प्रश्न
''अघिजस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर'' (१तिमोथी ५,२३)।
पावलले तिमोथीलाई पेटको खातिर अलिअलि पिए हुन्छ भनेका छन्। पास्टरज्यू, रक्सी छोड्न नसकेका ख्रीष्टियानहरूले यो पदलाई यसरी व्याख्या गरेको पाइयो, ''धेरै र मात्ने गरी पो पिउनु हुँदैन! अलि–अलि त पिए पनि भइहाल्छ नि, होइन र?' तिनीहरूलाई के भन्नुहुन्छ?
उत्तर
यो पदले हामीलाई रक्सी पिउने स्वतन्त्रता दिँदैन र तिमोथीलाई पावलले रक्सी पिउने सल्लाह दिएको पनि होइनन्। धेरै होइन, थोरै पिउँदा हुन्छ भनेर सल्लाह दिएको पनि होइनन्।
पिउने आदतमा परेकाहरूलाई 'अलिअलि' मात्र पिएर पुग्दैन – यो त आफू लडेको थाहा नपाउने गरी पिउने लत लाग्ने थोक हो। यसकारण 'अलिअलि' शब्दसँग ठट्टा नगर्नुस्।
पहिलो कुरो याद गर्नुस्, यहाँ रक्सी होइन, दाखमद्य पिउनलाई सिफारिस गरिएको हो – दाखमद्य र रक्सी भनेका दिन र रात जतिको फरक कुरा हुन्। दोस्रो, पावलले तिमोथीलाई मनोरञ्जनको लागि नभएर पेटको समस्या सुल्झाउने उपाय दिएका हुन् – यो सुझाव हो, आज्ञा होइन। तेस्रो, तिमोथी पिउने कुलतमा परेका मानिस होइनन्, बरु पेट निको हुन्छ नै भने पनि नपिउने जवान पास्टर हुन्। चौथो, अचेल विश्वका कुनै पनि डक्टरले ''रक्सी पिएर तपाईंको पेट ठीक हुन्छ'' भनेर प्रेस्क्रिप्सनमा लेख्दैन – डक्टरको सिफारिस वा प्रेस्क्रिप्सनमा 'रक्सी' कहिले पनि अट्न सक्दैन। यसकारण तिमोथीलाई पावलले दिएको यो सल्लाहलाई कसैले रक्सी पिउने प्रेरणाको रूपमा लिन्छन् भने वचनलाई प्रयोग गरेर पापलाई जायज बनाउनुसरह हो।
प्रश्न
दाखमद्यप्रति पावल अलि लचिलो भएको महसुस भइरहेको छ किनभने डिकनहरूको योग्यता र चरित्रको कुरा गर्दा यही १तिमोथी ३:८मा ‘बढी मद्य पिउने हुनुहुँदैन' भनिएको छ। के डिकनहरूले पनि तिमोथीले जस्तै 'थोरै पिउँदा फरक पर्दैन' भन्न खोजिएको त होइन?
उत्तर
पहिलो कुरा त, पावल दाखमद्यप्रति लचिला मानिस होइनन् किनभने गलाती ५ अध्यायमा पियक्कडपनलाई उनले पापमय स्वभावका कामहरूको सूचीमा राखेका छन्। रोम र कोरिन्थ मण्डलीका पियक्कड विश्वासीहरूलाई झपारेका छन् – स्वर्गको राज्यको हकदार हुँदैन भनेका छन्। दोस्रो, १तिमोथीको पत्रको प्रसङ्ग बुझ्नुपर्छ। एफिसस मण्डलीका एल्डर, बिशप र डिकनहरूको गुण र योग्यता बारे पावलले मापदण्ड तोक्दै गर्दा बिशपहरू ‘मतवाला हुनुहुँदैन’ भनिएको छ (१तिमोथी ३,३)। जहाँसम्म डिकनहरूको सम्बन्धमा ‘बढी मद्य पिउने हुनुहुँदैन' भनिएको छ, त्यसलाई आधार बनाएर 'थोरै पिउन सकिनेरहेछ' भनेर अर्थ लाउनुचाहिँ पिउने आदतलाई जायज ठहराउने दुष्प्रयास हो। डिकनहरू 'बढी मद्य पिउने हुनुहुँदैन' भन्नुको अर्थ, सम्भवतः तिनीहरूले पनि तिमोथीले जस्तै पेटको समस्या खेप्दै थिए र त्यसलाई सायद दाखमद्यले ठीक पार्दथ्यो। अनि यहाँ चलाइएको भाषालाई हेर्नुस्। 'बढी मद्य पिउने हुनुहुँदैन' भन्नुको अर्थ नपिउनको लागि दिइएको खबरदारी हो किनकि ओखतिको रूपमा पावलले बाध्यात्मक अवस्थामा 'अलिअलि' पिउनु र 'बढी' नपिउनू भन्नुको अर्थ, यो अति नै जतन गरेर, अनुशासित भएर लिनुपर्ने थोकको हो। 'अलिअलि' पिउनु भन्नुको अर्थ यहाँ डक्टरी परामर्श देखिन्छ। यहाँ औषधिको मात्राको कुरो गरिएको छ। डक्टरले समय तोकेर औषधि खाने सल्लाह दिनुको अर्थ 'अलिअलि' खानु भनेको हो किनभने एकैचोटि ग्वाम्मै खान मिल्दैन। यसकारण 'अलिअलि' पिउने सल्लाह दिनुको अर्थ औषधि खाने नियम बताएको हो भनेर १तिमोथी ५,२३लाई बुझौँ।
प्रश्न
यो त हामीमध्ये कमैले ख्याल गरेको कुरो रहेछ। त्यसो भए, तिमोथीको जमानामा दाखमद्यको प्रयोग कसरी गरिन्थ्यो भन्ने कुरो बताइदिनुस् न।
उत्तर
पहिलो कुरो, १तिमोथी ५,२३ आफै प्रष्ट छ कि तिमोथीलाई पेटको समस्या थियो र मात्रा मिलाएर दाखमद्य पिउँदा उनको पेट ठीक हुँदथ्यो। यो ओखति हो। भनेपछि यो मात्न वा मनोरञ्जनको लागि होइन भन्ने कुरोमा शङ्का रहेन।
दोस्रो, तिमोथीको जमानाको इतिहास मैले छान मार्दा, यस्तो भेटियोः त्यस बेलाका ग्रीकहरूले (कडा) दाखमद्यमा अनिवार्य पानी मिसाउनुपर्दथ्यो। लेखिएको छ, दुई भाग पानीमा एक भाग दाखमद्य मिसाउनुपर्दथ्यो। यस्तो पनि नियम थियो कि डक्टरको सिफारिसमा बाहेक कसैले पानी नमिसाईकन दाखमद्य पिएको खण्डमा मृत्युदण्ड दिइन्थ्यो।/1/ देख्नुभो, डक्टरको परामर्श? नेपालमा पनि कुनै कुनै औषधि डक्टरको सिफारिसविना बेच्न पाइँदैन। बेचिएमा कारवाही हुन्छ।
तिमोथीले येशूलाई विश्वास गरेपछि दाखमद्य पिउन छोडेको र त्यसबाट स्वास्थ्यमा समस्या आएको हुँदा पावलले 'अलिअलि' दाखमद्य पिउन सल्लाह दिएको हुनसक्छ। पावलले तिमोथीलाई पत्र लेख्ने बेला लूका पनि साथमा थिए। वैद्य लूकाबाट सल्लाह पाएर तिमोथीलाई पानीमा दाखमद्य मिसाएर पिउने सिफारिस गरेको पनि हुनसक्छ।
तेस्रो, मैले भर्खरै भनेँ, दाखमद्य ओखतिको रूपमा चलाइन्थ्यो। यहूदी र ग्रीक समुदायमा दाखमद्यलाई रोग निको पार्ने ओखतिको रूपमा पनि लिइन्थ्यो – याद गर्नुस्, तिमोथी आफै पनि ग्रीक बुबा र यहूदी आमाका छोरा हुन्। असल सामरीको कथामा घाइतेको घाउ निको पार्न दाखमद्य चलाइएको कुरो उल्लेख गरिएको छ (लूका १०,३४)। यसले घाउ निको पार्ने ओखतिको काम नगर्ने हो भने, येशूले यो प्रसङ्ग पक्कै पनि उठाउनुहुन्नथ्यो। प्राचीनकालमा दाखमद्यलाई पेटको समस्या सुल्झाउन र आउँबाट जोगाउने थोकको रूपमा लिइन्थ्यो।/2/
चौथो कुरो, इतिहास पढ्न पाइन्छ कि एफिससमा पानीको अभाव थियो र पानी निकै प्रदूषित थियो।/3/ पावलले पानीसँग दाखमद्य मिसाएर पिउने सल्लाह दिएका हुन् कि पनि भन्न सकिन्छ किनभने ''पानी मात्र खाने नगर'' भनिएको छ। जे होस्, यो तर्कमाथि विवादस्पद भए पनि दमचाहिँ छ।
प्रश्न
यहाँ अलिकति स्पष्ट हुन चाहेँ, दाखमद्य र रक्सी एउटै हो त?
उत्तर
बिलकुलै होइन। नेपालका रक्सीप्रेमी ख्रीष्टियान मित्रहरू यहीँनेर झुक्किएको देख्छु म। पिउनको लागि तिमोथीलाई सल्लाह दिइएको दाखमद्यलाई हाम्रा मण्डलीहरूमा रक्सी नै सम्झन्छन्। यो अचेलको रक्सीसँग तुलना गर्न मिल्ने थोक होइन भन्ने कुरा मात्र बुझेछन् भने पनि १तिमोथी ५,२३लाई च्याँखे वा बाधाको कारण बनाउन पाउने थिएन। दाखमद्य र रक्सी एउटै होइनन्।
दाखमद्य मात्ने र नमात्ने दुई थरिका हुँदथे। यी दुवैलाई बाइबलमा 'दाखमद्य' भनिएका छन्। अँगूरलगायत विभिन्न फलफूल र अन्नमा खमीर हालिएछ भने त्यसबाट कडा दाखमद्य बन्दछ, तर तिमोथीलाई पिउने सल्लाह दिइएको दाखमद्य खमीरविनाको अङ्गुरको रस हो भन्ने कुरो अध्ययनले देखाएको छ। यसलाई नयाँ दाखमद्य भन्न सकिन्छ। यो गुलियो हुँदथ्यो।
ग्रीक साहित्यकार अथेनियसले गुलियो दाखमद्य ‘पेटको लागि फाइदाजनक’ हुन्छ भनेका थिए। गुलियो भनेपछि नयाँ अँगूरबाट निकालिएको रस नै हुनुपर्दछ। पावलले पक्कै पनि खमीर हालेर गलेको दाखमद्य पिउने सल्लाह दिन सक्दैनथे किनभने खमीर हालेर गलाइएको दाखमद्यले टाउको दुखाउने, जिउ फुलाउने, पागलपन र पेटलाई खराब गराउँछ भनेर प्लिनी, फिलो, कोलुमेलाजस्ता इतिहासकारहरूले जानकारी दिएका छन्।/4/ पेटलाई हानि गर्ने त्यस्तो थोकले तिमोथीजस्तो पेटको रोगीलाई झन् असर गर्न सक्दथ्यो। यसकारण हामीले यहाँ चर्चा गर्दै गरेको दाखमद्य ग्रीक साहित्यकार अथेनियसले भनेको जस्तो गुलियो दाखमद्य हुनुपर्दछ। त्यसमा पानी मिसाउँदा मात्ने मादकता झन् कम हुँदथ्यो।
प्रश्न
भनेपछि त्यस बेला यहूदीहरू र ग्रीकहरूले ओखतिको रूपमा दाखमद्य प्रयोग गर्थे/5/ र ''औषधीय प्रयोगको लागि मात्र यो स्वीकार्य छ''/6/ भन्ने सन्दर्भलाई हामीले बिर्सनुभएन।
उत्तर
हो! आधुनिक औषधविज्ञानमा अल्कोहल र गाँजाजस्ता थोकहरूको प्रयोग प्रशस्त मात्रामा हुने गर्दछन्, तर यो डक्टरको प्रत्यक्ष निगरानीमा मात्र गर्न दिइन्छ। मानौँ, तिमोथीलाई पेटको समस्या ठीक पार्न गुलियो नभएर कडा दाखमद्य नै चलाउन सल्लाह दिइएको रहेछ पनि हामीले यो बिर्सनु हुँदैन कि उनलाई डक्टरको निगरानीमा दिइएको थियो – 'अलिअलि' 'बढी होइन' भन्नुको अर्थ यही होइन त?
प्रश्न
दाखमद्यको बारेमा अझै बुझ्न मन लाग्यो। तपाईंको अध्ययनले के देखाउँछ?
उत्तर
बाइबलमा उल्लेख गरिएको 'दाखमद्य'ले दाख वा अँगूरबाट निकालिएको साधारण रसदेखि कडा मादक पदार्थसम्मलाई जनाउँछ। प्रेरित २,१३मा 'नयाँ दाखमद्य' भनिएको छ। यो भनेको अँगूरको रस सम्झनुस्। यसैलाई गुलियो दाखमद्य भनिएको छ। यसमा पनि हल्का मादकता हुँदथ्यो। मसाला हालिएको दाखमद्यको कुरो पनि पढ्न पाइन्छ। दाखमद्यमा पित्त मिसाएर येशूलाई लठ्याउने कोसिस गरेको कुरो पनि हामी पढ्दछौँ। हेर्नुस् त थरिथरिका दाखमद्य!
बाइबलमा उल्लेख गरिएको दाखमद्य खानासँगसँगै पिइने पेय पदार्थ पनि हो। रोटीसँग पिइएका प्रसङ्गहरू पढ्न पाइन्छ। प्राचीन जर्जियामा रोटीलाई दाखमद्यमा चोबेर खाने चलन थियो र त्यस बेलाको दाखमद्यमा भिटामिन पी पाइँदथ्यो।/7/ प्राचीन ग्रीकहरूको खानासम्बन्धी चलनलाई बुझ्दै गर्दा बिहानीको खाजामा रोटीलाई दाखमद्यमा चोबेर खाइन्थ्यो/8/ – भनेपछि यो दाखको रससँग खाइएको थियो भनेर बुझौँ किनकि कडा दाखमद्यसँग रोटी मेल खाँदैन। अचेलको बियर, रक्सी ठर्रा वा कुनै पनि रक्सीसँग रोटी खाइँदैन – बरु जिब्रो पोल्ने सितन खोज्छन्। भनेपछि तिमोथीको पालाको दाखमद्य अचेलको रक्सी होइन।
प्रश्न
रक्सी वा कुनै मादक पदार्थले पेटको समस्या ठीक हुन्छ भनेर कतै सङ्केत पाउनुभयो?
उत्तर
यहाँ उल्लेख गरिएको दाखमद्य पनि बेस्सरी पिउन मिल्ने थोक होइन भन्ने कुरो बुझ्नुस्, नत्र 'अलिअलि' भनेर खबरदारी गर्नुपर्ने नै थिएन। तरिका पुर्याए ओखति, नपुर्याए खति हुन्छ! रक्सीको कुरा गरौँ, यसले सीधा असर पार्ने भनेको पाचन प्रणालीलाई हो। ८०–९० प्रतिशत रक्सी सानो आन्द्राले सोस्नेरहेछ।/9/ थोरै मात्र रक्सी पिइँदा पनि यसले पेटमा चाहिँदोभन्दा बढी एसिड निर्माण गर्छ जसले पेटमा जलन पैदा गर्छ – यसैलाई भनिन्छ ग्यास्ट्राइटिस। यसले पेट दुखाउने, उल्टी गराउने, पखाला लगाउने र धेरै पिउँदा रगत छाद्नेसम्म गराउँछ। सीधा असर कलेजोमाथि पर्छ। विचार गर्नुस् त, त्यसै त पेटको बिरामी तिमोथीलाई यस्तो कडा मादक पदार्थ पिउन पावलले सल्लाह देलान् त? यसको अर्थ, पेटलाई सञ्चो गराउने किसिमको नयाँ र गुलियो दाखमद्य पिउन सल्लाह दिइयो।
कडा दाखमद्य पिएर मात्ने कुरोलाई बाइबलले स्वीकार गर्दैन। यो कहिले र कहीँ पनि स्वीकार्य छैन। यसले कसैलाई कतै पनि भलाइ गरेको छैन। यसले मानिसमा उत्तेजना बढाइदिन्छ। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा नै आवश्यक पर्ने उत्तेजनाको मात्रा हालिदिनुभएको छ। यसलाई मादक पदार्थ पिएर बढाइरहनु पर्दैन। मानिसमा उत्तेजना घटेछ भने उसले परमेश्वरको वचन र उहाँको उपस्थितिमा गएर भर्नुपर्छ। यसकारण पावलले भनेका छन्, ‘‘पवित्र आत्माले भरिपूर्ण होओ, दाखमद्यले नमात्तिओ, त्यो विलासिता हो (एफिसी ५,१८)।
प्रश्न
सम्भव छ, हामीले जान्नैपर्ने उत्तरहरू लगभग यति नै हुनुपर्छ। निष्कर्षमा अझै छुटेका कुराहरू केही छन् भने, बताइदिनुस् न।
उत्तर
१तिमोथी ५,२३लाई मादक पदार्थ दुरुपयोग नगर्नको लागि परमेश्वरको तर्फबाट आएको चेताउनी सम्झनुस्। यो सन्देस सुन्दै गर्नुभएकाहरूमध्ये कोही मादक पदार्थको लतमा डुब्नुभएको छ भने यो दासत्वलाई जित्न सकिन्छ भन्ने विश्वास लिनुस्। यसको लागि येशूलाई जीवनको केन्द्रमा राख्नुहोस्। तपाईंलाई नाश पार्ने शैतानको हतियार हो, उहाँले त्यसलाई निशस्त्र पार्नुभएको तथ्यलाई दाबी गर्नुस्। पास्टर बन्धुहरूले पनि वचन दिँदा रक्सी खानेहरूलाई घोचपेच नगर्नुस्। घोचपेच गरेर कोही फर्कँदैनन्, उल्टै वागी बन्छन्। बरु छोड्नको लागि प्रेरणा दिनुहोस्। तपाईंले चाहनुभएको खण्डमा रक्सी छोड्न सक्नुहुन्छ किनकि येशू त्योभन्दा पनि लाग्ने कडा मद्य हुनुहुन्छ। केवल उहाँलाई पिउनुस्।
End Notes
/1/ Adam Clarke, The New Testament of Our Lord and Saviour Jesus Christ: the Text Taken From the Most Correct Copies of the Present Authorized Version..., Vol 2 (New York: Peter C Smith, 1831), 629.
/2/ Craig Keener, The IVP Background Bible Commentary (Downers Grove, Illinois: InterVarsity Press, 1993), 619.
/3/ Aida Besancon Spencer, 1 Timothy: A New Covenant Commentary (Eugene, Oregon: Cascade Books, 2013), 140.
/4/ The Health Reformer, Vol 11/6, June 1876, pp 163.
/5/ Gordon D. Fee, 1 And 2 Timothy, Titus (Peabody, Massachusetts, Hendrickson, 1988), 132.
/6/ William Barclay, The Letters to Timothy, Titus and Philemon (Louisville, Kentucky: Westminster John Knox Press, 2003), 135.
/7/ Darra Goldstein, The Georgian Feast: The Vibrant Culture and Savory Food of the Republic of Georgia (Berkeley: University of California Press, 2013), 52.
/8/ John Robinson, Archæologia Græca: Or, The Antiquities of Greece; Being an Account of the Manners and Customs of the Greeks; Relating to their... (London: Printed for Richard Phillips, 1807), 511.
/9/ Kenneth W. Wanberg, Harvey B. Milkman, David S. Timken, Driving with Care: Alcohol, Other Drugs, and Driving Safety Education: Strategies for Responsible Living and Change (Thousand Oaks, Sage Publications, 2005), 73.