धेरैलालाई लाग्दछ कि उत्पत्ति २,१७अनुसार आदम र हव्वा मर्नुपर्ने हो, तर मरेनन्। त्यहाँ यस्तो लेखिएको छ, ''असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्।'' तिनीहरू मरेनन्। त्यसो भए, के परमेश्वरले ढाँट्नुभएको हो त? बरु शैतानले ३,४मा 'तिमीहरू मर्दैनौ' भनेको थियो। ऊ पो सही ठहरिएको त होइन? परमेश्वर झूट ठहरिनुभएको त हुँदै होइन र शैतान सही ठहरिएको त झन् हुँदै होइन। यसको उत्तर तीन प्रकारले दिन सकिन्छ।
पहिलो, आदम र हव्वा दुवै जना मरे। त्यसो भए, तपाईं सोध्नुहोला, आदम ९३० वर्ष बाँचे त? वास्तवमा उनी ९३० वर्षसम्म मात्र बाँच्नको लागि सृजिएका होइनन्, पाप नगर्दासम्म अनन्तको लागि बाँच्ने गरी सृजिएका थिए। अनाज्ञाकारिताले गर्दा आदम र हव्वा मरणशील भए।
दोस्रो, फेरि पनि भन्दैछु, आदम र हव्वा मरे। निषेधित फल खाएको दिन 'तिमीहरू मर्नेछौ' भनेर कस्तो प्रकारको मृत्युको विषयमा पूर्व जानकारी दिइएको भन्ने कुरो बुझ्नुपर्दछ। हामीले सोचेको जस्तै ठहरै मृत्यु नभएर परमेश्वरदेखि अलग हुनु हो। उत्पत्ति २,७अनुसार ती माटाका भाँडा हुन्, जसमा परमेश्वरले प्राण र आत्मा हाल्नुभएको थियो। पाप गरेपछि तिनीहरूसँग प्राण र शरीर मात्र रहे र तिनीहरूसँग आत्मा रहन सकेन। परमेश्वरको आत्मा तिनीहरूसँग नहुँदा उहाँसँग तिनीहरूले सम्बन्ध राख्न सकेनन्। तसर्थ, 'तिमीहरू मर्नेछौ' भन्नाले शरीर नभएर आत्माको मृत्युलाई सङ्केत गर्दछ। आत्मा मरेपछि प्राणले धानेको शरीर आफै पनि मरणशीलतामा परिणत भयो। यसकारण आदम र हव्वाको मृत्यु भयो।
तेस्रो, अनुवाद गर्दा कताकता अस्पष्ट भएको देखिन्छ, जस्तैः उत्पत्ति २,१७मा उल्लिखित ' निश्चय नै मर्नेछस्' को लागि हिब्रू शब्दावली 'मोट टामुट' (תָּמֽוּת מ֥וֹת) चलाइएको छ, यसलाई नेपालीमा अनुवाद गर्दा अनुवाद गर्ने हो भने यसलाई ''मृत्युमा मृत्यु हुनेछौ'' वा 'मृत्युमा मर्न गइरहनेछौ' भन्नुपर्ने हुन्छ, जुन भाषागत हिसाबले उति ठीक सुनिँदैन। यसको मतलब बिस्तारी मर्दै जानेछ। यो तेस्रो बुँदाले तुरुन्तै नमरेको भन्ने तर्क गर्नेलाई जवाफ देला, तर निष्कर्षमा कुरो यही हो कि आदम र हव्वा निषेधित फल खाने बित्तिकै मरे।