हातगोडा धुने थेओलोजी

 

बैङ्लोरमा अध्ययन गर्दै गर्दाको एउटा क्षण म कहिल्यै पनि बिर्सन सक्दिनँ।  कलेजको मेसमा खाना खानेहरूमध्ये धेरैजसोलाई उल्टी र पखालाले सताइए।  अस्पतालतिर भागदौड चल्यो।  कलेजमा ठूलो हङ्गामा मच्चियो।  एक दुई जनामाथि खानामा केही मिसाएको शङ्का गरियो, तर सबैभन्दा पहिला खानाको नमूना परीक्षण गर्ने सोचलाई प्राथमिकता दिइयो।  सेन्ट जोन्स अस्पतालको ल्याबमा खानाको नमूना पठाइयो।  लगभग दुई दिनपछि रिपोर्ट आयो।  खानामा एक किसिमको जीवाणु भेटियो, जुनचाहिँ पकाउने भान्से वा खाना पस्काउने पालो परेकाहरूमध्ये कुनै एक जनाले हात नधोएको हुनसक्ने कारण औँल्याइयो।  

          मानिसको शरीरमा धेरै प्रयोगमा आउने अङ्ग भनेको हात हो।  हामीले दिनभरिमा आफ्नै अङ्गहरूबाहेक अरू हजारौँ थोकहरूलाई छोइसकेका हुँदछौँ र हामीले के के छोयौँ भन्ने कुराको हेक्का पनि हुँदैन। यसकारण हातमा अनेकौँ घातक किटाणुहरू टाँसिँदछन्।  ती हातहरूले शरीरका आँखा, मुख, नाक, कान जस्ता अति नै संवेदनशील अङ्गहरूमा ख्यालै नगरी छुँदा र सफा नगरीकन खानपीन गर्दा त्यसमा भएका सूक्ष्म कीटाणुहरू शरीरभित्र छिर्दछन् र अनेक प्रकारका रोगहरू फैलाउँदछन्।   यसो पनि भनौँ कि सफासँग नधोइएका हातहरू रोग प्रवेश गर्ने ढोकाहरू हुन्।

हातबाट अनेकौँ रोगहरू फैलन्छन् भन्ने कुरो स्पष्ट भइसकेको छ, जसकारण सङ्युक्त राष्ट्र सङ्घले अक्टोबर १५लाई दिन हात धुने दिवस भनेर घोषणा गर्नुपर्यो। यो अभियान ई.सं. २००८मा शुरू भएको हो। यस दिवसका मुख्य लक्ष्यहरू तीन प्रकारका छन्ः

          क. सबै समाजमा साबुनले हात धुने एउटा सामान्य संस्कारलाई प्रोत्साहन र सहायता गर्न

          ख. हरेक देशमा हात धुनुपर्ने खाँचोलाई औँल्याउन

          ग. साबुनले हात धुनुका फाइदाहरू बारे जनचेतना जगाउन

अध्ययनले यस्तो देखाएको छ कि स्वास–प्रस्वास र आन्द्रासम्बन्धी रोगलाई हात धुलाइले २५–५० प्रतिशतसम्म घटाउन सकिन्छ।/1/   

यति सानो र सजिलो, अरूलाई होइन, फूलाई फाइदा हुने काम पनि हामी गर्न चाहँदैनौँ भने परमेश्वरले दिनुभएका अरू गहकिला आज्ञाहरू हामी कसरी मान्न सकौंला?  परमेश्वरले डक्टरहरूलाई मात्र नभएर सङ्युक्त राष्ट्र सङ्घलाई खटाएर हात धुने दिवस नै चलाउनुपरेको आभास भइरहेको छ।

यो लेख लेख्दै गर्दा मैले पनि महसुस गरेँ कि म आफै पनि हातको सफाइमा कम ध्यान दिने मानिस हुँ।  आफ्नै हात हो, किन धुने? भनेर स्वास्थ्यलाई हल्कासँग लिने गर्दछौँ।  आशा छ, तपाईंहरू मजस्तो हुनुहुन्न।  आफ्नै हातले आफैलाई धोका दिन नपाओस्।  हामीले उति महत्त्व नदिएको हात धुने आज्ञा परमेश्वरले मोशाद्वारा आजभन्दा लगभग ३५०० वर्षअघि दिनुभएको थियो।  प्रस्थान ४०:३०–३२मा यस्तो लेखिएको छ,

तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले। मोशा, हारून र तिनका छोराहरूले त्‍यसमा आआफ्‍ना हातखुट्टा धोए। तिनीहरू भेट हुने पालमा पस्‍दा अथवा वेदीमा जाँदा तिनीहरूले हातखुट्टा धुने गर्थे, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

          यो पूजाहारीहरू र लेवीहरूको लागि दिइएको आज्ञा हो।  तिनीहरूले हात खुट्टा धोएपछि मात्र पवित्रस्थानमा प्रवेश गर्न र बलिका थोकहरू छुन पाउँदथे।  यहूदीहरूको धार्मिक व्यवस्थाको टिप्पणी, तालमुडमा उल्लेख भएअनुसार, हात र गोडा धुने कार्यलाई परमेश्वरप्रतिको आदर भनेर व्याख्या गरेका छन्।/2/   हातगोडा धुने यहूदीहरूको व्यवस्थाले पवित्रस्थानमा प्रवेश गर्नको लागि योग्य बनाउँदथ्यो भने नयाँ करारमा हृदयको शुद्धीकरणले हामी स्वर्गीय स्थानमा प्रवेश गर्न सक्दछौँ, जुन येशूमा मात्र सम्भव छ। यहाँनेर हामीले सिक्नुपर्ने ईश्वरशास्त्रीय पाठ यो हो कि हाम्रो परमेश्वर अति नै सफा रुचाउने परमेश्वर हुनुहुन्छ।  उहाँलाई फोहोर मन पर्दैन र फोहोर उहाँको सृजना होइन।  यसकारण हामी सधैँ सफा रहनु आवश्यक छ।  हामी फोहरी भएर बस्नु भनेको उहाँले दिनुभएको स्वरूपलाई बेवास्ता गर्नु हो।  उहाँलाई अनादर गर्नु हो।  वचनमा आह्वान गरिएको , ''तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, 'तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु''' (१पत्रुस १,१५–१६)।  यस आज्ञाले अहिलेको सन्दर्भमा हृदयको शुद्धीकरणलाई मात्र होइन, शारीरिक शुद्धीकरणलाई पनि महत्त्व दिन्छ।

अहिले हामीले विश्वसँगै कोरोनाभाइरसको महामारी सामना गर्दै गर्दा, साबुन पानीले हात धुने कार्यलाई रोग लाग्ने जोखिम कम गर्ने माध्यमको रूपमा लिइएको छ। यो सही नै हो।  अबका दिनहरूमा मण्डलीको सामूहिक आराधनाको लागि मण्डली भवनमा प्रवेश गर्ने बेला कम्तीमा हात मात्र भए पनि साबुन पानीले धुन लाएको खण्डमा परमेश्वरको मात्र होइन, एकअर्काको पनि आदर हुने देखिन्छ।

 

पानीको ईश्वरशास्त्र

पानीको ईश्वरशास्त्रीय तथा बाइबलीय अर्थ धेरै गहिरो छ,  तर यस सन्देसलाई छोटो पार्नको लागि यतिचाहिँ भनौँः सबैभन्दा पहिलो कुरो, पानी शुद्ध पार्ने वचन हो, जसले हामीलाई धुँदछ।  दोस्रो, पानीले बाँझो जमिनलाई सिञ्चित गर्दछ। मरूभूमिरूपी सुक्खा जीवनमा हरियाली ल्याउने काम पवित्र आत्माले गर्नुहुन्छ (यूहन्ना ७,३७३८)।  तेस्रो, येशू आफै जीवनको पानी हुनुहुन्छ, जसले हामीलाई पापबाट शुद्ध पार्नुहुन्छ, जीवनको प्यास मेटाउनुहुन्छ। आज हाम्रा पाप गर्ने हात र पापमार्गतिर लम्कने गोडाहरू येशू नाम गरेको पानीद्वारा धोइएका छन् भने हाम्रा शारीरिक हातगोडालाई पानीले सफा गरेर उहाँको आदर गर्नु हाम्रो ठूलो जिम्मेवारी हो।

 

निष्कर्ष

कोरोनाभाइरसलाई विपत्तिको दृष्टिकोणबाट मात्र नभएर जीवनलाई प्रेम गर्न सिकाउने पाठको रूपमा लिने हो भने, हामीले उति ध्यान नदिएको हात धुने अनुशासन पालन गर्नु आफै पनि फाइदाजनक छ। ख्रीष्टियानहरूले शरीरलाई अपवित्र छ र यसलाई दुःख दिनुपर्छ भन्ने अवधारणालाई स्वीकार गर्दैनन्।  शरीर पापको प्रभावमा परेको छ, तर हामी शरीर हुनु परमेश्वरको इच्छा हो किनकि शरीरमा रहेर हामी उहाँको इच्छा र योजनाहरू पूरा गर्न सक्दछौँ।  हामी शरीरमा नरहनु पनि उहाँकै इच्छा हो, त्यो बेला हामी संसारबाट उठाइनेछौँ। यसकारण वचनमा यस्तो लेखिएको छ, ''तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैनरु तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ। तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।''

हाम्रो प्राथमिकतामा नपरेको हातगोडा धुने आज्ञा लगभग ३५०० वर्षअघि मोशाद्वारा परमेश्वरले दिइसक्नुभएको थियो। यति सजिलो आज्ञा पालन गर्नको लागि आज गम्भीर परिस्थितिले बाध्य पारेको छ, तर पनि परमेश्वरको आज्ञा यसरी पनि पूरा हुँदछन्। हातगोडा धुने ईश्वरशास्त्र!!

https://youtu.be/NZ5hxU401Vk

End Notes

/1/ ''Global Handwashing Day'' https://en.wikipedia.org/wiki/Global_Handwashing_Day as visited on March 21, 2020.

/2/ Adele Berlin, Marc Zvi Brettler (eds), The Jewish Study Bible: Jewish Publication Society Tanakh Translation (Oxford: Oxford University Press, 2004), 180.

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.