ख्रीष्टियानहरूलाई कोरोनाभाइरसले छुँदैन भनेर कतिपय ख्रीष्टियानहरूले प्रचार गरेको सुनियो। मेरै पोस्टहरूमा पनि विनाप्रसङ्गका टीका–टिप्पणी र गाली गलौज गरेर मलाई विश्वास नभएको पास्टरसमेत भन्न भ्याएका छन्। ख्रीष्टियानभित्र अर्काको विचारलाई कदर नगर्ने विचलन र अतिवाद मौलाएको देख्दा, मलाई फेरि पनि कोरियाको सिन्छिन्जी चर्चको प्रसङ्ग छुन मन लाग्यो। तिनीहरू बिरामी भए पनि अनिवार्य सङ्गतिमा उपस्थिति जनाउनैपर्ने नियममा बाँधिएका रहेछन्। कार्ड स्वाइप गरेर सदस्यहरूले हाजिरी जनाउनुपर्ने रहेछ। यो समूहको एउटी महिलाबाट हजारौँलाई कोरोनाभाइरस सारेको पुष्टि भइसक्यो। यो रोग फैलँदासमेत सिन्छिन्जी समूहले सरकारलाई जानकारी नदिएको र 'रोगले हामीलाई छुँदैन' भनेर हेलचक्राइँ गरेको कारण तिनीहरूको प्रमुखलाई नरसंहारको मुद्दा लगाइएको छ। यो बाइबलदेखि बिङ्ठिएको एउटा समूह हो। अचेल नेपाली ख्रीष्टियानहरूमध्ये कतिको उग्र अभिव्यक्ति सुन्दा सिन्छिन्जी समुदायभन्दा फरक देखिँदैन। अतिवाद जहिले–जहाँ–जसको भए पनि खतिकारी हुन्छ। कुनै पनि रोग, विशेष गरी अहिले द्रूत गतिमा फैलिरहेको कोरोनासँग कसैले खेल्नु हुँदैन। यसले हाम्रो जातीयता, राष्ट्रियता, धर्म–आस्था, वर्ण, लिङ्ग आदि कसैलाई छोड्दैन।
संसारले मृत्युलाई नजिकबाट देख्दा एउटा सच्चा ख्रीष्टियानले ख्रीष्ट येशूमा रहेको आशा जगाएर जीवन नै देख्नु र देखाउनुपर्दछ किनकि हामीसँग आशा छ, त्यो आशाले निराश गराउँदैन। यसो भनिए पनि हाम्रो आशा परमेश्वरको वचनमा आधारित हुनुपर्छ। यसको लागि वचनलाई सही ढङ्गले व्याख्या गर्नुपर्दछ। कठिनाइमा परेको बेला प्राय हामी भजन ९१सँगै सुरक्षा र उद्धारसम्बन्धी दिइएका वचनका प्रतिज्ञाहरूलाई सम्झने गर्दछौँ। निश्चय नै हामीले ती सम्झनुपर्छ, तर भावनात्मक व्याख्या गरेर होइन किनकि त्यस्ता खण्डहरूलाई हामी प्राय आपत–विपतको बेला मात्र पढ्दछौँ र हाम्रो महत्त्वाकाङ्क्षाभित्र अटाउने प्रयास गर्दछौँ, जस्तैः भजन ९१मा परमप्रधानको शरणमा वास गर्ने व्यक्तिलाई कुनै महामारीले नछुने, उसले गोमन सर्प र सिंहलाई लतार्ने, उसलाई स्वर्गदूतले थाम्ने, उसको शत्रुको सर्वनाश हुने, दीर्घायु, चारैतिरबाट उसको सुरक्षा, उद्धार हुनेजस्ता विषयहरू छन्। यो छुटकाराको भजन हो। एतिहासिक प्रसङ्गलाई हेर्ने हो भने उहिले यहूदीहरूले भजनसङ्ग्रह ९१लाई आउनुहुने सिद्ध मसीह, उद्धारकर्ताले दिने सुरक्षाको प्रतिज्ञाको रूपमा लिएका थिए, जुन येशूमा आएर पूरा भएको छ। परमेश्वरको सुरक्षा निश्चय नै छ, तर हाम्रो परिस्थितिमा उहाँले के गर्दै हुनुहुन्छ र हामीले के गर्नुपर्छ भन्ने कुरो ठम्याउन चुकिरहेका हुँदछौँ।
अचम्मको कुरा यो हो कि भजन ९१ का केही पदहरू टिपेर शैतानले येशूसँग ठट्टा गर्यो। वार्तालाप यस्तो छः
शैतानले येशूलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हामफाल्नुहोस्, किनभने यस्तो लेखिएको छ,
‘उहाँले आफ्ना दूतहरूको जिम्मामा तिमीलाई दिनुहुनेछ
र तिनीहरूले तिमीलाई आफ्ना हात-हातै थाम्नेछन्,
नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’” (मत्ती ४,६)।
येशू ४० दिन उपवास बसेर थाक्नुभएको थियो। भोकाउनुभएको थियो। कमजोर हुनुभएको थियो। हामी पनि कमजोर हुँदा शैतानले परीक्षा गर्ने मौका छोप्छ। ऊ येशूकहाँ यसरी प्रस्तुत भयो कि उसले सायद उहाँलाई चिनेन, किनकि उसले भन्यो, ''तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने'', तर ऊ को हो भन्ने कुरो उहाँ जान्नुहुन्थ्यो। शैतानलाई थाहा थियो कि भजन ९१को प्रतिज्ञा परमेश्वरको पुत्रले मात्र पूरा गर्न सक्नुहुन्छ।
सुरक्षा र उद्धारसम्बन्धी लेखिएको भजन ९१ लाई चुनौती दिँदै उद्धारकर्ता येशूलाई तल हाम फाल्नको लागि उक्सायो। हामी पनि झुक्किने ठाउँ यहाँनेर छ कि अहिले पनि आफ्नो फाइदाको लागि उसले परमेश्वरको वचन चलाउँछ। येशूले पनि वचनबाटै जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।” यो व्यवस्था ६,१६बाट लिइएको हो।
अहिले भजन ९१लाई उद्धृत गरेर कतिपय ख्रीष्टियानहरूले कोरोनाभाइरस लाग्दैन भन्दै गर्दा, हामीले पनि परमेश्वरको सुरक्षालाई आफ्नो अनुकूल व्याख्या गरेर कतै उहाँको परीक्षा त गरिरहेका छैनन्? कारण शैतानले पनि आफ्नो फाइदाको लागि वचन प्रयोग गर्नसक्छ भन्ने कुरा यहाँबाट स्पष्ट हुन्छ। उसले कतै ख्रीष्टियानहरूलाई पनि आदमलाई जस्तै, 'केही हुँदैन, खाए हुन्छ'' त भनिरहेको छैन? परमेश्वरकै वचनलाई चलाएर परीक्षा गरेको खण्डमा यो ठम्याउन निकै गाह्रो हुन्छ।
भर्खरको कुरो हो, the River of Grace Community Church नाम गरेको एउटा कोरियन चर्चमा नूनपानीले कोरोनाभाइरस पखालिन्छ भनेर पास्टरले एउटै बोतलबाट विश्वासीहरूको मुखैमा पालोपालो गरेर छर्किदिए। त्यहाँबाट ४६ जना कोरोनाका नयाँ रोगीहरू जन्मिए। यो कस्तो चर्च हो थाहा छैन, तर कुन आत्मा, बुद्धि र विवेकबाट यो गरियो, सो हामीले जाँच्नुपर्छ।
अहिले हामीसँग भएको कमजोर परिस्थितिमाथि वचन प्रयोग गरेर परमेश्वरको सुरक्षामाथि हामीले थाहा नपाउने गरी शैतानले चुनौती दिनसक्छ। भजन ९१मा माथिबाट हाम फाल्नको लागि परमेश्वरले आज्ञा दिनुभएको छैन, तर आज्ञा नै नदिइएका कामहरू गर्नको लागि उसले उक्साउँछ।[1] यसैलाई भनिन्छ – परीक्षा। येशूले 'हामीलाई परीक्षामा पर्नबाट जोगाउनुहोस्' भनेर प्रार्थना गर्न सिकाउनुको अर्थ ठूलो विनाशबाट रोक्नलाई हो।
निष्कर्ष
ख्रीष्टियानहरूले यो सीमा जान्नुपर्दछ कि उनीहरू पनि रोग लाग्न सक्ने शरीरमा जिइरहेका छन्। शरीरमा हुँदासम्म पापको प्रभाव रहिरहन्छ। यो शरीरले रोग, भोक, शोक खेप्नुपर्छ र अन्तमा संसार छोड्नुपर्छ। मानिसको मरणशीलता आदमको पापको परिणाम हो। यो सबै मानव जातिमा लागू हुने परमेश्वरको दण्ड हो, तर येशूलाई विश्वास गर्नेहरू उहाँको राज्यमा प्रवेश गर्नेछन् किनकि तिनीहरूको पाप दण्डहरू उहाँले उठाइसक्नुभएको छ।
तसर्थ, भजन ९१ देखाएर कोरोनाभाइरसले छुँदैन भन्दै परमेश्वरको परीक्षा नगरौँ। बरु, रोग फैलन नपाउँदै अपनाउनुपर्ने अधिकतम सावधानी अपनाऔँ। प्रार्थनासाथ निडर बनौँ। आफू जोगिएर अरूलाई पनि जोगाऔँ। हामीले आफ्नो तर्फबाट निभाउनुपर्ने जिम्मेवारी पूरा गरौँ। बाँकी काम परमेश्वरको हातमा राखौँ, जसले विपत्तिलाई पनि हाम्रो भलाइमा अवस्य परिणत गर्नुहुनेछ। यो कुरो बुझ्नको लागि हामीले उहाँको समय पर्खेर उहाँलाई काम गर्न दिनैपर्छ।
[2] https://www.letterofmarque.us/2011/04/the-devil-is-a-master-scripture-twister.html as visited on March 17, 2020.