ व्यापक पारिनुलाई अन्यथा मान्नु हुँदैन। ख्रीष्टियान विश्वासलाई सकेसम्म रोचक बनाएर मानिसहरूको समझदेखि हृदयसम्म उतार्ने प्रयास अहिले पनि जारी छ र पछिसम्म जारी रहनेछ। यी असल अभिप्राय हुँदा हुँदै पनि ख्रीष्टियान विश्वासमा अटाउनै नसकिने विराना तत्त्वहरू घुसाइएको देख्दा मण्डलीको गरिमामाथि यो चाडको नामबाट आँच आउने काम हुन दिनु हुँदैन।
सावधानीको लागि, पश्चिमी मण्डलीहरूमा इस्टरलाई कस्तो प्रकारको अन्धविश्वास र विकृतिहरूले गाँजेका छन् भन्ने केही यहाँ उतार्न गइरहेको छु। ती गैर–बाइबलीय परम्परा यस्ता छन्,
– इस्टर एग (अण्डा) मा क्रूसको रङ भर्नुचाहिँ अपसगुन हो र त्यसमा फूलको रङ भर्नुचाहिँ सगुन (अङ्ग्रेजी शब्द गुड लक र फर्च्युनको भावानुवाद 'सगुन') हो।
– इस्टर सण्डेको दिन तपाईंले सानो बाछो भेट्टाउनुभयो भने यसलाई पाल्नुहोस्, हुर्काउनुहोस् किनकि यसले तपाईंलाई समृद्धशाली बनाउनेछ।
– जसले इस्टरको दिन नाङ्गो खुट्टाले जमिन टेक्दैन, ऊ ज्वरोबाट सुरक्षित रहनेछ।
– इस्टरको दिन चिसो पानीले नुहाउनभयो भने वर्षभरि तपार्इं स्वस्थ रहनुहुनेछ।
– ट्रान्ससिल्भानिया (रोमानिया देशको मध्य भाग) मा इस्टरको दिन मर्ने मानिसको आत्मा श्रापित होस्।
– इस्टरको दिन तपाईंको नानीले बप्तिस्मा लिनु सगुन/शुभ हो। इस्टरको दिन जन्मनु सगुन हो।
– इस्टरको दिन तपाईंको मगनी भयो भने विवाह हुन पाउनेछैन।
– इस्टरको दिन तपाईं माथिबाट खस्नुभयो भने यो एउटा सङ्केत हो कि तपाईं चाँडै लुटिनुहुनेछ।
– इस्टरको दिन विवाह गर्नुभयो भने तपाईंको पूरै भविष्य उज्ज्वल हुनेछ (द्रष्टव्यः मगनीचाहिँ गर्न नहुने रे, विहेचाहिँ गर्न मिल्ने रे, अमिल्दो कुरो!
– इस्टरको दिन गोठमा गएर तुरही बजाऊ र जहाँसम्म आवाज सुनिन्छ, त्यहाँसम्म वर्षभरि जङ्गली पशुहरू देखा पर्नेछैनन्।
– तपाईं इस्टरको दिन मृत्यु सेवामा जानुहुन्छ भने अर्को खराब समाचारको अपेक्षा गर्नुहोस्।
– इस्टरको बिहान तपाईंले कपडालाई उल्टोपट्टिबाट लाउनुभयो त्यो अपसुगन हो।
******
यस्तो विश्वास पनि गरिन्थ्यो,
– इस्टरको बिहान आफ्नो स्वास्नीको खातिर लोग्नेले गल्ती गर्छ भने वर्ष दिनभित्र उसको स्वास्नी मर्नेछ।
– आर्मेनियामा इस्टरको दिन चिहानमाथि एउटा अण्डा राखिन्छ जसकारण पुनरुत्थानको दिनमा मृतकले सहभागिता जनाऊन्।
– डच मछुवारको भनाइ रहेछ, इस्टरको दिन मासु खानु अपसगुन हो...कसैले इस्टरको दिन मासुदेखि अलग रहेको खण्डमा उसले आगामी वर्षहरूमा ज्वरोको प्रकोप खेप्नुपर्दैन।
– आयरल्याण्डमा यस्तो विश्वास गरिन्थ्यो कि इस्टरको बिहानी स्वर्गबाट स्वर्गदूतहरू अण्डाका टोकरीहरू लिएर उत्रन्छन् र विश्वासयोग्य मानिसहरूको घरमा ती बाँडिदिन्छन्।
– म्यासेडोनियामा इस्टर आउनुअघि ख्रीष्टियानहरूले तीन दिन र तीन रात केही पनि नखाईकन र नपिईकन यो विश्वासले उपवास बस्दछन् कि यसो गर्नाले तिनीहरूको पापक्षमालाई सुनिश्चित पार्छ। याद गर्नुस्, यी बाइबलसम्मत् छैनन्।
– इस्टरको अण्डा एक वर्षभन्दा बढी राखेको खण्डमा परिवारको एक जना मर्नेछ। पुरानो परम्पराले भन्छ कि इस्टरको आइतबार पानी पर्यो भने लगातार सात दिनसम्म पानी परिरहनेछ। यी दन्त्यकथाहरूलाई पश्चिमी मण्डलीहरूमा एक समय स्थान दिइएका थिए।
बेलायती ईश्वरशास्त्री तथा इतिहासकार बेडे (इ.सं. ६७३–७३५) ले इस्टरको सम्बन्धमा एक समय ठूलो तहल्का मच्चाए, विशेष गरी ‘इस्टर’ शब्दको उत्पत्ति बारे अनुमानित व्याख्या गरेर भन्न थाले कि जर्मनहरूले मान्ने देवी ‘इस्तरा’बाट अपभ्रंश भएर ‘इस्टर’ आएको र इस्टरसँग मूर्तिपूजाको नाता छ, जुन अहिले मिथ्य र उनैले रचेको कथा सावित भइसकेको छ। ‘इस्तरा’ देवीलाई उस बेला जर्मनहरूले अण्डा पार्ने खरायोको रूपमा पुज्दथे, जुन सही हो, तर इस्तराबाट इस्टर भएको चाहिँ सही होइन। बेडेको सिद्धान्त मिथ्य सावित भइसके पनि इस्टरको दिन ‘अण्डा’को विषयमा गरिने व्याख्या पश्चिमी ख्रीष्टियानहरूको बीचमा अझै प्रख्यात छ।
वसन्तको चाडमा प्राचीन ग्रीकहरू र रोमीहरूले रङ पोतिएका अण्डाहरू साटासाट गर्दथे। चिनिया र पर्सियनहरूले पनि यो चलन अपनाएको पाइन्छ। पछि ख्रीष्टियानहरूले इस्टरको दिन अण्डा साटासाट गर्न थाले। युरोपका कतिपय भागहरूमा चट्याङ र असिनाबाट बाली जोगाउनको लागि रातो रङले पोतेको इस्टरका अण्डाहरू खेतहरू र दाखबारीमा गाडिन्थे। बेलायतमा इस्टरको सबैभन्दा सुन्दर अण्डा एक छेउमा अलग पारेर वर्षभरि नै शुभ होस् भनेर घरमा राखिन्थ्यो। इस्टरको अण्डालाई उपहारको रूपमा स्वीकार गर्न इन्कार गर्नु भनेको कुनै व्यक्तिले मित्रताको लागि दिएको निम्तोलाई इन्कार गर्नुसरह मानिन्थ्यो।
प्राचीन जर्मन किंवदन्तीमा अटेका अण्डा पार्ने खरायोरूपी इस्तराले उर्बरताको सङ्केत दिँदथ्यो। प्राचीनकालदेखि चल्दैआएको बुझाइअनुसार जीवनमा अण्डा उर्बरता र नवीकरणको चिन्ह हो, तर दुःखको कुरो, ख्रीष्टियान अभ्यासमा अण्डाले पुनरुत्थानको सङ्केत दिन थाल्यो।
इस्टरको दिनमा लाग्ने घामको विषयमा पनि धेरै किंवदन्तीहरू सुन्न पाइन्छ। यस्तो विश्वास व्याप्त थियो कि इस्टरको बिहान सूर्योदय हुँदै गर्दा सूर्य नाच्छ किनभने प्रभु बौरी उठ्नुभएको आनन्दले भरिएको छ। कति जनाचाहिँ (सूर्य) उफ्रेको, रङ फेरिएको वा वरिपरि घुमेको र चक्काझैँ नाचेको देख्नको लागि डाँडाको टाकुरा वा खुला ठाउँमा जाँदथे। यी गतिविधिहरू नदेखेमा सूर्यलाई छेकेर दियाबलसले बाधा दिएको अर्थसमेत लगाउँदथे।
सूर्य पूज्ने प्राचीन जर्मन संस्कारलाई सुसमाचारले जितेपछि त्यसलाई सान्दर्भिक बनाइएको तर्क गरिन्छ। तिनीहरूले सूर्यको पुनरुत्थान हुने चाड मान्दथे, त्यो चाडलाई धार्मिकताको सूर्य पुनरुत्थान हुने प्रसङ्ग जोडेर नयाँ चाडमा परिणत गर्नुलाई कतिले स्वाभाविक नै मानेका छन्। मलाकी १,११ र ४,२मा रहेको धार्मिकताको सूर्यलाई यहाँनेर जोड्ने गरेको पाइयो।
निष्कर्ष
चाडपर्वहरू एकै रातमा सृजना हुँदैनन् र राम्रै उद्देश्यको लागि ती सृजना गरिन्छन्, तर विकृति छिरेमा यसले मण्डलीलाई हानि नै गर्नेछ। विश्वासलाई थप उजागर गर्नको लागि ख्रीष्टियानहरूले पाएसम्मका अवसरहरूलाई उपयोग गर्दै आएका छन्। कालान्तरमा ती संस्थागत हुँदछन् र मण्डलीका आत्मिक गतिविधिहरू चाडमा परिणत हुँदछन्। पुनरुत्थानको अर्थ दिने इस्टर पनि यसरी नै विकास भएका हुन्।
नेपाली मण्डलीमा इस्टरसँग जोडेर अहिलेसम्म खास गम्भीर विकृति भित्रन नपाए पनि इस्टरकै दिन अण्डा बाँड्ने वा खाने चलन छिरिसकेको छ। इस्टरको अवसर पारेर गरिने सङ्गतिमा अण्डा खानु सायद खाजाको परिकारमा पर्ने थोक नै बन्ला, तर पश्चिमी देशका धार्मिक किंवदन्तीबाट सापटी लिइएको अर्थ जोडिएको कारण इस्टरको दिन खाजाकै लागि भए पनि चना–आलुसँगै अण्डा खानुसमेत सोच्नुपर्ने कुरो भएको छ।
ख्रीष्टियानहरूले आफ्नो सन्देशलाई समय–सुहाउँदो बनाउनुपर्नेमा आफैलाई समय–सुहाउँदो बनाका उदाहरणहरू धेरै छन्। समय–सुहाउँदो बन्ने धूनमा थाहै नपाईकन गैर–बाइबलीय तत्त्वहरूलाई मण्डलीमा छिर्न दिइँदा प्राय ख्रीष्टलाई ओझेल पार्ने र चाडलाई बढी महत्त्व दिने परीक्षामा सिङ्गो ख्रीष्टियान समाज नै फँसेका छन्। इस्टर पनि यस्तो चाड हो जसमा पुनरुत्थानलाई ओझेलमा राखेर गलत चलनहरूलाई ख्रीष्टियानकरण गरिएका छन्।
अन्धविश्वासले केही पश्चिमी मण्डलीहरूलाई गाँजेको देख्दा इस्टर चाड पनि कतै ख्रीष्टमसजस्तै बजारिया नबन्ला भन्न सकिँदैन। पुनरुत्थानजस्तो आधारभूत सिद्धान्तको जगमा ऐजेरुजस्तै अन्धविश्वास छिर्न दिइनुमा ख्रीष्टियानहरू नै दोषी छन्। ख्रीष्टियान विश्वासमा अन्धविश्वासले ठाउँ लिनुमा परमेश्वरको हात कति पनि छैन।
पुनरुत्थानको व्याख्या गर्न हामीलाई इस्टर चाडको आवश्यकता छैन, तर यो चाडले पुनरुत्थानलाई नै बढी जोड दिने हुँदा यसले मण्डलीहरूलाई ख्रीष्टकै नाम प्रचार गर्ने अवसर दिएको मात्र हो। मण्डलीमा इस्टरको छेको पारेर आत्मिक वृद्धिको उद्देश्य राखेर गरिने अतिरिक्त गतिविधिहरूलाई थाहै नपाईकन आत्मिककरण गरेर मूर्तितिर नै जोडिदिनु सायद ख्रीष्टियानहरूको कमजोरी हो। यसमा हामी निकै सजग हुनुपर्ने देखिन्छ। जे होस्, मण्डलीमा कुनै पनि गैर–बाइबलीय तत्त्वहरू छिर्न नपाऊन भन्ने यो खबरदारी मात्र हो। खबरदार!