जन्मको आधारमा एसाव अब्राहामका जेठो नाति हुन्। एसाव शिकारी हुन्, भने याकूब घरमा बस्ने घर कुरुवा हुन्। उत्पत्ति २५ अध्यायमा उल्लेख गरिएअनुसार, एक दिन यस्तो पनि भयोः एसावको हातमा शिकार परेन। भोकले लखतरान अवस्थामा घर फर्कँदा भाइले सुरुवा पकाउँदै गरेको देखेपछि एसावले माग्छन्, अरू बेला सोझो देखिने भाइले सुरुवा/दाल दिने त भए, तर त्यसको बदला दाइसँग ज्येष्ठाधिकार मागे! कहाँको एक कचौरा दाल, कहाँको ज्येष्ठ अधिकार! त्यही बेला उनले भाइलाई हपार्नुपर्थ्यो, ''तैंले यस्तो के मागेको? भो तेरो दाल खान्नँ'' भन्न सक्नुपर्थ्यो, तर उल्टै एसावले के भने, उत्पत्ति २५,३२–३५ पढौँ,
“म त मर्नै आँटें। अब मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?”
याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्नुहोस्।” तब उनले शपथ खाए, र आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे।
34त्यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए।
नेपालीमा भनाइ छ, 'इज्जत फाल्नु, गुन्द्रुकको झोलमा! फिर्ता गर्न नमिल्ने गरी शपथ खाएर एक टुक्रा रोटी र एक कचौरा दालको झोलमा एसावले ज्येष्ठअधिकारलाई बेचे! ज्येष्ठअधिकार यति ठूलो अधिकार हो, जसको जगेर्ना गर्नुपर्दथ्यो – यसको लागि प्रस्थान १३ अध्यायसँगै व्यवस्थाका अन्य पुस्तकहरू पढ्नुस्।
एसाव यस्तो चरित्र भएका मानिस हुन्, जसलाई परमेश्वरले आशिष् दिनुभए पनि बेचेर खाने चरित्र थियो। यस्तो मानिसलाई परमेश्वरले आशिष् दिनुहुन्न र मन पनि पराउनुहुन्न। यसकारण मलाकी १,२–३अनुसार, एसावलाई परमेश्वरले नै 'हेलाँ' गर्नुभयो। हिब्रू १२,१६मा लेखिएको छ, ''कोही पनि दुराचारी वा एसावजस्तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको जन्मसिद्ध अधिकार बेचिदियो।''
एसावको सम्बन्धमा प्रसङ्ग मिलाएर पढिएन भने, परमेश्वर स्वयमले उनलाई पाखा लाउनुभएको र याकूबलाई चाहिँ काखी च्याप्नुभएको अर्थ लाउने अवस्था सृजना हुन्छ। परमेश्वरको तर्फबाट कसैमाथि पक्षपात हुँदैन। रोमी ९,१२–१३मा एसावलाई दृष्टान्त बनाएर पावलले यहूदीहरूको अवस्थालाई बुझाउँदैछन्। सारा संसारको मुक्तिको लागि परमेश्वरले यहूदीहरूलाई प्रतिज्ञा दिनुभयो। तिनीहरू पनि परमेश्वरका सन्तान त हुन्, तर तिनीहरूका चालढाल एसावको फरक भएन। तिनीहरूले ज्येष्ठअधिकार पाए, तर एसावले जस्तै बेचेर खाए, अर्थात् येशूलाई विश्वास गर्ने मामिलामा तिनीहरूले ज्येष्ठ अधिकारलाई उपयोग गर्न सकेनन्। यहूदीहरूको यो अवस्थालाई येशूले स्वयमले भन्नुभयो, ''पहिलो पछि हुनेछन् र पछिल्लोचाहिँ पहिलो हुनेछन्।'' यसकारण तिनीहरूले आफूलाई प्रतिज्ञाका सन्तानमा आफूलाई ज्येष्ठ भनेर नाक थाप्नुमा कुनै आशिष् थिएन।
अर्कोतिर याकूबलाई हेर्नुस्। आफू कान्छो भएको बेफाइदा उनलाई थाहा थियो। आशिष् पाउनको लागि उनी जहिले पनि लालयित थिए। यहाँसम्म कि आशिष् पाउनको लागि परमेश्वरसँग पनि लडे (उत्पत्ति २७ अध्याय)। ढाँटेर पनि बुबाबाट दाइको भागमा पर्ने आशिष् लिएरै छाडे। व्यवहारको हिसाबले याकूब पनि राम्रो मानिस होइनन् – उनको नामको अर्थ 'खुट्टा तान्ने' हो – पछि मात्र 'इस्राएल' कहलिए जसकारण एसावको तुलनामा याकूबलाई परमेश्वरले छान्नु स्वाभाविक हो।
१३ पदलाई लिएर धेरैले प्रश्न सोध्ने गर्दछन्, 'के परमेश्वरले एसावलाई 'तुच्छ' नै सम्झनुपर्थ्यो र?' परमेश्वरले मानिसलाई घृणा गर्नुहुन्छ भनेर अर्थ लाउने ठाउँ देखिन्छ। यसको अनुवादमा अलि अस्पष्ट छ। यहाँ 'तुच्छ' को साटो ''याकूबलाई भन्दा कम प्रेम गर्नुभयो'' भन्नुपर्ने हुन्छ। दुई जनामा एक जनालाई छान्नु परेमा राम्रोचाहिँलाई चुन्ने छान्ने सन्दर्भमा ग्रीक शब्द μισέω चलाइन्छ। यहाँ पनि तुलनात्मक हिसाबले याकूबलाई बढी प्रेम गरियो भने एसावलाई चाहिँ कम प्रेम गरियो वा कम रुचाइयो भन्नुपर्ने हुन्छ। सारा संसारलाई उद्धार गर्नको लागि परमेश्वरले एसावलाई भन्दा याकूबलाई बढी रुचाउनुभयो।