चाबहिल, मित्रपार्कको पशुपति क्याम्पसमा मेरो एम ए को अध्ययन चल्दै गर्दा, एक जना आफूभन्दा उमेरले पाको बडो फरासिलो साथीसँग मित्रता जम्यो! हाम्रो एकअर्काबीच सोधखोज हुँदा मैले आफू धर्मगुरु भएको परिचय दिएँ। तामाङको छोरो सायद बौद्धमार्गी गुरु होलान् भन्ने हिसाबले बुझेछन् साथीले, तर ख्रीष्टियान धर्मगुरु भनेपछि अलि बढी नै सोधखोज भयो। येशूको विषयमा बुझाउने मौका त्यतिकै पनि जुर्यो। मित्रलाई येशू ख्रीष्ट र मेरै विषयमा मैले जति बताएँ, निकै मन परेछन्। अन्तमा, साथीले सोधे, ''मेरो आफ्नो पुरानो धर्मसँगसँगै तपाईंको धर्म पनि मान्न चाहन्छु, यसो गर्न मिल्छ कि मिल्दैन?'' एक छिन त म सोचमग्न भएँ।
अनि मैले भनेँ, ''येशूलाई मानेपछि तपाईंलाई अरूको खाँचो नै पर्दैन!'' कुरो यहीँनेर आएर मिलेन।
अहिले नेपालमा चलेको सच्चाइ नाम गरेको एउटा समूहले मानिसको यही कमजोरी र गलत छनोटलाई स्थान दिएको कारण त्यहाँ मानिसहरू ओइरिएका हुन्। एउटै व्यक्ति चर्चतिर पनि धाउने र अर्को धर्मतिर पनि भ्याउनेजस्ता कुरा बहुईश्वरवाद वा सर्वधर्मवादभित्र सजिलै अट्न सक्छ, तर ख्रीष्टियान विश्वासमा यो सम्भव छैन।
येशूको स्वतन्त्रताको जुवा नबोक्दासम्म एउटै व्यक्ति, जो कोहीले पनि एकैसाथ एकभन्दा बढी ईश्वर/धर्मलाई मान्न सम्भव छ। यहाँसम्म पनि सम्भव छ कि येशूलाई पूर्ण रूपमा जीवन नसुम्पिएका नामका मात्र ख्रीष्टियानहरूले पनि अरू ईश्वर र धर्म मानिरहेका हुँदछन्। येशूमा ध्यान केन्द्रित नहुँदा तिनीहरूको मन जतिखेर पनि अन्यत्र भाँडिनसक्छ। कहिले चर्च, त कहिलेचाहिँ धामी–झाँक्रीकहाँ, यताउति जता पनि जान आफू बाध्य भएको भेट्टाउँछन् र यस्तो गतिविधिलाई उसले रोक्नै सक्दैनन्। येशूको एउटा सच्चा चेलाले येशूबाहेक अरू धर्महरूले परिभाषित गरेको ईश्वरलाई पुज्न नसक्ने तथ्यलाई बुँदागत हिसाबले केलाउनेछौः
सबैभन्दा पहिलो कुरो, ख्रीष्टियान जीवनको सुरुआत येशूलाई ग्रहण गरेपछि मात्र हुँदछ र उसले कसैको करकापविना यसरी घोषणा गर्छ, ''येशू, म पापी हुँ। मेरो पापको खातिर तपाईं मारिनुभयो, गाडिनुभयो र तेस्रो दिन मृतकबाट बौरी उठ्नुभयो। आजको दिन म तपाईंलाई मेरो व्यक्तिगत, एक मात्र मुक्तिदाता भनेर हृदयदेखि ओँठबाट स्वीकार गर्दछु। मेरो पाप क्षमा गर्नुहोस्!'' यसरी स्वीकार गरिसकेपछि मात्र ऊ येशूको चेला ठहरिन्छ। स्वीकार/ग्रहण गर्ने व्यक्तिले समझ चलाएर हृदयदेखि ओँठबाट येशू मात्र मुक्तिदाता हुनुहुन्छ भनेर घोषणा गर्दछ। यसरी स्वीकार गरेको कारण उसले पाप क्षमा पाउँदछ किनकि रोमी १०,९मा लेखिएको छ, ''तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।'' एक चोटि येशूलाई प्रभुको रूपमा स्वीकार गरिसकेपछि अर्को ईश्वरको कल्पना गर्न सकिँदैन र आवश्यकता पनि पर्दैन।
दोस्रो कारण, येशूलाई ग्रहण गरिसकेपछि बाँकी रहेको प्रक्रिया हो, बप्तिस्मा! बप्तिस्माको माध्यमबाट हृदयदेखि मुखबाट अघि नै स्वीकार गरिसकेको येशूलाई झन् पक्का गरी सार्वजनिक रूपमा घोषणा गरिन्छ, जसमा आफ्नो पापको खातिर येशू मारिनुभएको, गाडिनुभएको र बौरी उठ्नुभएको घोषणा गरिन्छ। पापसँग सदाको लागि सम्बन्ध टुटेको जानकारी मण्डली र संसारलाई दिइन्छ। यसरी बप्तिस्माद्वारा येशूबाहेक अर्को ईश्वर नभएको दाबी गरिन्छ भने अर्को ईश्वरको चाहना गर्ने ठाउँ नै रहँदैन।
तेस्रो कारण, मानव जातिको सीमालाई येशूले यसरी बुझाउनुभयो, ''कसैले दुइ मालिकको सेवा गर्न सक्दैन। किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ'' (मत्ती ६,२४)। येशूले धनको प्रसङ्गमा यो शिक्षा दिनुभएको हो, तर यही सूत्र एउटै व्यक्तिले धेरै ईश्वरलाई मान्न नसकिने प्रसङ्गमा पनि लागू गर्न सकिन्छ। जसरी सांसारिक नोकरले दुइटा मालिकको सेवा खुसीसाथ गर्न सक्दैन, त्यसरी नै आत्मिक जगतमा पनि एउटा मानिसले एकभन्दा बढी ईश्वरको सेवा पूर्ण हृदय पोखाएर गर्न सक्दैन। दुवै मालिकको स्वभाव एउटै हुँदैन। उनीहरूको अलग–अलग माग र मापदण्डहरू हुँदछन्। त्यो नोकरको हृदयमा दुइटा मालिकको लागि ठाउँ पुग्दैन। दुवैको इच्छा पूरा गर्दा–गर्दा ऊ थाक्नेछ। यसकारण येशूलाई विश्वास गर्नु भनेको एक मात्र साँचो मालिकको आवश्यकतालाई स्वीकार गर्नु र सेवा गर्नु हो। अर्को मालिकको सेवा गर्ने बाध्यताबाट छुटकारा पाउनु हो।
चौथो कारण, एउटा नोकरले दुइटा मालिकको सेवा गर्न नसक्ने तथ्यलाई नै निरन्तरता दिँदै हामीले मानिसको हृदय बारे चर्चा गर्नु आवश्यक छ। मानिसको हृदयमा धेरै कुरो अटाउन सकिँदैन। मानिसको हृदय दुइटा सीम लाग्ने मोबाइल फोनजस्तो होइन। हृदय एउटै मात्र छ। त्यसमा कि परमेश्वर कि त उहाँको विरोधीलाई मात्र अटाउन सकिन्छ। त्यसमाथि मानिसको हृदय छली छ भनेर यूहन्ना ४ अध्यायको अन्तमा लेखिएको छ। हृदयमा साँचो परमेश्वरलाई बसाल्ने एउटा ख्रीष्टियानले अर्को ईश्वरको चाहना गर्न सक्दैन, तर हृदयमा साँचो परमेश्वरलाई बसालिएको छैन भने उसको हृदय ठेगानामा हुँदैन, जसकारण ऊ भौँतारिएर हिँड्छ र हृदयमा भएको ईश्वरको खाँचोलाई गलत तरिकाबाट पूरा गर्छ।
पाँचौँ कारण यो हो कि परमेश्वर एक मात्र हुनुहुन्छ, अर्थात् अर्को ईश्वर छँदैछैन, किनकि लेखिएको छ, ''हे परमप्रभु परमेश्वर, तपाईं साँच्चै महान् हुनुहुन्छ। तपाईंजस्तै अरू कसैको विषयमा हामीले कहिल्यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्वर छैन'' (२शमूएल ७,२१)। यसरी दाबी गरिएका दर्जनौँ खण्डहरू बाइबलमा पाइन्छ। साँचो परमेश्वर आत्मामा हुनुहुन्छ। मानिस शरीरमा छन्। शरीर र आत्माबीच तालमेल हुन नसक्ने भएको कारण आत्मामा हुनुभएका परमेश्वरलाई मानिसहरूमाझ चिनाउनको लागि उहाँ आफै मानिस बनेर संसारमा आउनुभयो, जसलाई हामी येशू भनेर चिन्दछौँ। उहाँ संसारमा आउनुको मूल उद्देश्य नै शरीरमा भएका मानिसहरूलाई आत्मामा हुनुभएको एक मात्र परमेश्वरकहाँ डोर्याउनु हो। परमेश्वरकहाँ डोर्याइएपछि हामी उहाँलाई आत्मा र सत्यतामा पुज्ने सच्चा आराधक बन्दछौँ (यूहन्ना ४,२३–२४)। सच्चा आराधक भएर सच्चा परमेश्वरको आराधना गर्नु भनेको एक जना मात्र ईश्वरलाई ठम्याएर पुज्नु हो र पुज्नलायकको अर्को ईश्वर नभएको दाबी गर्नु हो।
छैटौँ कारण, यस्तो लेखिएको छ, 'परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो' (उत्पत्ति १,२७)। आफ्नै स्वरूपमा सृजनुको अर्थ, मानिसमार्फत उहाँले आफ्नो महिमित स्वरूप चारैतिर फैलाउन चाहनुहुन्थ्यो। यसको अर्थ मानव जाति परमेश्वर नभै नहुने गरी सृजिएको प्राणी हो। पापको कारण मानिस उहाँको महिमित उपस्थितिदेखि खेदिए पनि फेरि पुत्र येशूद्वारा उहाँले हामीलाई खोजेर भेट्टाउनुभयो र बसाल्नुभयो। आज हामी उहाँका हातका सीपहरू भएका छौँ (एफिसी २,१०)। यसकारण हामी उहाँलाई मात्र आदर दिँदछौँ।
सातौँ कारण, 'म हुँ जो म हुँ' भनेर प्रस्थान ३,१४मा परमेश्वरले दाबी गर्नुभयो। यस दाबीलाई यूहन्नाको सुसमाचारमा येशूले ७ पल्ट 'म नै हुँ' भनेर अझ स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,
– म नै बाटो हुँ (यूहन्ना १४,६)। यसको अर्थ परमेश्वरकहाँ पुर्याउने अर्को बाटो छँदै छैन। येशू नाम गरेको बाटोलाई स्वीकार गरिसकेपछि अर्को बाटोको खाँचो पर्दैन।
– म नै सत्य हुँ (यूहन्ना १४,६)। यो सत्यताले हामीलाई स्वतन्त्रता दिन्छ।
– म नै जीवन हुँ (यूहन्ना १४,६)। हामीसँग भएको जीवन उहाँबाटै आएको हो।
– म नै पुनरुत्थान हुँ (यूहन्ना ११,२५)। मृत्युले धेरैलाई जाँच्यो। येशूलाई पनि जाँच्यो। त्यो जाँचमा उहाँबाहेक अरू कोही पनि पास भएनन्। (एक मात्र परमेश्वरलाई पुज्नुपर्ने कारण यी हुन् कि उहाँले मृत्यु र त्यसको शक्तिलाई खारेज गर्नुभयो।)
– म नै ज्योति हुँ (यूहन्ना ८,१२)। येशू संसारको ज्योति हुनुहुन्छ। पापको अन्धकारलाई हटाउने उहाँ मात्र हुनुहुन्छ।
– म नै जीवनको रोटी हुँ (यूहन्ना ६,३५)। हामी येशू नाम गरेको रोटी खाएर जीवनको भोक मेटाउँछौँ।
– म नै जीवनको पानी हुँ (यूहन्ना ४,१४)। हामी येशू नाम गरेको पानी पिएर जीवनको प्यास मेटाउँछौँ। यी दाबीहरूले देखाउँछन् कि येशूबाहेक अरू ईश्वरलाई पुज्नुपर्ने कारण नै छैनन्।
आठौँ र बडो महत्त्वपूर्ण बुँदा, ख्रीष्टियानहरूले पुज्ने परमेश्वर डाही हुनुहुन्छ। यस्तो लेखिएको छ, ''तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू, किनकि परमप्रभु, जसको नाउँ “डाही” हो, डाह गर्ने परमेश्वर नै हुनुहुन्छ'' (प्रस्थान ३४,१४)। 'डाह' शब्द उति मीठो सुनिँदैन, तर यसरी बुझौँ कि आफ्नो स्वरूप धारण गर्ने मानिसहरूले आफूलाई मात्र पुजेको परमेश्वर चाहनुहुन्छ किनकि त्यसैको लागि सृजनुभएको हो। उदाहरणको लागि, आफ्नो साथमा भएको सक्कली बुबालाई बेवास्ता गरेर, जो बाउ नै होइन, उसलाई 'बुबा' भनेर आदर दिएको खण्डमा सक्कली बाउलाई पक्कै चित्त दुख्छ। हाम्रो परमेश्वर मानिसजस्तो चित्त दुखाउने नभएर आफ्नोपन जनाउनको लागि उहाँ डाही देखिनुहुन्छ। वास्तविक परमेश्वर उहाँ मात्र हुनुहुन्छ र उहाँ मात्र पुजिनुपर्दछ। जसरी बाउ एउटै मात्र हुँदछ, त्यसरी नै मानिसले पुज्नुपर्ने ईश्वर पनि एउटै मात्र हुनुहुन्छ, जसलाई हामी येशूद्वारा चिन्दछौँ। धेरै ईश्वरहरू पुज्नको लागि हामी सृजिएका होइनौँ।
निष्कर्ष
वास्तवमा कुनै व्यक्तिले येशूलाई विश्वास गर्नु भनेको उसले संसारमा छँदा र जिन्दगीमा गरिने निर्णयहरूमध्ये सबैभन्दा ठूलो निर्णय हो। यो निर्णयले उसलाई आफ्नो जीवनलाई हेर्ने एउटा निश्चित, निर्दिष्ट र सही दृष्टिकोण दिँदछ। संसारमा गरिने यस निर्णयको असर स्वर्गीय राज्यसम्म पर्दछ। यसकारण यहाँ कसैले परमेश्वरलाई विश्वास गरेको खण्डमा स्वर्गीय स्थानमा समेत उत्सव मनाइन्छ (लूका १५ अध्याय)।
वास्तविकता यो हो कि जसरी सबैभन्दा उत्तम कुरो फेला पारेपछि कमसल थोकको खाँचो पर्दैन, त्यसरी नै एउटा साँचो ख्रीष्टियानले साँचो परमेश्वरलाई विश्वास गरेको छ भने उसलाई अरू ईश्वरको खाँचो नै पर्दैन। एउटै व्यक्तिले धेरै ईश्वरलाई पुज्दा मानिसको नजरमा उसले सबै ईश्वर र धर्मप्रति सद्भाव देखाएको अर्थ लाग्ला, तर बाइबलीय दृष्टिकोणबाट भन्नुपर्दा, त्योचाहिँ एक मात्र साँचो परमेश्वरलाई नचिन्ने मानिसले गर्ने व्यवहार हो। येशूले भन्दै हुनुहुन्छ, ''हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ। जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु'' (प्रकाश ३,२०–२१)।