जहाँसम्म लाग्छ, नेपालीहरूले येशू ख्रीष्टको पालाको समाजलाई सजिलैसँग बुझ्न सक्दछन् किनकि इस्राएलमा एक समय चलाइएका कतिपय चलनहरू नेपालमा अझै पनि देख्न पाइन्छ, जसमध्ये एउटाचाहिँ जातीय भेदभाव हो। त्यस बेलाका धर्मगुरुहरूले धार्मिक समाज कायम राख्ने नाममा विभेदकारी सामाजिक संरचना बसालिसकेका थिए। त्यो सामाजिक संरचनाभित्र थुप्रै छिछि–दूरदूर गरिएका कैयौँ समुदायहरू थिए, जसलाई परमेश्वरको आराधना गर्न अनुमति थिएन। यस्तो सामाजिक परिवेशमा येशूले आफू संसारमा आउनुको मूल उद्देश्य यसरी घोषणा गर्नुभयो,
परमप्रभुका आत्मा ममाथि छ,
किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति
उहाँले मलाई अभिषेक गर्नुभएको छ।
कैदीहरूलाई छुटकाराको घोषणा गर्न,
र अन्धाहरूलाई दृष्टि दिन,
थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति,
र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ (लूका ४,१८–१९)।
यो खण्डलाई मण्डली इतिहासमा नासरतको घोषणापत्र वा येशूको प्रमुख नारा भनेर व्याख्या गर्दै आएका छन् – अङ्ग्रेजीमा यसलाई नाजरेथ मेनिफेस्टो भनिन्छ। यो नारा नै हो, तर सैद्धान्तिक नारा मात्र नभएर बन्धनमा परेका मानिसहरूको लागि परमेश्वरको छुटकाराको योजना हो जुन मानिसको समझले बुझ्ने गरी घोषणा गरिएको छ। यस नारालाई छोटकरीमा व्याख्या गर्ने हो भने सबैभन्दा पहिला, यो दाबी गर्नुपर्दछ कि येशू अभिषेक गरिनुभएको परमेश्वरको पुत्र हुनुहुन्छ। मानिसलाई बन्धनबाट छुटकारा दिनको लागि येशू अभिषेक हुनुभएको हो। स्वर्गबाट पठाइनुभएको हो। दोस्रो, येशूले मानिसको समस्यालाई पहिचान गर्नुभयो। प्रमुख समस्या गरिबी थियो। यहाँ उल्लेख गरिएको गरिबीले आर्थिक मात्र होइन, सामाजिक गरिबीलाई पनि जनाउँछ। बाँच्नको लागि सङ्घर्ष गरिरहेका र परमेश्वरदेखि वञ्चित मानिसको समुदाय हो। साथमा मानव जातिको अर्को समस्या पाप हो। पापको कारण मानिस शैतानको कैदमा परेको अवस्था हो। छुटकारा पाउनको लागि मोल तिर्नुपर्दथ्यो। त्यो मोल जोकोहीले तिर्न सक्दैनथ्यो। जोकोहीले तिरेर पनि हुँदैनथ्यो। रगतको मोल चाहिँदथ्यो। त्यो मोल येशूले आफ्नै रगतद्वारा तिर्नुभयो। देख्नुभो! पापीको लागि येशूले आफ्नो रगत बहाउनुभयो। तेस्रो, येशूले आफ्नो सेवाकालमा साँच्चै शारीरिक अन्धाहरूलाई दृष्टि दिनुभयो भने साथमा परमेश्वर र उहाँको सत्यतालाई नदेख्ने भित्री आँखा पनि खोलिदिनुभयो। चौथो, अझ गाँठी कुरो, थिचोमिचोमा परेकाहरूलाई छुटकारा दिनुभयो। येशूको पालामा मानिसहरू दुई किसिमले थिचोमिचोमा परेका थिए,
क) पहिलो, सामाजिक वा धार्मिक थिचोमिचोमा परेका थिए। त्यो सामाजिक संरचनाले सबै थिचोमिचोबाट छुटकारा दिनुहुने येशूलाई स्वागत गर्न सकेन। थिचोमिचोमा परेको समाजले अहिले पनि परिवर्तनलाई नरुचाउनुको कारण यही हो।
ख) दोस्रो, इस्राएल राजनीतिक वा विदेशी थिचोमिचो परेको थियो। त्यहाँ रोमले उपनिवेश जमाएको थियो।
पाँचौँ, यी सबै खराबीहरूको कारण मानिसको मुहारबाट प्रसन्नता हटिसकेको थियो। त्यो प्रसन्नतालाई फिर्ता ल्याउने उद्घोषणा येशूले आफ्नो सेवाको सुरुआतमा नै गर्नुभयो।
यहाँबाट बुझ्न सकिन्छ कि इस्राएलको सामाजिक संरचनामा सुधार्नुपर्ने थ्रुप्रै खराबीहरू थिए, जसमा जातीय भेदभावको समस्या एउटा पर्दथ्यो। येशूले गर्नुभएको घोषणालाई पूरा गर्नको लागि यहूदीहरूले सामाजिक, विशेष गरी धार्मिक बहिष्कार गरेका पापी, तल्लो जाति, रोगी, कर उठाउने, महिला, बाल–बालिका, आदिको बीचमा सेवा गर्नुभयो। तिनीहरूलाई प्रेम गर्नुभयो। यति धेरै प्रेम गर्नुभयो कि तिनीहरूलाई प्राप्त गर्नको लागि आफूलाई क्रूसमा मारिन दिनुभयो। यसको अर्थ परमेश्वरले समाजका तल्लो तहका मानिसहरूलाई औधी नै प्रेम गर्नुभयो। घृणा खेप्न बाध्य भएकाहरूलाई प्रेम गरेर सिँगो सामाजिक संरचनालाई परिवर्तन गर्नुभयो।
येशूको पालाको इस्राएलमा सामरी नाम गरेको एउटा जाति थियो। येशू संसारमा आउनुभन्दा लगभग ७०० वर्षअघि यहूदीहरू अर्को जातिसँग मिसिएको कारण तिनीहरूलाई यहूदीहरूले बहिष्कार गरे। बिहेबारीको त कुरै छाडौँ, तिनीहरूका हातबाट पानीसमेत पिउँदैनथे र सामरीहरूको गाउँको बाटोबाट समेत यहूदीहरू हिँड्दैनथे। सामरीहरूको प्रान्त इस्राएलको बीच भागमा पर्दथ्यो। यहूदीहरू उत्तर–दक्षिण यात्रा गर्नु परेको खण्डमा सामरीहरूको प्रान्तबाट जाँदा बाटो छोटो पर्दथ्यो। जातीय घृणाको कारण त्यहाँबाट नगईकन तिनीहरू घुमाउरो बाटो हिँड्दथे, तर बाइबलमा यस्तो एउटा घटना पढ्न पाइन्छ, त्यो छोटो बाटोबाट येशू हिँड्नुभयो। त्यहाँ तिनीहरूसँग वास बस्नुभयो र अझ बढी महत्त्वपूर्ण कुरा त यो हो कि तिनीहरूलाई परमेश्वरको सच्चा आराधक बनाउनुभयो। सामरीहरूसँग उहाँले गर्नुभएको व्यवहारलाई जातीय प्रथालाई जोगाइराख्ने सामाजिक संरचनामाथि गर्नुभएको प्रहारको एउटा उत्तम उदाहरणको रूपमा लिन सकिन्छ। यो घटना तपाईंले यूहन्नाको सुसमाचार ४ अध्यायमा पढ्न पाउनुहुन्छ। अब निर्धक्क भन्न सकिन्छ कि यहूदी धर्मगुरुहरूले स्थापना गरेको खराब सामाजिक संरचनालाई तोड्ने क्रममा येशूले जातीय विभेदलाई पनि तोड्नुभयो।
कतिले येशूलाई समाज सुधारकको रूपमा लिन्छन्। माथि उल्लेख गरिएको बाइबलको खण्डलाई राजनीति गर्ने प्रेरणाको स्रोत मानेका छन्, कतिले यसमा मार्क्सवाद पनि मिसाएका छन्, तर येशूलाई समाज सुधारकमा सीमित राखेर व्याख्या गर्नु अपूर्ण बुझाइ हो किनकि उहाँ सम्पूर्ण मानव जातिको प्राण, आत्मा र शरीरको खाँचो बुझ्न सक्ने परमेश्वरधारी मानव हुनुहुन्छ।
निष्कर्ष
नेपाल जातीय व्यवस्थामा आधारित समाज हो। जहाँ जातीय व्यवस्था हुन्छ त्यहाँ जातको आधारमा उचो र नीचोको भेदभाव रहिरहन्छ। यस्तो समाजमा पीडित र पीडक भइरहन्छ – अझ भनौँ, पीडित र पीडक चाहिरहन्छ, तर बाइबलभरि नै यस्तो विवरण पढ्न पाइन्छ कि परमेश्वर जहिले पनि पीडितहरूको पक्षमा उभिनुहुन्छ। त्यो परमेश्वरलाई मानवको रूप लिएर संसारमा उत्रनुभएको येशूको माध्यमबाट ठम्याउँदछौँ। जति धेरै येशूको नजिक गइन्छ, त्यति नै हामी उहाँलाई चिन्दछौँ र साथमा आफूलाई पनि चिन्दछौँ। हामी सत्यतालाई जान्दछौँ, र त्यो सत्यताले हामीलाई स्वतन्त्र गराउँछ (यूहन्ना ८,३२)। यो स्वतन्त्रताले हामीलाई जिम्मेवार र अधिकारले सम्पन्न गराउँछ। हामी यस तथ्यलाई प्रचार गर्छौँ। प्रचार गर्नुको मूल उद्देश्य जातीय बन्धन तोड्नु मात्र होइन – यो त सामाजिक दुष्ट्याइँको एउटा अंश मात्र हो, तर मानव जातिलाई परमेश्वरको स्वतन्त्रतामा रमाउन बाधा दिने सामाजिक संरचनालाई नै रूपान्तरण गर्दछौँ। यो रूपान्तरण संसारका कुनै पनि, व्यवस्था, वाद वा सिद्धान्तबाट आउन सक्दैन भन्ने कुरो हामीले नेपालमा आएको व्यवस्थाको परिवर्तनले केही गर्न नसकेको अवस्थाबाट बुझ्दछौँ। यसको अर्थ, हृदयको परिवर्तन आवश्यक छ। हृदय परिवर्तन गरेर अगाडि बढ्नको लागि हामीलाई परमेश्वरको वचन दिइएको छ र उहाँको साथ सधैँभरि मिल्नेछ। याद गर्नुस् हिजो परमेश्वर हेपिएकाहरूको लागि उभिनुभयो, आज उभिनुहुन्छ र भोलि पनि उभिनुहुनेछ। परमेश्वरले पक्षपात गर्नुहुन्न, सबैलाई प्रेम गर्नुहुन्छ।