कतिपय मण्डलीहरूमा प्रभुभोजको लागि तयार हुनलाई एक हप्ताअघि नै सूचना दिइन्छ। विश्वासीहरू उपवाससहित प्रभुभोजमा सामेल हुँदछन्। त्यो दिन नुहाइ–धुवाइ र सफा कपडासहित मण्डलीमा उपस्थित हुने नै भैगो, यहाँसम्म कि आफूलाई योग्य ठहराउनको लागि कतिले त लोग्ने–स्वास्नीबीच यौन सम्बन्ध बार्ने गरेको पनि सुनियो। यस किसिमका तयारीहरूप्रति मेरो गुनासो छैन, तर के प्रभुभोजको लागि योग्य हुने तरिका यी नै हुन् त?
के मण्डलीले अनुशासनमा राखेका कतिपय सदस्यहरू र ग्रहण गरेका तर बप्तिस्मा नलिएकाहरूलाई प्रभुभोजबाट वञ्चित गर्दैमा यो आदरणीय विधि बन्छ? कतिपय साम्प्रदायिक मण्डलीहरूले अरू सम्प्रदायका ख्रीष्टियानहरूलाई ‘अयोग्य’ सम्झेर प्रभुभोज दिँदैनन्। के प्रभुभोजलाई हामीले योग्य ठहर्याएर योग्य हुने हो त? अयोग्य रीतिले प्रभुभोज नखानको लागि १कोरिन्थी ११,२७–३०मा यस्तो चेताउनी दिइएको छ,
जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ, कि प्रभुको कचौराबाट पिउँछ, त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिनेछ। हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्। किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउनेछ। यसैकारण तिमीहरूमध्ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्।
यहाँ उल्लेख गरिएको ‘अयोग्य रीति’को अक्षरशः ग्रीक अर्थ ‘असान्दर्भिक वा नसुहाउँदो’ भन्नुपर्ने हुन्छ। यसलाई व्याख्या गर्नुपर्दा ‘‘ख्रीष्टको शरीर र रगतबमोजिम नचलाइएको विधि वा नसुहाउँदो विधि’’ भन्नुपर्ने हुन्छ।
पावलले ‘अयोग्य रीति’लाई औँल्याउनुको अर्थ कोरिन्थको मण्डलीमा रीत नपुर्याईकन प्रभुभोज खाएको स्पष्ट हुन्छ। यसबाट येशूको शरीर र रगत र विश्वासीहरू एकअर्काको अपमान भएको थियो। प्रभुभोज कसरी ‘अयोग्य रीति’ले खाइएको थियो भन्ने विषयमा अझ गहिराइमा बुझ्नको लागि १कोरिन्थी ११ अध्यायको प्रसङ्ग अर्थात् सेरोफेरोलाई समेट्नेछौँ। साथमा कोरिन्थ मण्डलीको सामाजिक परिवेशलाई पनि विश्लेषण गर्नेछौँ।
पहिलो कुरो, येशूले सारा पापी मानव जातिको पाप क्षमाको लागि आफ्नो शरीर र रगत बलिदान दिनुभएको गम्भीर अर्थ बुझाउने यस विधिलाई नबुझीकन त्यतिकै हल्का कर्मकाण्ड सम्झेर प्रभुभोजमा सहभागी हुनु भनेको अयोग्य रीतिले खानु हो।
दोस्रो, पाप गर्छ, पश्चात्ताप गर्दैन, र पनि प्रभुभोजमा निर्धक्क सहभागी हुनु भनेको अयोग्य रीतिले भाग लिनु हो। परमेश्वररहित स्वभाव लिएर यसमा भाग लिनु हो।/1/ पापलाई नत्यागेर प्रभुको टेबिलमा बेफिक्री भएर आउँछन् भने त्यसले प्रभुभोजको विधि, येशू स्वयम् र येशूको शरीररूपी मण्डलीलाई अपमान गर्छ।
अयोग्य रीतिले प्रभुभोजमा सहभागी हुने व्यक्ति यहूदा इस्करियोत हुन्। अन्तिम भोजमा सहभागी हुनअघि नै उनले येशूलाई यहूदी धर्मगुरुहरूको हातमा बेचिसकेका थिए (मत्ती २६,१४–१६, मर्कूस १४,१०–११, लूका २२,४–६)। उहाँलाई बेचिसकेपछि पनि लाजैविना र आफूले गल्ती गरेको छु भन्ने महसुसविना यहूदा अरू चेलाहरूसँगै येशूको टेबिलमा सहभागी भए। पहिले नै शैतानको टेबिलमा बसिसकेका यहूदा येशू र उहाँका चेलाहरूसँग पनि टेबिलमा बसे। प्रभुले उनी धोकेवाज भएको कुरो तोकेर बताउनुहुँदा समेत उनले पश्चात्ताप गरेनन् (मत्ती २६,२५)।
भोज सक्नेबित्तिकै येशू गेतसमनीतिर जानुभयो भने यहूदाचाहिँ उहाँलाई पक्राउन पूजाहारीहरू र धर्मगुरुहरू लिन गए। प्रभुलाई पक्राउ गर्ने ठूलो भीडको अगुवाइ उनैले गरे (मत्ती २६,४७–४९)। यहूदा इस्करियोतको कदमलाई हेर्नुस्, भोज सकिनेबित्तिकै दुष्टले उनलाई अझ पाप गर्न उक्सायो। अझ थप पाप गर्नको लागि उनी तयार भए। उनले येशूलाई पहिला नै अपमान गरिसकेका थिए, तर पनि केही नभएको जस्तो नाटक गरेर उहाँको टेबिलमा बसे। यहूदाको पछिल्लो परिणाम हेरौँ, अयोग्य रीतिले खाएको/पिएको कारण उनी बेहाल अवस्थामा पुगेर मरे। पावलले येशूलाई अपमान गर्ने कोरिन्थका छाडा विश्वासीहरूको हालत पनि यहूदा इस्करियोतजस्तै हुनसक्ने चेताउनी दिएको हुनसक्छ। यसकारण कचौरा र रोटीको माध्यमबाट येशूको शरीरमा सामेल हुनु छ भने पहिला नै आफूलाई जाँचेको हुनुपर्दछ।
तेस्रो, ‘अयोग्य रीति’ भन्नाले विधिवत् ढङ्गले सञ्चालन नगरिएको प्रभुभोज पनि भन्न सकिन्छ। प्रभुभोजको बेला कि कचौरा मात्र, कि त रोटी मात्र लिनुचाहिँ रीत नपुर्याईकन खानु वा पिउनु हो। येशूले आफू पक्राउ पर्नुअघि चेलाहरूसँग बसेर जसरी रोटी र कचौरा बाँड्नुभयो, कोरिन्थ मण्डलीले पनि त्यस्तै गर्नुपर्दथ्यो। त्यसमा थप्न वा त्यसबाट केही पनि घटाउन मिल्दैनथ्यो। यसकारण पावलले कोरिन्थका विश्वासीहरूलाई येशूले गर्नुभएको जस्तो विधि गर्नको लागि आज्ञा दिए। यसको लागि तपाईंले १कोरिन्थी ११,२३–२६सम्म पढ्नुस्।
चौथो, कोरिन्थ मण्डलीमा प्रेमभोज खान्थे जुन आ–आफ्नो घरबाट तयार पारेर लाने गर्दथे। प्रेमभोजलाई प्रभुभोजको रूपमा लिइन्थ्यो। धनी विश्वासीहरूले धेरै र मीठो खाना लाँदथे भने त्यहाँ खाना ल्याउनै नसक्ने गरिब तथा दासदासी विश्वासीहरू पनि थिए। धनीहरूले आफ्नो सामाजिक रवाफ जमाएर खाँदथे, पिउँदथे भने गरिब विश्वासीहरू चाहिँ भोकै हुन्थे। यसले सङ्गति नभएर धनी र गरीबबीच भेदभावको वातावरण सृजना गरेको थियो।/2/ यस किसिमको खानपान प्रभुभोजको नाममा ‘ख्रीष्टको शरीर’को अपमान बनेको थियो। यो येशूले शुरू गर्नुभएको चलनभन्दा फरक थियो – कोही खाइरहने अनि कोहीचाहिँ हेरिरहने। यस्तो चलनले सबैभन्दा पहिला ख्रीष्ट, त्यसपछि गरिबहरूको अपमान भएको थियो।
पाँचौँ, १कोरिन्थी ११,२१लाई हेर्ने हो भने कोरिन्थको मण्डलीमा प्रभुभोज खाने बेला दाखमद्य भित्र्याइएको देखिन्छ किनकि यहाँ मात्तिने गरी पिएको प्रसङ्ग पढ्न पाइन्छ। येशू आफै प्रभुभोजको रचनाकार हुनुहुन्छ। उहाँले दाखमद्य होइन, दाखरस चलाउनुभएको थियो। रोटीले उहाँको शरीर र दाखरसले उहाँको रगतको प्रतिनिधित्व गर्दथ्यो। यसलाई उहाँको दोस्रो आगमन नहुँदासम्म अक्सर गरिरहनुपर्दथ्यो। कोरिन्थ मण्डलीले फाल्टो कुरो ल्याएर येशू स्वयम् र उहाँले बसाल्नुभएको करारलाई तुच्छ व्यवहार गरेका थिए। कुनै कुनै विद्वानहरूको तर्क छ कि मण्डलीलाई कोरिन्थमा रहेको डाइनिसस देवताको मन्दिरको झल्को दिने ठाउँ बनाएको थियो जहाँ मात्ने गरी मानिसहरूले मद्य पिउँदथे। दुःखको कुरो, कोरिन्थको मण्डलीमा मतवालीपनले जरो गाडिसकेको थियो, अझ दुःखको कुरो त यो हो कि यसैलाई प्रभुभोज नाम दिइएको थियो। येशूले स्थापित गर्नुभएको प्रभुभोजलाई नै यिनीहरूले भ्रष्ट बनाएको कारण यो अयोग्य रीतिले खाएको ठहरिन्थ्यो।
छैटौँ, समस्त कोरिन्थ मण्डलीलाई हेर्ने हो भने विश्वासीहरूबीच मिलाप थिएन। बेमेल हुँदा हुँदै पनि सारा विभाजनको पर्खाल तोड्ने येशूको शरीरमा तिनीहरू सहभागी भएर उहाँलाई सीधै खिल्ली उडाउँदै थिए। कोरिन्थका विश्वासीहरू उहाँको शरीरको निम्ति अयोग्य भइसकेको थिए।
निष्कर्ष
आफ्नै मृत्युको माध्यमबाट प्रभुले हामीलाई जीवन दिनुभएको तथ्यलाई घोषणा गर्ने र दोस्रो आगमन नहुँदासम्म विश्वासलाई नवीकरण गरिरहने प्रभुभोजको अपमान गर्नु भनेको येशूलाई अपमान गर्नु हो। मण्डलीमा धनको तुजुक देखाएर एकतालाई भाँड्नु पनि प्रभुको शरीरको निम्ति अयोग्य बन्नु हो। मण्डली येशूको शरीर हो र शिर पनि उहाँ नै हुनुहुन्छ र विश्वासीहरूचाहिँ उहाँको शरीरसँग आबद्ध रहेका अङ्गहरू हुन्। ती अङ्गहरूबीच तालमेल नहुनु भनेको मूल शरीर र शिरलाई इन्कार गर्नु हो। कोरिन्थ मण्डली हाम्रै मण्डलीको एना हुनसक्छ। कतै हामीले पनि अयोग्य रीतिले प्रभुभोज त लिइरहेका छैनौँ? यो जाँच्नु आवश्यक छ। नत्र नरकको भागी हुनेछौँ।
/1/ John MacArthur, 1 Corinthians: Godly Solutions for Church Problems (Nashville: Thomas Nelson, 2007), 77.
/2/Joachim Kugler in Politics of Feeding: Reading John 6 (and 1 Cor 11) as Documents of Socio-political conflicts, edited by Masiiwa Gagies Gunda & Joachim Kugler, The Bible and Politics in Africa (Bamberg: University of Bamberg Press, 2012), 256: 251-273.