क्षमा नहुने पापः अहङ्कार!

हामीले क्षमा नहुने पापको विषयमा बेला बखत चर्चा गर्ने गरेका छौँ। क्षमा नै नहुने किसिमको पाप छ त? छ! त्योचाहिँ अङ्कारको पाप हो। क्षमा पाउनको लागि परमेश्वरकहाँ जानु पर्ने हुन्छ, तर अहङ्कारी मानिस न परमेश्वरकहाँ आफै जाँदछ, नत उसलाई उहाँले आफूकहाँ आउन दिनु नै हुन्छ! यस विषयमा यस्तो लेखिएको छ, ''परमप्रभु अति उच्‍चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्‍टि गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्‍नुहुन्‍छ'' (भजन १३८,६)। यहाँ चलाइएको 'अहङ्कारी' शब्दलाई हिब्रू शब्दमा 'आफैलाई उचाल्ने व्यक्ति' को रूपमा अर्थ लगाइएको छ। आफैलाई उचाल्ने व्यक्तिलाई परमेश्वरले टाढैबाट चिन्नुहुन्छ। 'चिन्नु'को अर्थ दण्ड दिइनुपर्ने व्यक्तिको रूपमा चिन्नु हो।

अहङ्कार डरलाग्दो पाप हो।  हितोपदेश ६,१७मा परमेश्वरले घृणा गर्ने ७ वटा पापहरू छन्, जसमध्ये पहिलोमा 'अहङ्कारी आँखा' भनिएको छ। अदनमा मानिस पतन हुनुमा अहङ्कारले ठूलो भूमिका खेलेको देखिन्छ। शैतानको कुरो सुनेपछि आदम र हव्वाभित्र परमेश्वरजस्तै बन्ने महत्त्वाकाङ्क्षा जाग्यो। उहाँविना पनि बाँच्न सकिन्छ भन्ने अहङ्कारले भरियो। अहङ्कारको कारण पतन भएपछि तिनीहरू अदनबाट खेदिए।  अहङ्कारीहरू खेदिन्छन् किनकि तिनीहरू उहाँको नजरमा टिक्न सक्दैनन्।

क्षमा नहुने अर्को पाप पनि छ, त्यो हो, पवित्र आत्माको विरोधमा बोल्नु। यो पनि अहङ्कारसँग सम्बन्धित छ। छोटकरीमा भन्नुपर्दा, मत्ती १२ अध्यायअनुसार, पवित्र आत्माको विरोध गर्नु भनेको येशूलाई जानीबुझी शैतानीकरण गर्नु हो। यो पाप येशूका पालाका केही फरिसी र शास्त्रीहरूले गरेका थिए।

निष्कर्षमा भन्नुपर्दा, परमेश्वरबाट क्षमा नहुने त्यस्तो कुनै पाप छैन, तर शर्त यो हो कि क्षमाको लागि उहाँकहाँ जानुपर्दछ। उहाँकहाँ पुग्नको लागि दिइएको अनुग्रहलाई स्वीकार गर्नुपर्दछ।  एउटा अहङ्कारीले एकातिर अनुग्रहलाई जानीजानी इन्कार गर्छ भने अर्कोतिर परमेश्वरले पनि उसलाई आफूकहाँ आउन दिनुहुन्न। यसकारण अहङ्कारको पापले मानिसलाई उहाँकहाँ पुग्नबाट वञ्चित गर्छ। नम्र व्यक्तिले पापको छुटकारा पाउनको लागि आफूलाई मुक्तिदाताको खाँचो छ भनेर स्वीकार गर्दछ भने अहङ्कारीले आफूलाई परमेश्वरको ठाउँमा राख्छ।

परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ,

तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ...

प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ (याकूब ४:६,१०)

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.