यो प्रश्न मलाई एक जनाले लगभग दुई वर्षअघि सोधेको थियो। उपवास र यौनलाई सँगै जोडेको मलाई शुरूमा मन परेन। ‘यसले के भन्दोरहेछ’ भनेर जाँच्नलाई उटपट्याङ गरेको जस्तो पनि लाग्यो। उति वास्ता गरिनँ। पछिल्ला दिनहरूमा धेरैले सोधेको कारण यस प्रश्नको दम जाँचे। धेरैजसो धर्महरूमा उपवास र यौन बारे बहस भएको भेटियो, तर ख्रीष्टियानहरूको अवधारणा निकै कम पाइयो, जसकारण बाइबलकै सेरोफेरोमा रहेर म आफ्नो विचारहरू राख्न गइरहेको छु।
मण्डलीहरूको अवधारणा
कतिपय धर्महरूले उपवास बस्ने धार्मिक अवसरहरूमा कुनै पनि यौन गतिविधिमा सामेल हुनुलाई धर्मको खिलाफ मानेका छन्। धेरैले यौन भन्नेबित्तिकै अपवित्र कार्य सम्झन्छन्। बाइबलले उपवासको बेला पतिपत्नीले स्वाभाविक रूपमा यौन सम्बन्ध राख्न मिल्ने वा नमिल्ने विषयमा केही नभने पनि कतिपय ख्रीष्टियानहरूले यौन सम्बन्ध बारे धेरै नाटीकुटी गरेको पाइयो। कति यस्ता मण्डलीहरू पनि छन्, जहाँ प्रभुभोजको लागि तयार हुनलाई एक हप्ताअघि सूचना दिइन्छ। सूचना दिनुको उद्देश्य अर्को हप्ता प्रभुभोज परेको दिन उपवास बसेर मण्डलीमा आऊन् र अझ गाँठी कुरो, अगिल्लो रात पतिपत्नी यौन सम्बन्धबाट अलग रहून् भन्ने हो।
मण्डली इतिहासलाई हेर्ने हो भने, दोस्रो शताब्दीको अन्ततिर मण्डलीमा यौनलाई इन्कार गर्नु र घरिघरि बसिने उपवासलाई अति नै पवित्र कार्यको रूपमा लिइन्थे।/1/ शरीरलाई ताडना दिनु भनेको धार्मिक ख्रीष्टियान जीवनको चिन्ह थियो। रोमन क्याथोलिक तथा केही पुरातनवादी मण्डलीहरूले ख्रीष्टको मृत्युको सम्झना गर्नको लागि ४० दिन बस्ने उपवासको बेला, अर्थात् लेन्टमा पतिपत्नीबीच यौन सम्बन्ध बार्दछन्। साथमा मासुजन्य पदार्थहरू खाँदैनन्।
बाइबलले के भन्छ?
श्रीमती महिनावारी भएको बेला यौन सम्बन्ध निषेध गरिएको प्रसङ्गबाहेक एक ठाउँमा मात्र परमेश्वरसँग भेट्न जाँदा यौन सम्बन्ध बार्नको लागि आज्ञा दिइएको पाइन्छ, विशेष गरी मोशाको पालामा परमेश्वरलाई सीनै पर्वतमा भेट्नको लागि इस्राएलीहरूले पालन गर्नुपर्ने शुद्धताको अनुशासनहरूमध्ये एउटाचाहिँ यौनक्रियाबाट अलग हुनु थियो (प्रस्थान १९,१४)। यो पदले प्रभुभोजको हप्ता र उपवासको बेला यौन सम्बन्ध कायम गर्नु हुँदैन भन्ने सिद्धान्त जन्माउन सक्दैन।
पतिपत्नीबीचको यौन सम्बन्धलाई बाइबलले कहिल्यै पनि निषेध गर्दैन। यौन आफैमा पनि राम्रो कुरो हो जसरी आगो अँगेनुमा रहुञ्जेल राम्रो हो, जसले तातो पार्छ, खाना पाक्छ, तर त्यसलाई अँगेनु बाहिर लगेको खण्डमा धुवाँ निकाल्नेदेखि घरै जलाउनेसम्मको विनाश पनि ल्याउन सक्छ – यौन लोग्नेस्वास्नीको सीमाभन्दा बाहिर गयो भने घरलाई खरानी पार्छ। उपवास बस्ने बेला पति पत्नीबीच यौन सम्बन्ध राख्न मिल्छ वा मिल्दैन भन्ने कुरो बाइबलमा कतै पनि चर्चा गरिएको छैन। यस्तो अवस्थामा, १कोरिन्थी ७:५लाई आधार बनाएर मनन गर्नुपर्ने देखिन्छ, लेखिएको छ, "पति पत्नीले आफ्नो पारस्परिक संसर्गदेखि एक–अर्कालाई इन्कार नगर। इन्कार गर्यौ भने पनि आपसमा सल्लाह गरेर केही समयको निम्ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।"
यो खण्डले देखाएको तथ्य यो हो कि यौन सम्बन्ध शारीरिक कुरा भए पनि यसमा आत्मिक सम्बन्ध पनि जोडिएको छ। यहाँ यौन सम्बन्धलाई प्रार्थनामा बाधा दिने थोकको रूपमा लिइएको छैन, तर आपसी सहमतिमा दुवै जना यौन गतिविधिबाट अलग रहन्छन् भने अलग बस्दा बिताइने समय प्रार्थनाको लागि बिताएको हुनुपर्दछ र यसबाट परमेश्वरको महिमा नै हुँदछ। अर्कोतिर, मानौँ, पत्नी उपवास बसेको बेला पतिले यौनको चाहना राख्दा, यौनलाई अपवित्र सम्झेर ''म उपवास बसेको छु, मिल्दैन'' भन्ने ठाउँ छैन किनकि पतिपत्नीबीच छेकबार हुँदैन, तर कुरो यति हो कि यसमा सहमति हुनुपर्छ, स्वतन्त्रताको कदर हुनुपर्छ।
के उपवासको बेला यौन सम्बन्ध चाहिन्छ र?
हामीले शरीर र आत्माबीच हुने द्वन्दलाई पनि बिर्सनुहुँदैन। शरीरलाई वशमा राख्नको लागि उपवास बस्नु बाइबलीय हो। उपवास आत्मिक गतविधि हो र आत्मिक उत्थानको लागि बसिन्छ भने शारीरिक गतिविधिलाई कटौती गर्नुपर्दछ। उपवासको अर्थ नियमित गतिविधिदेखि आफूलाई अलग गराउनु हो। नम्र पार्नु हो। हृदय परमेश्वरतिर बढी केन्द्रित गर्नु हो। उपवास बस्ने बेला नियमित शारीरिक उत्तेजनालाई स्थान दिइँदैन, यहाँसम्म कि खानासमेत त्यागिन्छ। खाना त्यागेपछि क्यालोरी घट्छ जसकारण यौन सम्पर्क प्राथमिकतामा पर्ने सम्भावना देखिँदैन। आत्मिक महत्त्व राखेर उपवास बसिन्छ भने यौन सम्पर्क चाहना गरिने कुरो होइन किनकि उपवासले आफूलाई सांसारिक थोकप्रति नभएर परमेश्वरतिर झुकाव बढाउँछ। शरीरलाई आवश्यक पर्ने खाना त त्यागिन्छ भने उपवासको समयमा यौन चाहना जगाउनु बुद्धिमानी कार्य होइन। त्यसो त उपवासको बेला बल घट्ने हुँदा मानिसको चासो यौन सम्पर्कभन्दा पनि खानाप्रति बढी हुन्छ।
यौन सम्पर्क एउटा भावनात्मक र उत्तेजनात्मक विषय पनि हो। उपवासको बेला यौन उत्तेजनामा पुग्नु कतिको अनुकूल र उपयोगी छ भन्ने कुरो बुझ्नु राम्रो हुन्छ। यौनले आवेगलाई परिवर्तन गर्ने हुँदा उपवासमा यो उपयोगी नहुन सक्छ। यसमा ध्यान र बल धेरै खर्च हुन्छ। यौन सम्पर्कपछि विशेष गरी लोग्ने मानिस शिथिल हुन्छ। निद्रा लाग्छ। उपवासको बेला यस किसिमको शिथिलता स्वागत गरिँदैन। अनि उपवास बस्दा नुहाएर बस्ने येशूको आज्ञा (मत्ती ६:१७–१८) लाई अक्षरश: पालन गर्ने हो भने यौन सम्पर्कले लोग्नेको शरीरबाट स्खलन हुने वीर्य र दुवैको पसिनाले अशुद्ध नपारे पनि सफा गर्नुपर्ने बनाउँछ। प्रार्थना र उपवासमा समय लगाउने निधो गरिन्छ भने यौन सम्बन्ध राख्न पाइने वा नपाइने भन्ने प्रश्न सोध्नु नै गलत हो जस्तो लाग्छ।
निष्कर्ष
उपवासमा खाना त्याग्नु राम्रो मानिन्छ भने यौन सम्बन्ध त्याग्नु झन् राम्रो कुरा हो। परमेश्वरतिर केन्द्रित गर्नको लागि यौनले बाधा दिन्छ त नभनौँ, तर यसले साथ दिन्छ पनि भन्न मिल्दैन। बाइबलले भन्दछ, सबै कुराको समय छ। उपवास यौन सम्बन्ध राख्ने समय होइन, बरु रोक्ने समय हो।
उपवासको बेला प्राय बल खर्च हुने कुनै पनि शारीरिक कसरतसमेत गरिँदैन भने धेरै क्यालोरी खर्च हुने यौनमा किन बल फाल्ने? खाना टन्न खाएर उपवास बसेको हो भने मेरो भन्नु केही छैन, तर नखाईकन बस्ने हुँदा यौन चाहना जाग्दैन। साथै आत्मिक अभ्यास गर्ने बेला यौन अभ्यास मनमा आउन दिनु उति उपयुक्त देखिँदैन। यौनमा संयम नअपनाइँदा उपवासमा एकाग्रता भाँड्न सक्छ। एउटा अपवाद यो हुनसक्छ कि उपवास बस्दा कसैको शारीरिक स्फुर्ति बढ्छ र उसले यौन इच्छा प्राप्त गर्छ भने यो अपवाद हो, सबैलाई त्यस्तो हुँदैन। उपवासमा खाना त्याग्नुका अर्थहरूमध्ये एउटाचाहिँ, म खानाबाट होइन, तपाईंद्वारा जिउँछु भनेर घोषणा गर्नु हो भने यौनविनाको उपवास अझ अर्थपूर्ण हुने देखिन्छ।
/1/ Richard M Price in "Body: Christian Perspectives" edited by William M. Johnston & Christopher Kleinhenz, Encyclopedia of Monasticism, vol. 1-2 (London: Routledge, 2015), 167: 166-168.