म मेरै अनुभवबाट शुरू गर्छु। २०४२ साल वैशाखमा मलाई प्रभुले चुन्नुभयो। हामी भर्खरका ख्रीष्टियान! डोर्याउने गतिलो अगुवा थिएन। त्यसै वर्षको दसैँमा भएको घटना बताउँदैछु। हाम्रै खलकहरूले दसैँको मासु जबरजस्ती भिराएका थिए। नखाएको खण्डमा ठीक नहुने धम्की दिइयो। मासु कतै फाल्लान् कि भनेर सुराकीसमेत तैनाथ गरेको बुझियो। मासु खुवाएपछि उनीहरूले हामीलाई धर्ममा अड्काइराख्न सकिन्छ भन्ने विश्वास लिएका थिए। दसैँ त जसोतसो टर्यो, तर भन्न थाले, ''पख्लास्, तिहारमा पनि हामी छोड्दैनौँ।'' हामीमाथि थोपरिएका यस्ता जबरजस्तीका कुराहरू सम्झँदा रिस र बदलाको भावनाभन्दा पनि यति धेरै विरोध गरिनुपर्ने कुरो मसँग के छ त भन्ने खोजी गर्न मलाई साह्रै प्रेरित गराउँछ। उनीहरूले भनेका थोक हामीले नखाँदा र नपिउँदा देखाएका रिस र जबरजस्तीलाई सम्झेर अझै पनि मलाई अचम्म लाग्छ। अझै अचम्म लाग्ने कुरो त यो हो कि ती आफन्तहरूमध्ये धेरैले प्रभुलाई विश्वास गरिसकेका छन्!
पहिलेको तुलनामा अहिलेका मानिसहरू बुझकी देखिए पनि झुक्याएर वा धम्क्याएर चढाइएका ती थोकहरू (प्रसाद नै भनौँ) खुवाइदिएपछि, उनीहरूको धार्मिक क्रियाकलापहरूमा जबरजस्ती सहभागी गराएपछि ख्रीष्टियानहरू पतन हुन्छन्, अशुद्ध हुन्छन् र पहिलेको धर्ममा फर्काउन सकिन्छ भन्ने भ्रम अझै पनि यदाकदा रहेको पाइन्छ। गाँठी कुरो यो हो कि कसैले चढाएका थोकहरू झुक्याएर खुवाइदिँदैमा, जबरजस्ती टीका धसिँदिँदैमा, मन्त्र फुकेका अछेता थाहा नपाईकन छरिदिँदैमा, प्रसाद कोच्याइदिँदैमा वा जाँडरक्सी खाएन भनेर घ्याम्पो नै टाउकोमा घोप्ट्याइदिए पनि ख्रीष्टियानहरू अशुद्ध हुँदैनन्। कुनै ख्रीष्टियान यस किसिमको आक्रमणमा पर्दा उसमाथि अनिष्ठ आइपर्ने, परमेश्वर रिसाएर प्रलय नै ल्याउने, कुनै देवीदेवताको अधीनमा पर्ने वा विश्वास नै पतन हुनेजस्ता कुराहरू बाइबलसम्मत होइनन्, बरु मनमा उठ्ने मनका त्रास मात्र हुन्।
ख्रीष्टियान विश्वासभित्र धर्मभ्रष्ट हुने वा जात जानेजस्ता अवैज्ञानिक कुराहरूको कुनै स्थान छैन। झुक्याएर वा जबरजस्ती गरेर खुवाइएका थोकहरूले तपाईंको विश्वास पतन हुन्छ भने त्यो विश्वास नै होइन। यो विश्वास कठिनभन्दा पनि अझ कठिन सङ्कष्ट खेप्नको लागि दिइएको हो। अझै पनि जबरजस्ती नहोला भन्न सकिँदैन, तर त्यस्तो भइहालेछ भने पनि ख्रीष्टियान विश्वासलाई अभ्यास गर्ने क्रममा यस्ता दुर्घटना वा अभद्र व्यवहार खेप्नुलाई प्रेरितहरूले जस्तै ''येशूको नाउँमा अपमान सहने योग्यका ठहरियौं'' भनेर रमाउनुपर्ने हुन्छ (प्रेरित ५,४१)। अझ बढी चित्त बुझाउने ठाउँ यो हो कि मानिसहरूले येशूलाई पनि जबरजस्ती गरे। के निर्दोष भन्ने कुरो थाहा हुँदाहुँदै पनि पिलातसले यहूदीहरूको जबरजस्ती थेग्न नसकेर येशूलाई क्रूसमा टाँगेका होइनन् र? उहाँ टाँगिनु परमेश्वरको योजना थियो – दुर्घटना थिएन, जसको लागि उहाँ तयार हुनुहुन्थ्यो। बेइज्जत गरेर तल झार्नको लागि उहाँ क्रूसमा टाँगिनुभयो, तर उल्टै सबैले देख्न र पुज्नु मिल्ने गरी उच्च पारिनुभयो (फिलिप्पी २,५–११ले यही भन्छ।) एउटा सच्चा ख्रीष्टियान येशूसँग आबद्ध भएको कारण उसमाथि यस्ता दुर्व्यवहार थोपरिँदछ भने त्यसवापत उसले परमेश्वरबाट इनाम पाउनेछ। कुरो यति हो कि तिनीहरूले गर्ने धर्मकर्मलाई विरोध गरेर तपाईंले चिढाएको चाहिँ हुनुहुँदैन।
ख्रीष्टियानहरूलाई सम्मान गर्ने आफन्तहरू पनि छन्। चढाएका थोकहरू चल्दैन भन्ने कुरो उनीहरू जान्दछन्। चाडको बेला प्राय ख्रीष्टियानहरूलाई उनीहरूले बोलाउँदैनन्, यो पनि धार्मिक सद्भाव कायम राख्ने तरिकाहरूमध्ये एउटा हो, तर अति नै समझदार आफन्तहरूले तपाईंलाई चाडबाडको बेला निम्तो दिन्छन् र खाना खुवाउँछन् भने, बाइबलले स्पष्ट भन्छ, ''विवेकको खातिर केही सोधपूछ नगरी त्यो खाओ'' (१कोरिन्थी १०,२५,२७)। यसमा शङ्का गर्नु पर्दैन किनकि “पृथ्वी र त्यसमा भएका यावत् थोकहरू सबै परमप्रभुकै हुन्” (१कोरिन्थी १०,२६)।
कतिपय खानपीनले मानिस अशुद्ध र रोगी नहुनेचाहिँ हैन किनकि सबै थोक न्यायसङ्गत भए पनि फाइदाका छैनन्। मानिस कसरी अशुद्ध हुन्छन् भन्ने कुरो तीन वटा बुँदाबाट बुझ्ने प्रयास गरौँ,
पहिलो कुरो, मानिस गलत थोक खाएर वा पिएर अशुद्ध हुँदछ। आफैलाई अपमान गर्ने थोकहरू लिनु भनेको परमेश्वरको अपमान गर्नु हो, अशुद्ध हुनु हो, जस्तैः कुनै पनि मादक पदार्थले परमेश्वर वास गर्नुहुने शरीरलाई अशुद्ध पार्छ।
दोस्रो, हृदयमा फोहोर कुरो थुपारेर मानिस अशुद्ध हुँदछन्। येशूले भन्नुभयो, ''के तिमीहरूलाई थाहा छैन, जे मुखभित्र पस्छ त्यो पेटमा गइहाल्छ, र बाहिर निस्किहाल्छ? तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्कन्छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछन्। किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन्। यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन'' (मत्ती १५,१७–२०)। हृदयमा जे छ त्यो बाहिर निस्कँदा, त्यसले अरूलाई होइन, आफैलाई अशुद्ध पार्दछ।
तेस्रो, मानिसलाई कसैले अशुद्ध बनाइरहनु पर्दैन किनकि भजन भजन ५१,५ले भन्दछ, ''साँच्चै, म जन्मँदा नै पापी थिएँ, र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।'' रोमी ३,२३ले यसलाई अझ प्रष्ट पार्छ, ''सबैले पाप गरेका छन, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।'' मानिसलाई आफूसँग भएको पाप स्वभावले अशुद्ध पार्छ। यस पापबाट शुद्धीकरण हुने उपाय पनि परमेश्वरले नै दिनुभएको छ। यस्तो लेखिएको छ, ''यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ'' (१यूहन्ना १,९)। येशूको रगतले मात्र हाम्रो पापलाई धुन सक्दछ (१यूहन्ना १,७)। यसकारण विश्वास गर्ने व्यक्तिलाई कसैले जबरजस्ती जाँड नै खन्याइदिएछ, अछेता छरिदिएछ वा प्रसादले नै पुरिदिएछ भने पनि केही हुनेवाला छैन। यी त नाश भएर जाने थोक हुन् (कलस्सी २,२२)। अब त भन्नुपर्ने हुन्छ, येशूलाई विश्वास नगर्नु नै अशुद्ध हुनु हो।
अब हामीलाई स्पष्ट भयो कि मानिस अरूको कारणले होइन, आफ्नै कारणले अशुद्ध हुँदछन्। यसको अर्थ ती थोकहरू खाए वा पिए पनि हुन्छ भन्न खोजेको होइन –– कति पटक हाम्रा मानिसहरूले कुरो उल्टो बुझिदिन्छन्। जुन विचार, बोली, कर्म र खानपीनले परमेश्वरको योजनालाई साथ दिँदैन ती कुराहरूले मानिसलाई अशुद्ध पार्ने औजारको काम गर्छ। याद गरौँ, ''परमेश्वरले हामीलाई अशुद्धताको निम्ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ'' (१थेस ४,७)।
निष्कर्ष
तपाईंलाई कसैले झुक्याएर, मनाएर, तर्साएर खुवायो वा पियायो भन्दैमा विश्वासलाई ढलपल हुन नदिनुहोस्। आफूमाथि केही अनिष्ठ आइपर्ला कि भनेर नडराउनुस्। डराएको खण्डमा तपाईंको मनोविज्ञानलाई शैतानले प्रयोग गर्ने सम्भावना छ। त्यस्तो नहोस्। बरु तपाईंलाई जबरजस्ती गर्नेको चाहिँ अनिष्ठ हुनसक्छ किनकि येशूको नाउँमा पवित्र पारिएको व्यक्तिलाई कसैले जबरजस्ती गर्छ भने तपाईंले बदला लिनुपर्दैन किनकि एउटा प्रसङ्गमा प्रभुले भन्नुहुन्छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” (रोमी १२,१९)। त्यो परमेश्वर तपाईंसँग हुनुहुन्छ।
अनि याद गर्नुस्, तपाईंको विश्वास सजिलो बेलाको लागि मात्र नभएर अपेक्षा नगरिएको परिस्थितिमा आउने परीक्षाहरू सामना गर्नको लागि दिइएको हो, यसकारण लेखिएको छ ''आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्'' (१पत्रुस १,७)। तपाईंको मुक्ति अनुग्रहबाट विश्वासद्वारा आएको हो, एफिसी २:८–९ ले यही भन्छ। त्यसो हो भने यही विश्वासलाई ‘दुष्टका सबै अग्निवाण निभाउने ढाल’ बनाउनुहोस् (एफिसी ६:१६)।