मानिस जब साह्रै सुखमा डुब्दछ, तब प्रभुलाई बिर्सिदिन्छ, मानौँ, उसलाई उहाँको खाँचो पर्दैन। सुखी जीवन बिताउनु नराम्रो होइन, तर सुखविलासलाई बढी स्थान दिँदा ऊ प्रभुदेखि सजिलैसँग टाढा पुग्दछ। त्यसै गरी, जब मानिस साह्रै दुःखमा पर्दछन्, तब दुःखको बेला प्रभुबाट केही सहायता नभएको बहाना गरेर हृदय कठोर पार्दछन् र प्रभुलाई त्याग्नुपर्ने उचित कारण भेट्टाएको भ्रममा पर्दछन्। स्वभावैले मानिस यस्तो प्राणी हो कि जसरी पनि परमेश्वरलाई बिर्सन चाहन्छ। सुख र दुःखमा हाम्रो अवस्था कस्तो हुनुपर्छ भन्ने विषयमा याकूबले यसो भनेका छन्,
''के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्'' (याकूब ५,१३)।
चाहे सुख होस् वा दुःख होस्, हामी उहाँको साथ नछोडौँ किनकि कष्टमा अलपत्र छोड्नुहुन्न। कष्टलाई पनि हाम्रो फाइदा हुने गरी भलाइमा परिणत गर्ने शक्ति सामर्थ्य उहाँसँग छ।