के भूतात्माहरू मृतकहरूका आत्मा नै हुन् त? निश्चय नै होइनन्, तर हामीले सुन्दै आएको र हामीलाई सुनाउँदै आएको भ्रम यो हो कि अगति परेर मरेका मानिसहरूको आत्माहरू स्वर्ग जान पाउँदैनन् र स्वर्ग जान नपाएपछि पृथ्वीमा बरालिरहन्छन्, अनि तिनीहरूले जीवित मानिसहरूलाई दुःख दिन्छन्। अगति परेको भन्नाले कालगति नआईकन मरेका मानिसहरू भन्ने बुझिन्छ, जस्तैः विभिन्न दुर्घटनामा परेर मरेकारबेपत्ता भएकारपारिएका, हत्या गरिएका, आत्महत्या गर्नेहरूलाई अगति परेर मर्नेहरू भनेर चिनिन्छ - हामी कालगतिमा विश्वास गर्दैनौँ। सानो बच्चा हुँदादेखि नै दिमागमा भूतप्रेतसम्बन्धी यस्ता भ्रमहरू छरिदिएको कारण अझै पनि मानिसलाई लाग्दछ कि भूतात्माहरू भनेका सही तरिकाले अन्त्येष्टि नगरिएका र कालगति नपरीकन मरेका मानिसहरूका भड्किएका आत्माहरू हुन्। हामीलाई पनि यो सही लाग्छ किनभने मानिसले जे विश्वास गर्छ, आखिर त्यो गलत नै भए पनि सही लाग्नथाल्छ र भूतात्मा बारे नेपाली समाजमा रहेको अवधारणा यसैको उपज हो।
दुष्टआत्माले गाँजेका बिरामीबाट ख्रीष्टियानहरूले भूतात्माहरूलाई डाँट्दछन्। धेरै पल्ट बिरामीले आफूभित्र कुनै देवीदेवता वा केही वर्षअघि मरेका आफन्त वा कसैको मृतात्मा प्रवेश गरेको बताउने गर्दछन्। ख्रीष्टियानहरूलाई पनि लाग्दा हुन् कि भूतात्मा भनेका मृतकहरूकै आत्मा हुन्। शैतानले नयाँ कुरो ल्याउँदैन, बरु समाजमा चलिरहेको डरमा आधारित मान्यतालाई प्रयोग गरेर उसले फाइदा लिन्छ।
भूतात्माहरू आत्मा नै हुन्। ती देखिँदैनन्। के भूतात्माहरू मृतकहरूका काँचो र भड्किरहेका आत्मा नै हुन् त भन्ने सम्बन्धमा सही तरिकाले जाँच्नको लागि बाइबलले के भन्छ भन्ने विषयमा हामी स्पष्ट हुनुपर्दछ। भूतात्माहरू मृतकका आत्मा हुन् भन्ने कुरो बाइबलले इन्कार गर्छ किनभने मानिस मरेपछि कि स्वर्ग कि त नरकमा जाँदछन्। यस विषयमा बाइबलले भन्दछ,
’’जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ’’ (हिब्रू ९ः२७)।
बाइबलको यो पदबाट सिक्नुपर्ने दुइटा कुराहरूः
पहिलो कुरो, मानिसको निम्ति शारीरिक मृत्यु निश्चित छ, यसलाई टार्न सकिँदैन। यो पार्थिव शरीर हो, संसारमा नै रहन्छ।
दोस्रो कुरो, मानिस मरेपछि उसको आत्मा कहाँ जान्छ भन्ने प्रश्नको उत्तर यहाँ दिइएको छ। संसारबाट बिदा लिएपछि इन्साफको लागि ऊ आफ्नो सृष्टिकर्ता परमेश्वरको न्यायालय, अर्थात् अदालतमा उपस्थित हुनुपर्छ। स्वर्ग कि नरक जाने भन्ने कुराको फैसला उहाँको न्यायासनबाट हुन्छ र फैसलाको आधार यो हो कि येशूलाई विश्वास गरेको छ भने ऊ न्यायालयमा दोषी ठहरिँदैन (रोमी ८,१) किनकि उसले येशूमा धार्मिक जीवन बिताएको छ र विश्वास गरेको छैन भने नरकमा जाँदछ। स्वर्ग र नरकबाहेक मानिसको आत्मा भड्केर हिँड्ने वा अड्केर रहने कुनै ठाउँ नै छैन।
निष्कर्ष
मानिसको आत्मा अनन्त छ। त्यो मर्दैन। आत्मा जाने ठाउँ पनि अनन्त छ, कि अनन्त स्वर्ग कि त अनन्त नरक! ती स्थानहरूबाट मानिसको आत्मा फुत्केर आउन सक्दैन। मानिस मरेपछि स्वर्ग र नरकको दोसाँधमा गएर अड्किन्छ र संसारबाट छोराले - छोरीले होइन - पुरेतलाई लगाएर काजक्रिया गरी दान दिएछ भने पितृ स्वर्गमा जाने र त्यसो गरिएन भने नरकमा पर्ने वा भड्किने डरको खेती पुरेत र धर्मगुरुहरूले गर्दै आएका छन्। यो डरको खेती फैलाएरै तिनीहरूले आफ्नो पेट भर्दै आएका छन्।
इतिहास हेर्ने हो भने, यस्तो अवधारणाले मध्य युगको युरोप गाँजिसकेको थियो। दुःखको कुरो, बाइबल नपढ्ने ख्रीष्टियान धर्मगुरुहरूले पनि मानिस मरेपछि मृतकको आत्मा स्वर्ग र नरकको दोसाँध (पर्गाटरी) मा अड्किने र आफन्तहरूले चर्चमा दानदक्षिणा दिएर स्वर्ग पठाउन सकिने शिक्षा दिए, तर यो बाइबलभन्दा बाहिरको शिक्षा थियो। पोपहरूले मनोमानी गर्ने जमाना थियो। यसलाई हटाउनको लागि मार्टिन लुथरले बाइबलको सही व्याख्या गरे। यसले मण्डलीमा मात्र होइन पश्चिमी मुलुकमा ठूलो सामाजिक क्रान्ति ल्यायो।
नेपाल अझै पनि मध्येयुगमा बाँचिरहेको आभास हुन्छ। अझै पनि अगति परेका आत्माहरूले संसारका जीवित मानिसलाई दुःख दिन्छ भनेर डर हालिदिएको छ। यस्तो सोचमा चाँडै परिवर्तन आउने लक्षण देखिँदैन किनभने यो त हाम्रा छिमेकी मित्रहरूको धर्मशास्त्रमा स्पष्टसँग सिफारिस गरिएको कुरा हो। यसलाई बदल्नु वा परिमार्जन गर्नु भनेको धर्मशास्त्रलाई नै रद्दी बनाउनु हो। आफैलाई घाटा हुने यस्तो काम कसले गरोस् त?
पौराणिक कथाहरूमा उल्लेख गरिएजस्तै अगति परेका मृतकहरूको आत्मा भूतात्मा वा प्रेतात्मा हुने हो भने विश्व युद्धहरूमा मारिएका करोडौँ मानिसहरूको आत्माले यतिखेरसम्म संसार खतम पारिसक्थे। नेपालकै कुरा गर्ने हो भने अन्यायपूर्वक मारिएका र द्वन्दकालमा बेपत्ता पारिएका कैयौँ छन्। ती सबै भूतात्मा बन्ने हो भने नेपाल उहिले नै सखाप भइसक्थ्यो। ख्रीष्टियानहरूले बुझ्नुपर्ने कुरो यो हो कि, भूतात्मा बारे नेपालमा चलेको विचारलाई स्थान दिने हो भने मृत्यु परमेश्वरको अधीनमा छैन भन्नुसरह हो।