परिचय
हाम्रा यस्ता अगुवाहरू पनि छन्, जसले बाइबलमा बाल–बालिका अर्पण गर्ने आज्ञा नभएको कारण देखाएर आफ्ना बाल–बालिकालाई अर्पण गर्दैनन्। उनीहरूको यो व्यवहारलाई कतिले बाइबलअनुसार चल्ने कट्टर ख्रीष्टियानको परिभाषा दिए भने कतिले चाहिँ 'बढी जान्ने' भएको अर्थ लाए। यी दुइटै व्यवहारले मण्डलीमा भ्रम सृजना गरेका छन्। बाल अर्पणसम्बन्धी सीधा आज्ञा बाइबलमा नभएको कारण कतै बाल अर्पण नगर्नेहरू सही र अर्पण गर्नेहरू चाहिँ झूटा नै हुन् कि भन्नेसम्मका भ्रमहरू पैदा भएका छन्। कतिको लागि यो विषय उति गम्भीर नहोला, तर यस्तो परिस्थिति खेप्न बाध्य मण्डलीहरू पनि छन्, जसलाई उत्तर चाहिएको छ। ''के बाल अर्पण बाइबलीय नै हो त?'' भन्ने प्रश्नको 'जान्नैपर्ने उत्तर' आशा मण्डलीका पास्टर गणेश तामाङबाट सुन्नुहोस्।
प्रश्न
के बाइबलमा/ 'बाल अर्पण गर' भन्ने आज्ञा नभएकै हो त?
उत्तर
निश्चय नै बाइबलमा 'बाल अर्पण गर' भनेर कहीँ पनि ट्याक्कै लेखिएको छैन। पुरानो करारमा जेठाहरूलाई मात्र अर्पण गर्ने र बालकहरूको खतना गर्ने कुराहरू आज्ञाको रूपमा दिइएका छन्। नयाँ करारमा खतना गर्नु नपर्ने कुरो त स्पष्टै छ, तर जेठाहरूलाई हामीले अर्पण गर्नु पर्ने वा नपर्ने भन्ने स्पष्ट निर्देशन पढ्न पाइँदैन। यो विषयमा नयाँ करार मौन रहेको आभास हुन्छ – कहीँ पनि 'बाल अर्पण गर' भनेर सीधै नलेखिएको कारण मण्डलीमा कतिले चाहिँ ''कहाँ लेखिएको छ, देखाऊ'' भनेर निहूँ खोज्ने काम पनि भएको छ। आज्ञा नै दिइएको छैन भने हामीले किन पालन गर्ने भन्ने प्रश्न जायज नै छ।
प्रश्न
भनेपछि के बाल अर्पण नगर्दा पनि हुनेरहेछ?
उत्तर
बाल अर्पण गर्नुपर्छ वा पर्दैन भनेर म सिफारिस गर्न गइरहेको छुइनँ, तर म बाइबलीय अवधारणा राख्न गइरहेको छु। यसलाई सुनेपछि दर्शकहरू आफैले यो स्वीकार्य वा अस्वीकार्य भन्ने कुरो निर्णय गर्न सक्नुहुनेछ। म भन्छु, आज्ञा नदिइए पनि बाल अर्पणको विवरण र अवधारणा बाइबलमा प्रशस्त मात्रामा दिइएका छन्।
सबैभन्दा पहिलो कुरो, पुरानो करारमा यहूदीहरूले आठौँ दिनमा बालकहरूको खतना गर्नुपर्दथ्यो। यो बाल अर्पणभन्दा पनि परमेश्वरको करारको पालना गर्ने क्रममा पूरा गर्नुपर्ने कर्तव्य हो। खतनाले अब्राहामको पालामा राज्य, जाति, सन्तानको वृद्धि, आशिष् र मुक्तिको माने दिँदथ्यो भने पछि प्रायश्चितको अर्थ दिन थालियो, जसमा मानिस पापी नै भएर जन्मँदछ र उसले आफ्नो पापको प्रायश्चित रगत बहाएर गर्नुपर्छ भन्ने अर्थ दिन थालियो। यहूदीहरूले वास्तवमा खतना गरेर बालकलाई अर्पण गर्दथे। यस करारलाई बाल अर्पणको नजिक राखेर हेर्न सकिन्छ।
दोस्रो, यहूदीहरूको परिवारमा जन्मने सबै जेठो छोरालाई अर्पण गर्ने आज्ञा प्रस्थान १३,१ मा दिइएको छ। तीचाहिँ परमेश्वरको लागि चढाउनु हो। अलग पार्नु हो। यसलाई बाल अर्पणको लागि आधार खण्ड मान्न सकिन्छ।
तेस्रो, आमाको दूध खान छोडेपछि शमूएललाई उनको आमा हन्नाले एलीको साथमा पठाइन् (१शमूएल १,२७–२८)। यो पनि अर्पण नै हो, तर अचेल मण्डलीमा गरिने बाल अर्पणको विधि धेरै फरक छ। यसलाई बाल अर्पणको आधार, पृष्ठभूमि वा तरिकाहरूमध्ये एक मान्न सकिन्छ।
चौथो, येशूको कुरो गरौँ। उहाँको खतना गरियो। नामाकरण गरियो। उहाँलाई मन्दिरमा अर्पण गरियो (लूका २,२१–४०)। तपाईं भन्नुहोला, ''उहाँ यहूदी हुनुहुन्थ्यो, हामी यहूदी होइनौँ। जेठो हुनुभएको कारण अर्पण गरिनुभयो। चर्चमा होइन, मन्दिरमा अर्पण गरिनुभयो। अर्पण गर्दा पशु वा पक्षी पनि चढाइयो। यो अहिले लागू हुँदैन।'' यी तर्कहरू पनि ठीकै छन्, तर म बाल अर्पणको आधार बताउँदैछु।
प्रश्न
भनेपछि बाल अर्पणको लागि हामीसँग धर्मशास्त्रीय आधारहरू प्रशस्त छन्।
उत्तर
प्रशस्तै छन्।
प्रश्न
''साना बाल–बालिकाहरूलाई मकहाँ आउन देओ'' भनेर येशूले दिनुभएको आज्ञासँग बाल अर्पणको कुनै सम्बन्ध छ?
उत्तर
गहिरो सम्बन्ध देख्छु म। यहूदी समाजमा ती महिला र बालबालिकाहरू धार्मिक हिसाबले उति महत्त्वपूर्ण पात्रहरू होइनन्, तर येशूले तिनीहरूलाई आफूकहाँ आउन दिनुभयो। महिलाहरू उहाँकहाँ आउने भएपछि तिनीहरूका काखे बाल–बालिका त आउने नै भए भने आमालाई पछ्याएर आउनेहरू पनि पक्कै थिए। येशूको उपस्थितिमा आएको मौकामा आफ्ना बच्चाहरूमाथि आमाहरूले उहाँको स्पर्श खोज्दा चेलाहरूले तिनीहरूलाई हप्कीदप्की गरेको देखेपछि दुःखित भएर उहाँले भन्नुभयो, ''साना बाल–बालिकाहरूलाई मकहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो'' (मर्कूस १०,१४)। येशूले ती नानीहरूमाथि हात राख्नुभयो। काखमा लिनुभयो र आशिष् दिनुभयो। यहाँ तपाईंले पक्रनुपर्ने वाक्यांशहरू आमाहरूले बच्चाहरूलाई येशूकहाँ लगे र उहाँले चाहिँ ती बच्चाहरूलाई छुनुभयो, काखमा राख्नुभयो र आशिष् दिनुभयो। यसलाई ''बाल अर्पण'' किन नभन्ने? म त यहाँ येशूको छचल्किएको ममता देख्छु। मातृत्व देख्छु। पितृत्व देख्छु। यसमा कसैले बिमति पनि जनाउँला, तर बाल अर्पण गर्नेहरूले मण्डलीमार्फत औपचारिक हिसाबले येशूको काखमा राखिदिनु हो। ''मकहाँ आउन देओ'' भन्नु र ''अर्पण गर'' भन्नु उस्तै लाग्छ।
प्रश्न
पावलले पनि एफिससको पत्रमा बाल–बालिकाहरूलाई सम्बोधन गरेर भनेका छन् ''छोराछोरी हो, आफ्ना आमाबुबाको आज्ञा पालन गर।'' यसलाई बाल अर्पणसँग जोड्न सकिने आधार छ?
उत्तर
पक्कै पनि छ। परिवारमा बच्चाहरू फाल्टो र स–साना आकारका मानिसहरू होइनन्। एफिसीको पत्रको पूरा प्रसङ्ग पढ्नुस्। पावलले पारिवारलाई मर्यादित बनाउनको लागि करार बाँध्दैछन्। यस क्रममा लोग्नेस्वास्नीलाई सम्बोधन गरिसकेपछि नानीहरूलाई पनि सम्बोधन गरे। यसकारण बाल अर्पणले लोग्नेस्वास्नीसँग विवाहको माध्यमबाट बाँधिएको करारलाई अझ सम्झना गराउँछ।
प्रश्न
जन्मिएको कति दिनमा गर्नुपर्छ?
उत्तर
यति नै दिनमा गर्नुपर्छ भन्ने छैन। औपचारिकता दिनको लागि दिन तोकिरहनुपर्दैन।
प्रश्न
मण्डली इतिहासमा बाल अर्पणको अभ्यास बारे अलिकति बताइदिनुस् न!
उत्तर
पहिलो शताब्दीको मण्डलीले पक्कै पनि बाल अर्पण गर्ने कुरोमा ध्यान दिन भ्याएन किनकि सुसमाचार फैलाउने कामलाई प्राथमिकतामा राखिएको थियो। चौथो शताब्दीसम्म मण्डलीमा प्रभुभोज र बप्तिस्माबाहेक अरू कुनै प्रकारको चलन भित्रिन पाएन। मेरो प्रारम्भिक अध्ययनले उन्नाईसौँ शताब्दीको मध्य भागदेखि बेलायतमा बाल अर्पणको चलन शुरू भएको देखाउँछ। यसको लागि मन्दिरमा येशूको अर्पण, एलीकहाँ शमूएलको अर्पण र येशूकहाँ बाल–बालिका ल्याइएको घटनालाई आधार बनाइए।/1/[1] ई.सं. १६०९मा ब्याप्टिस्टहरूले जवानहरूलाई मात्र बप्तिस्मा दिने अभियान चलाएपछि बाल अर्पणको चलन शुरू भएको देखिन्छ। इतिहास पढ्न पाइन्छ, बाल बप्तिस्माको विकल्पको रूपमा इभान्जेलिकल मण्डलीहरूले बाल अर्पणको चलनलाई बीसौँ शताब्दीमा विकास गरे।/2/[2]
प्रश्न
खेतबारीको अगौटे फल र गोठको पहिलो फल परमेश्वरको लागि हो। मानिसको बच्चा अर्पण गर्ने कुरा त झन् आवश्यक छ जस्तो लाग्छ। तपाईं यसमा के भन्नुहुन्छ?
उत्तर
याकूबले गर्भको फलको कुरा गर्छन्। व्यवस्था २८ अध्यायमा आशिषको कुरो गर्दा, गर्भको फलको प्रसङ्ग पढ्न पाइन्छ। यो गर्भको फल अर्पणसँगै गर्भको लागि पनि परमेश्वरलाई धन्यवाद दिने कार्यक्रम हो। समर्पण गरिएको कुरो बच्चालाई थाहा हुँदैन, तर आमा बुबालाई थाहा हुन्छ। यसमा थाहा हुनेहरूलाई अर्पण गरेर थाहा नहुनेलाई हुर्काउन उत्साह दिइन्छ। यस मानेमा, बाल अर्पण बुबाआमालाई अर्पण गर्ने कार्यक्रम हो, जुन पवित्र विवाहपछिको अर्को चरण हो। यसकारण बच्चाहरूसँग समय बिताउँदा, बुबाआमाले खबर गर्न बिर्सनु हुँदैन, ''हामीले तिमीलाई मण्डलीमा बाल अर्पण गरेका थियौँ।'' तपाईंले कहिल्यै यो कुरो बच्चाहरूलाई बताउनुभएको छ?
प्रश्न
मानौँ, कसैले 'हाम्रो बच्चा अर्पण गर्दैनौँ किनकि बाइबलमा आज्ञा दिइएको छैन' भनेको खण्डमा के गर्ने?
उत्तर
नगर्नेहरूलाई 'गर्नैपर्छ' भनेर जबरजस्ती गर्नुहुँदैन, तर उनीहरूले अर्पण गर्नेहरूको अगाडि आफूहरू असल भएको धाक नलाऊन्। अनि अर्पण गर्नेहरूले पनि तिनीहरूलाई अन्यथा नसम्झून्। अघि नै चर्चा गरिसकेका ती बाइबलीय अवधारणालाई मनन गर्ने हो भने, बाल अर्पण नगर्नेहरू अर्घेल्लाहरू देखिनेछन्।
प्रश्न
बाल अर्पण र शुद्धीकरणको विधिलाई सँगै हेर्न सकिएला?
उत्तर
बाल अर्पणलाई चोख्याउने विधिसँग तुलना गर्न मिल्दैन। निश्चय नै पुरानो करारमा नानी जन्मिएपछि बच्चा र आमा अशुद्ध हुने व्यवस्था थियो। यीचाहिँ मानिस कसरी अशुद्ध हुन्छ भन्ने ज्ञान दिनको लागि व्यवस्थाले तोकिदिएको तरिकाहरूमध्ये एक हो। मानिस बाहिरी थोकले होइन, भित्री हृदयको कारण अशुद्ध हुँदछ भन्ने कुरो बुझाउनको लागि व्यवस्थामा यो राखिएको आज्ञा हो। व्यवस्थाबाट पाइने यो ज्ञानले मात्र मानिसको भित्री अशुद्धता बुझेर येशूकहाँ जान सक्दथे। त्यसो हुँदा यहूदीहरूलाई नानी जन्मने बेला शुद्धीकरणको व्यवस्था दिइयो, तर येशूमा विश्वास गरेको कारण हामीले पूर्ण शुद्धीकरण प्राप्त गर्दछौँ, जसकारण ख्रीष्टियान महिलाहरूले बच्चा जन्माउँदा अशुद्ध हुँदैनन् – वास्तवमा बच्चा जन्माउने कुनै पनि महिला अशुद्ध हुँदैनन्। न आमा न त तिनीबाट जन्मने शिशु नै अशुद्ध हुँदछन्।
प्रभुलाई विश्वास नगर्ने कतिपय घरबेटीको घरमा डेरा लिएर बस्ने विश्वासीहरूलाई कति ठाउँमा बच्चा र आमाको शुद्धीकरण नगरेको आरोप लगाएका छन्। नचोख्याउँदा, तिनीहरूको घरमा अशुभ हुने डरले गर्दा, 'तिमीहरूको धर्मविधिअनुसार चोख्याऊ' भन्ने गरेको पाइयो। यस्तो अवस्थामा बाल अर्पण गरेको खबर घरबेटीलाई दिएपछि चोख्याएको अर्थ लाएको पाइयो, तर एउटा सच्चा ख्रीष्टियानले यसरी बुझ्नुभएन। वास्तवमा चोख्याउने कुरो मानवताप्रतिको घृणा निर्दोष शिशु अवस्थादेखि नै थोपरिएको महसुस हुन्छ।
प्रश्न
बाल अर्पणको ईश्वरशास्त्र के हो?
उत्तर
अर्पणको मुख्य उद्देश्य अलग पार्नु हो। परमेश्वरको लागि छुट्याउनु हो। पवित्र पार्नु हो। बच्चाहरू परमेश्वरको उपहार हो भनेर दाबी गर्नु हो। आशिष् माग्नु हो। बच्चामार्फत परमेश्वरले दिनुभएको जिम्मेवारी स्वीकार गर्नु हो। अनि मण्डली बच्चाहरूको लागि स्वागत गरिने ठाउँ हो। परमेश्वरको करारभित्र बच्चाहरू पनि पर्दछन् र मण्डलीमा बच्चाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ भन्ने सन्देस फैलाउनु हो। सुदृढ परिवार त सुदृढ मण्डली!
प्रश्न
बाल अर्पणको विधि बारे छोटकरीमा बताइदिनुस् न!
उत्तर
त्यो दिन हामी मण्डलीमा बुबाआमालाई अगाडि उभ्याउँछौँ। आमा मात्र भएको अवस्थामा बाल अर्पण गर्न उत्साह दिँदैनौँ। लोग्ने स्वास्नी दुवै ख्रीष्टियान हुन् भने मात्र अनुमति दिन्छौँ। मानौँ, लोग्ने ख्रीष्टियान होइन भने, अर्पण गर्नको लागि लोग्नेको अनुमति खोज्छौँ र उपस्थिति पनि खोज्छौँ। कार्यक्रममा आफन्तहरूलाई पनि मण्डलीमा बोलाउँछौँ। नानीको बुबाआमालाई प्रश्नहरू सोध्छौँ, जस्तैः
– तपाईंहरू बुबाआमा हुनुभएकोमा खुसी हुनुहुन्छ?
– छोरो हुनुपर्नेमा छोरी पो भएछ भनेर पछुतो त मान्नुभएको छैन?
– यो बच्चालाई परमेश्वरको डरमा हुर्काउन तयार हुनुहुन्छ?
– यो बच्चाको खाँचो परमेश्वरले पूरा गर्नुहुन्छ, तर यसको लागि तपाईंहरूलाई उहाँले प्रतिनिधि बनाउनुभएको हो भन्ने कुरामा विश्वास गर्नुहुन्छ?
यो एक प्रकारले यो पनि करार बाँध्ने कार्यक्रम हो। जिम्मेवारी स्वीकार्न लाउने कार्यक्रम हो। सन्तान दिनुभएको लागि प्रभुलाई धन्यवाद दिन उत्साह दिँदछौँ। छोटो सन्देस दिएर अन्तमा पास्टरले बच्चाको नाम घोषणा गर्छन् र प्रार्थना गरेर आशिष् मागेपछि कार्यक्रम सकिन्छ।
वास्तवमा यो एउटा परिवारको खुसियालीमा सम्पूर्ण मण्डली सामेल हुने मौका हो। मलाई लाग्छ, मण्डलीमा यो चलन आवश्यक छ।
प्रश्न
बाल–बालिकाहरू अर्पण गर्ने कुरामा उत्साह दिने बाइबलका केही खण्डहरू छन् भने बताइदिनुस् न!
उत्तर
धेरै छन्, तर मलाई याद भएका पदहरू बताउँछु
- भजन ८,२ ''शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ''
- भजन १२७,३ ''छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।''
- भजन १२८,३मा लेखिएको छ, ''तिम्री पत्नी तिम्रो घरभित्र फलवन्त दाखको लताजस्तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्तै हुनेछन्।''
- हितोपदेश १७,६ले भन्छ, ''नाति-नातिनाहरू वृद्धहरूका मुकुट हुन्,
र आमा-बुबाहरू आफ्ना छोराछोरीहरूका गर्व हुन्।''
यीबाहेक अरू पनि छन्।
प्रश्न
सम्भव छ, हामीले जान्नैपर्ने उत्तरहरू लगभग पाइसक्यौँ। निष्कर्षमा अझै छुटेका कुराहरू केही छन् भने, बताइदिनुस् न।
उत्तर
येशू आफै पनि मरियमको कोखमा भ्रूण हुनुभयो। जन्मनुभयो। शिशु हुनुभयो। जवान हुँदै लगभग ३३ वर्षको अधवैंसे उमेरसम्म जिएर क्रूसमा मारिनुभो। येशूले हरेक उमेरका मानिसलाई प्रतिनिधित्व गर्नुभयो।
अचेल मण्डलीमा बाल अर्पण गर्ने चलनलाई हामीले येशूमा मात्र केन्द्रित गरेर हेर्ने हो भने पनि यसले दह्रो ईश्वरशास्त्रीय आधार र आड दिन्छ। यो बाइबलसम्मत छ। यो चलनबाट परमेश्वर बेखुसी हुनुहुन्न र बाइबलमा यो लेखिएको छैन भनेर अर्घेल्लो गर्नुपर्ने कारण म देख्दिनँ। हामी यो पनि जान्दछौँ कि बाल अर्पण गरेर कोही पनि ख्रीष्टियान हुँदैनन्, तर एउटा परिवारमा बच्चा पाएको खुसियालीमा परमेश्वरलाई धन्यवाद दिनु, बुबाआमाको दर्जा पाएका लोग्नेस्वास्नीलाई कर्तव्य सम्झाउनुचाहिँ विवाहमा बाँधिएको करारको निरन्तरता हो। यसले परिवारलाई परमेश्वरको योजनामा सामेल हुन प्रेरणा दिन्छ। ख्रीष्टियान विश्वासलाई संस्कारित बनाएर अझ बलियो सामाजिकीकरणतिर डोर्याउँछ। यसबाट केवल परमेश्वरको महिमा हुन्छ। मैले यति भनिसकेपछि आफ्नो नानीहरूलाई अर्पण गर्ने र नगर्ने स्वतन्त्रता यहाँहरूकै हातमा छोडिदिन्छु।
End Notes
/1/ Historical Origins And Development Of Child Dedication
https://www.worshiptraining.com/media/historical-origins-and-development-of-child-dedication/
/2/ Child dedication, https://en.wikipedia.org/wiki/Child_dedication
[1] Historical Origins And Development Of Child Dedication
https://www.worshiptraining.com/media/historical-origins-and-development-of-child-dedication/
[2] Child dedication, https://en.wikipedia.org/wiki/Child_dedication