साप्ताहिक आराधना/सङ्गतिमा उपस्थित हुन पाउनु भनेको संसारमा हुँदा नै पाएका मौकाहरूमध्ये पनि अति नै दुर्लभ मौका हो। सङ्गतिको कुरो गर्नेबित्तिकै यो कुरो याद गर्नुपर्दछ कि तपाईंको पहिलो सङ्गति स्वर्गमा हुनुहुने परमेश्वरसँग सीधा व्यक्तिगत तवरले हुँदछ। दोस्रो सङ्गतिचाहिँ तपाईंले जस्तै सीधै परमेश्वरसँग व्यक्तिगत तवरले सङ्गत गर्नेहरूबीच गरिने सङ्गति हो। यो सङ्गतिको लागि हामी तोकिएको एउटै ठाउँ र एउटै समयमा भेला हुँदछौँ। यसैलाई स्थानीय मण्डली पनि भनिन्छ। यस भेलामा हामी एकअर्काबीच उत्साहको लेनदेन गर्दछौँ र एउटै परमेश्वरसँग सम्बन्ध भएको दाबी भेटघाट, भजनगान, खुला आराधाना, वचन सुनाइ आदिबाट गर्दछौँ। यो कुनै साधारण जमघट होइन। यसकारण भेला हुँदा हामीले परमेश्वरसँग व्यक्तिगत तवरले सङ्गत गरेको प्रमाण उहाँका अरू जनहरूबीच सार्वजनिक तवरले दिइरहेका हुँदछौँ।
यस किसिमको सङ्गति हामी नेपालमा शनिबार गर्दछौँ भने भारतलगायत अरू देशहरूमा आइतबार गरिन्छ। अनि कतिपय इस्लामिक देशहरूमा शुक्रबार हुने गर्दछ। ख्रीष्टियान जीवनमा सङ्गति अति नै महत्त्वपूर्ण मौका हो, जुन परमेश्वरबाट आउँदछ। यसकारण योचाहिँ सहभागी हुन गए पनि हुने र नगए पनि हुने कुरो होइन। यो मौकालाई 'भ्याउँला र जाउँला' भनेर नटारौँ! हिब्रू १०,२४–२५मा लेखिएको छ,
''हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। 25कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।''
के तपाईं गत शुक्रबार/शनिबार/आइतबार सामूहिक सङ्गतिमा उपस्थित हुनुभयो? छुट्नुभएको रहेछ भने, ख्याल गर्नुस्, साप्ताहिक र सामूहिक आराधना भनेको 'भ्याउँला र जाउँला' भन्ने छनोटको विषय होइन।