येशूको दोस्रो आगमनलाई हामी सुखको बेला प्राय सम्झँदैनौँ। संसारमा जब महामारी, लडाइँ, भूकम्प, अनिकाल, खडेरी, बाढीजस्ता विपत्ति र सङ्कष्टहरू आउँदछन्, तब हामीलाई संसारको अन्त हुँदैछ भन्ने लाग्न थाल्दछ। अहिले कोरोनाभाइरसको महामारी चलिरहेको परेको छ। यसलाई हामीमध्ये धेरैले येशूको दोस्रो आगमन र संसारको अन्तको चिन्हको रूपमा व्याख्या गर्न थालेका छौँ – मानौँ, विपत्तिबाट मात्र दोस्रो आगमनलाई बुझ्न सकिन्छ।
संसारमा महामारीहरू फैलनु नौलो कुरो होइन। एउटाको उन्मुलन हुन्छ, अर्को निस्कन्छ। यो क्रम चलिरहन्छ। उत्पत्ति २,१७लाई मनन गर्ने हो भने आदम र हव्वाको पापको कारण मृत्यु जाग्दछ। मृत्युको काम मार्नु हो। यस मानेमा कोरोनाभाइरस र अरू महामारीहरू मृत्युको हातमा परेका औजारहरू हुन्। यसो भनिए पनि विपत्तिहरू आउँदा हम्मेसी येशूको दोस्रो आगमनको लक्षण वा संसारको अन्तसँग मात्र जोड्नु अपूरो व्याख्या हो। विपत्तिको श्रेय परमेश्वरलाई दिन मिल्दैन किनभने हरेक विपत्तिको पछि मानिस जिम्मेवार हुँदछ। विपत्तिको श्रेय परमेश्वरलाई दिनु भनेको मानिसको कुनै जिम्मेवारी नभएको र सबै दुष्टयाइँको दोष घुमाउरो ढङ्गले उहाँमाथि थोपर्नु हो। विश्व इतिहासलाई केलाउने हो भने कोरोनाभन्दा पनि अति गम्भीर महामारीहरू फैलिसकेका छन्, जसकारण विपत्तिहरूलाई येशूको आगमन वा संसारको अन्त हुने सङ्केत र व्याख्यामा मात्र सीमित राख्नुभन्दा पनि जीवनप्रति गम्भीर भएर पश्चात्ताप गर्ने मौकाको रूपमा लिइनुपर्दछ।
विश्वमा १० लाखभन्दा बढी मानवीय क्षति गर्ने केही महामारीहरूको नाम इतिहासको समयक्रमअनुसार उतार्न गइरहेको छु। इतिहासमा पढ्न मिल्ने गरी अभिलेख गरिएको सबैभन्दा पुरानो महामारीलाई हेर्नै हो भने मिश्रमा फैलिएका महामारीहरूलाई सबैभन्दा पहिलो मान्नुपर्दछ। परमेश्वरले दस वटा विपत्तिहरू पठाउनुभयो। ती विपत्तिहरू आउनुमा हामीले परमेश्वरको क्रोधभन्दा पनि फारोको बदमासीलाई जिम्मेवार ठहर्याउनुपर्छ। मितिको हिसाबले मिश्रको विपत्ति येशू आउनुभन्दा लगभग १४०० वर्षअघि घटेको हो।
ई.सं. १६५मा 'एन्टोनाइन' नाम गरेको महामारी एसिया माइनर, मिश्र, ग्रीस र इटलीमा फैलियो। यो बिफर र दादुराको प्रकोप हो, जसमा ५० लाख मानिसहरू मारिए।
ई.सं. ५४१–५४२सम्म 'जस्टिनियन प्लेग' नाम गरेको महामारी चल्यो। एक वर्षको अवधिमा २ करोड ५० लाख मानिस मरे। यो मिश्रबाट फैलिएको थियो। यसबाट दैनिक १० हजार मानिस मरे, यहाँसम्म कि ई.सं. ५००–७००को बीचमा युरोपको जनसङ्ख्या ५० प्रतिशतमा तल झार्यो र रोम साम्राज्यको पतन हुनुमा जस्टिनियन प्लेगलाई नै जिम्मेवार ठहराउँछन्। यो उपियाँ र मुसाबाट सरेको थियो।/1/
त्यसपछि ई.सं. १३४६–१३५३मा 'ब्ल्याक डेथ' नाम गरेको महमारीले विश्वलाई गाँज्यो। मानव इतिहासमा सबैभन्दा बढी मानिस यस महामारीको चपेटामा परेर मरे। ७५ मिलियन, अर्थात् लगभग ७ करोड पचास लाख मानिस मरेको इतिहास छ।
ई.सं. १८५२–१८६०मा पनि हैजा चल्यो। यसले १० लाख मानिस मार्यो। यो हैजालाई 'थर्ड कोलेरा पान्डेमिक' नाम दिइएको छ।
'फ्लु पान्डेमिक' नाम दिइएको महामारीले ई.सं. १८८९–१८९०मा १० लाख मानिस मरे।
ई.सं. १९१०–१९११मा चलेको 'सिक्स्थ कोलेरा पान्डेमिक'ले ८ लाखभन्दा बढी मानिसहरू मरे।
'फ्लू पान्डेमिक'ले ई.सं. १९१८मा २ देखि ५ करोड मानिस मरे।
ई.सं. १९५६–१९५८मा एसियन फ्लू चल्यो। यसबाट दुई वर्षको अवधिमा २० लाख मानिस मरे। ई.सं. १९६८मा 'फ्लू पान्डेमिक' चल्दा १० लाख मानिस मरे।
एचआईभी/एड्सको महामारीले ३ करोड ६० लाख मानिस मरिसकेका छन्। यो आँकडा ई.सं. २००५–२०१२सम्मको हो। यो अवधिमा एड्स खुब चम्केको थियो।
ई.सं. २०१९– (यो लेख तयार पार्दासम्म – फेब्रुवरी १,२०२१) कोरोनाभाइरसबाट मर्नेहरूको सङ्ख्या २२,३९,२४८ पनि जोड्नुस्।
मैले यहाँ टिपोट गरेकोबाहेक दस लाखभन्दा कम मानिस मरेका महमारीहरू यहाँ मैले उल्लेख गरिनँ र ती उल्लेख गरेर साध्य पनि छैन। विभिन्न युगमा विभिन्न महामारीहरू चलेर उन्मुलन भएका छन्। अझै कति आउने हुन्, हामी जान्दैनौँ, तर यी महामारीहरूलाई अनेक आत्मिक अर्थ लाउँदै जाँदा परमेश्वरको वचनको अपूरो व्याख्या गर्ने खतरा बढ्दै जानेछ।
महामारी मानिसलाई प्रहार गर्ने परमेश्वरको हतियार होइन, तर मानिस उहाँको मापदण्डअनुसार जीवन नबिताएको सङ्केत घण्टी हो। मानिस सर्वैसर्वा होइन। ऊभन्दा माथि कोही छ र कसैको डर मानेर जिउनुपर्छ भन्ने सङ्केत पनि हो। नगर्नुपर्ने काम गर्यो भने मूल्य चुकाउनुपर्ने हुन्छ। नखानुपर्ने थोक खायो भने पनि मूल्य चुकाउनुपर्छ, जस्तैः सर्प, भ्यागुता, चमेरा आदि खानयोग्य प्राणीहरू होइनन्। सृष्टिलाई मासेर सृष्टिकर्ताको अपमान गरेको कारण सृष्टि यसरी खलबलियो कि मानौँ, मानिसले आफू बसेको घरमा आगो लाउँदैछ र उठीवास हुँदैछ। परमेश्वरको यावत् सृष्टि र मानव आफैले आफैविरुद्ध गरेको अनादरको परिणाम हो भन्ने पाठ कोरोनाभाइरसले सिकाउँछ।
निष्कर्ष
ख्रीष्टको दोस्रो आगमनको सम्पूर्ण रहस्य हामीलाई दिइएको छैन – केही सङ्केत मात्र दिइएको छ। यो घटना मानिसले नचिताएको बेला हुनेछ पनि भनिएको छ। मत्ती २४, लूका २१, मर्कूस १३ अध्यायमा उल्लेख गरिएका सङ्कटले भरिएका दिनहरू ख्रीष्टको दोस्रो आगमनका लक्षणहरू मात्र हुन्। इतिहासका कालखण्डमा घटेका महामारीहरू भनेका मानिसले परमेश्वरको अनादर गरेका प्रमाणहरू र त्यसलाई सुधार्नको लागि उहाँले दिनुभएका चेताउनीहरू हुन्। चेताउनीलाई अटेर गरेर उहाँले राखिदिनुभएको सीमा नाघेको खण्डमा डरलाग्दो परिणाम भोग्नुपर्दछ। अहिले भइरहेको यही हो। येशूको दोस्रो आगमनलाई सम्झने मानक ती महामारीहरू होइनन्। हामी प्रभुभोज लिएर सम्झन्छौँ। हामीलाई पवित्र आत्मा बैनाको रूपमा दिइएको छ। साथमा अनुग्रह दिइएको छ। महामारी होइन, येशूलाई हेरौँ।
स्रोतहरू
1. https://www.mphonline.org/worst-pandemics-in-history/
2. https://en.wikipedia.org/wiki/Pandemic
3. Dirk Proske, Catalogue of Risks: Natural, Technical, Social and Health Risks (Verlag, Berlin: Springer, 2008), 213.
4. पवित्र बाइबल