प्रश्न
पास्टरज्यू, बाइबलमा प्रार्थना गर्दा आँखा बन्द गर्नुपर्ने कुरो मैले अहिलेसम्म भेटेको छैनँ। के प्रार्थना गर्दा आँखा बन्द गर्नैपर्छ र?
उत्तर
हो, बाइबलमा प्रार्थना गर्ने बेला आँखा बन्द गर्नुपर्छ वा पर्दैन भनेर स्पष्ट आज्ञा दिइएको छैन। प्रार्थना गर्ने बेला आँखा किन बन्द गर्ने भन्ने प्रश्न सैद्धान्तिक नभए पनि यसलाई झिनामसिना सम्झनु हुँदैन किनभने बाइबलमा स्पष्ट आज्ञा नदिइएको कारण जिज्ञासु मित्रहरूले जिज्ञासा राख्नु स्वाभाविक नै हो।
प्रश्न
के प्रार्थना गर्ने बेला आँखा बन्द गर्नुपर्छ भन्ने कुनै अवधारणा बाइबलमा हुँदै नभएको हो त?
उत्तर
बाइबलीय अवधारणा हुँदै नभएको चाहिँ बिलकुलै होइन। प्रार्थना गर्ने बेला उभिएर, बसेर, कतै फर्केर, घुँडा टेकेर, हात उचालेर, आँखा उठाएर, अनुहार निहुरेर, कोठाभित्र, गुप्तमा बसेर प्रार्थना गरेका प्रसङ्गहरू पढ्न पाइन्छ, तर प्रार्थना गर्दा ''तिमीहरूले आँखा बन्द गर्नुपर्छ'' भनेर कतै पनि बाइबलमा ट्याक्कै लेखिएको छैन। त्यसरी उल्लेख नगरिए पनि आँखा बन्द गर्नु जायज छ भन्ने केही आधारहरू छन्,
पहिलो, मत्ती ६,६मा येशूले भन्नुभयो,
''तिमी जब प्रार्थना गर्दछौ, आफ्नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।'' यहाँ पक्रनुपर्ने शब्दहरूमा 'कोठामा पस, ढोका थुन, गुप्तमा प्रार्थना गर' आदि हुन्। यी आज्ञाहरू दिइनुको अर्थ, अरूलाई देखाउनको लागि प्रार्थना गर्नुहुँदैन भन्ने हो। गुप्तमा गएर गर्नुपर्ने रहेछ। गुप्तमा गएपछि हाम्रो आँखाले धेरै कुरो देख्न पाउँदैन। कानले पनि धेरै कुरा सुन्न पाउँदैन। प्रार्थना गर्ने बेला हाम्रा पाँचै वटा इन्द्रियहरू काबूमा हुँदछन्।
प्रार्थना गर्ने बेला आँखा बन्द गर्नुपर्ने दोस्रो बाइबलीय अवधारणा पनि हेरौँ। येशूले एउटा कथा बताउनुभयो। अहङ्कारी फरिसीले आफूलाई उचालेर प्रार्थना गर्यो, तर कर उठाउनेले ''टाढ़ै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्'' (लूका १८,१३)! यहाँ हामीले पक्रनुपर्ने वाक्यांश ''स्वर्गतिर आँखा पनि उठाएनन् र आफ्नो छाती पिट्यो।'' यसको अर्थ उनले आफ्नो आँखा तल झारे। माथि हेरेनन्। यो आँखा चिम्लेसरह हो कि होइन?
प्रश्न
चिन्तन मनन् गर्नेहरूले पनि एकाग्रको लागि आँखा चिम्लन्छन् भने प्रार्थना गर्नेहरूलाई कतिको एकाग्र चाहिन्छ?
उत्तर
चिन्तन मनन गर्नेहरूले ध्यान एकात्रित पार्नलाई आँखा चिम्लेका हुन्। प्रार्थना गर्ने बेला पनि प्रभुलाई आत्मामा भित्री आँखाबाट हेर्नको लागि बाहिरी आँखा बन्द गर्नु जायज तरिका हो। ध्यान नभाँडियोस् र प्रार्थनामा एकाग्र होस् भन्नको लागि यो गरिन्छ।
प्रश्न
आँखाले कति पटक यस्ता दृश्यहरू छिटो टिप्छ जसले सजिलै हाम्रा ध्यानहरू भाँडिदिन्छ। त्यसैकारणले बन्द गर्नु राम्रो त होइन?
उत्तर
मलाई लाग्छ, हाम्रो ध्यान सजिलै भाँड्ने भनेको सुनाइ र हेराइ हो। अझ बढी हेराइबाट भाँडिन्छ। आँखा खुला भएपछि एउटा कुरो हेर्दै गर्दा अर्को थोक पनि देखिन्छ। देखिने ती थोकहरू काम लाग्ने वा नलाग्ने जे पनि हुनसक्छ, तर त्यसले मानिसको ध्यान अन्यत्र मोडिदिन्छ। परमेश्वरमा केन्द्रित हुने बेला बाहिर देखिने दृश्यले ध्यान भङ्ग गर्न नपाओस् भन्नको लागि प्रार्थना गर्ने बेला आँखा बन्द गर्नु राम्रो अनुशासन हो।
प्रश्न
कसैप्रति उच्च आदर जनाउने बेला पनि आँखा/अनुहार झुकाउने चलन छ। के प्रार्थना गर्ने बेला आँखा बन्द गर्नुलाई उच्च आदर मान्न सकिएला?
उत्तर
अवस्य सकिन्छ। आफूभन्दा ठूलालाई उच्च आदर जनाउनको लागि अनुहार झुकाउने गरिन्छ र आँखा उठाएर हेरिँदैन। जस्तैः नेपालमा एक समय राजशासन हुँदा हामीले देख्यौँ, राजाको दर्शन गर्न गएका मानिसहरूले सीधै राजाको मुहार हेर्न पाउँदैनथे। राजासँग आँखा जुधाउनु अनादर ठहरिन्थ्यो र दण्डको योग्य ठहराइन्थ्यो। त्यसै गरी मालिकलाई दासहरूले सीधा हेर्न पाउँदैनथे। बुहारीले ससुरालाई आँखा उठाएर हेर्दैनन्, घुम्टो लाउँछन्। यसलाई राम्रो/नराम्रो भन्नुभन्दा पनि परमेश्वरलाई हामी त्यस अर्थबाट लिँदैनौँ। निश्चय नै प्रार्थना गर्ने बेला आँखा बन्द गर्नु भनेको नम्रता र आदरका चिन्ह हुन्, जुन हामी अचेल प्रार्थनामा अभ्यास गर्दछौँ।
परमेश्वरको महिमा मोशाको मुहारमा प्रकाशमान भएको थियो र त्यस तेजलाई अरूले हेर्न नसकेपछि उनको मुहारमा घुम्टो हालियो। हामी शरीरमा भए पनि प्रार्थना गर्ने बेला उहाँको महिमित उपस्थितिमा आदरसाथ जाँदा हाम्रा शारीरिक हाउभाउले उहाँलाई आदर जनाउनको लागि शिर झुकाउनु र आँखा बन्द गर्नु भद्रताको सङ्केत हो।
प्रश्न
के आँखा खोलेर पनि प्रार्थना गर्न सकिने अवस्थाहरू छन्?
उत्तर
अवस्य छन्। बिरामीको लागि प्रार्थना गर्दा कति पटक आँखा बन्द नगरी प्रार्थना गर्नु पर्दोरहेछ – विशेष गरी बिरामीबाट भूतात्मालाई खेद्ने बेला सावधानी अपनाउनुपर्छ। बिरामीमध्ये कतिले थुक्ने, बाइबलमाथि झम्टने र प्रार्थना गर्ने व्यक्तिलाई नै चिथोर्ने अनि हमला गर्नेसम्मका गतिविधिहरू मैले पनि भोगेको छु। त्यस्तो बेला आँखा बन्द गर्नु बुद्धिमानी नहोला। एक जना पास्टर दाइले जहिले पनि आँखा खोलेर प्रार्थना गर्नुहुन्थ्यो। कारण यस्तो रहेछः सबैले आँखा चिम्लेर प्रार्थना गर्ने बेला मण्डलीका केही जवानजवानीहरूले आँखा जुधाउँदोरहेछ। अनि दाइले आँखा खोलेरै प्रार्थना गर्न थालेदेखि सबैको आँखा बन्द! योचाहिँ सैद्धान्तिक नभएर परिस्थितिजन्य माग हो, यो पनि आफ्नो ठाउँमा जायज नै होला।
प्रश्न
अब निष्कर्षमा के भन्न चाहनुहुन्छ?
उत्तर
प्रार्थना गर्ने बेला आँखा बन्द गर्नु एउटा आदरणीय चलन हो। ध्यान एकाग्र गर्न आँखा बन्द गरिन्छ। यो यस्तो सङ्केत हो कि हामी आत्मिक आँखाबाट परमेश्वरलाई ठम्याउँदछौँ र हाम्रो आँखाले हेर्नु/देख्नुपर्ने परमेश्वरको कुनै मूर्ति वा प्रतिरूप पनि छैन। अदृश्य परमेश्वरको उपस्थितिलाई थाहा गर्ने माध्यमहरूमध्ये एउटाचाहिँ आँखा बन्द गर्नु पनि हो।
ख्रीष्टियानहरूले समूहमा प्रार्थना गर्दा हल्ला त हुन्छ, तर त्यतिखेर हामी बाधाको महसुस गर्दैनौँ, तर हामी प्राय प्रार्थना गर्ने बेला शान्त हुन्छौँ। शान्त वातावरण रुचाउँछौँ। त्यो बेला प्रार्थना गर्दा हाम्रा आँखाहरू त्यतिकै पनि बन्द हुन्छन्। कसैलाई आँखा बन्द गर्नुस् भनिरहनु पर्दैन। यो परमेश्वरसँग बातचीत गर्ने बेला हो। यत्तिखेर हाम्रो छेउमा भएका साथीहरूलाई पनि हेर्दैनौँ किनकि यो गम्भीर समय हो। यसकारण ध्यानमग्न भएर प्रार्थना गर्ने बेला आँखा बन्द गर्दछौँ।