के ख्रीष्टियानहरूले व्यवस्था पालन गर्नुपर्दैन?

मोशाद्वारा दिइएको व्यवस्थालाई ख्रीष्टियानहरूले पालन गर्नुपर्छ कि पर्दैन भनेर मलाई धेरैले धेरै पटक प्रश्न सोधेका छन्। हामीले पालन गर्नुपर्ने र नपर्ने दफाहरू छन्। मोशाद्वारा दिइएका व्यवस्थालाई तीन दफाहरूमा विभाजन गरिएको छ, तीमध्ये अहिले कुन लागू हुन्छ र कुन लागू हुँदैन भन्ने कुरो हामी बुझ्न लागौः
 
पहिलो दफाः मोशामार्फत परमेश्वरले दिनुभएका व्यवस्थाका दफाहरूमध्ये १० आज्ञाहरू पनि पर्दछन्। यी आज्ञाहरू मोशाको पालामा जसरी लागू भएको थियो, ती अहिले पनि लागू हुन्छ। ती फेर बदल हुँदैनन्, जस्तैः नचोर्नू, नढाँट्नू, व्यभिचार नगर्नू, हत्या नगर्नू आदि आज्ञाहरू हामी अक्षरशः पालन गर्छौँ। पालना नगरिएमा देशको कानूनले दण्ड दिन्छ। 

दोस्रो दफाः धार्मिक रीतिविधिहरू पालन गर्नुपर्दैन। ती विधिहरू येशू ख्रीष्ट नआउँदासम्मको लागि दिइएका हुन्। येशू संसारमा आइसक्नुभएको कारण यी धार्मिक रीतिविधिहरू रद्द/पूर्ण भइसके, जस्तैः मोशामार्फत परमेश्वरले दिनुभएको व्यवस्थाले पाप क्षमाको लागि पशुपक्षीको बलिको माग गर्छ।  अब ती चाहिँदैन, किनभने पशुपक्षीको भन्दा उत्तम बलिदान ख्रीष्ट येशूद्वारा भइसकेको छ। यस विषयमा हिब्रूको पत्रले वकालत गर्छ ''आफ्‍नै बलिद्वारा पाप हटाउनलाई उहाँ/येशू सधैँको निम्‍ति एकै पल्‍ट प्रकट हुनुभएको छ'' (हिब्रू ९,२६)। अब व्यवस्थाले सिफारिस गरेको बलि चाहिँदैन। अनि हामीले खतना पनि गर्नुपर्दैन - यो कुरो पावलले रोमी र गलातीको पत्रमा वकालत गरेका छन्। साथै खानपान, शुद्धीकरण र दिनहरूको पालन पनि गर्नुपर्दैन। रोमी, गलातिया र हिब्रूको पत्रमा व्यवस्था पालन गरेर मुक्ति पाइँदैन भन्नुको अर्थ हामीले यी धार्मिक रीतिविधिहरू पालन गर्नुपर्दैन किनकि ख्रीष्ट येशूले ती सबैलाई खारेज गर्नुभयो। 

तेस्रो दफाः सामान्य कानूनहरू पनि छन् जसमा १० आज्ञाबाहेक अरू नियमहरू पर्दछन्, जस्तैः दाँतको बदला दाँत, छिमेकीको गोरुले हानेर कसैलाई चोट पुर्यायो वा मर्यो भने के गर्ने के गर्ने भन्ने नियमहरू पर्दछन्। यीचाहिँ परिस्थितिअनुसार हुन्छ, जस्तैः अहिले पनि कुनै कुनै धार्मिक शासन कायम भएका देशहरूमा दाँतको बदला दाँत, खुनको बदला खुन, आँखाको बदला आँखाको नियम छन्। 

 

निष्कर्ष
व्यवस्था पालन गरेर मुक्ति पाइँदैन भन्नुको अर्थ उत्पत्तिदेखि व्यवस्थाका पुस्तकहरूलाई नै नमान्नु भनेको होइन, बरु व्यवस्थाभित्र रहेका रीतिविधिहरू पालन गरेर मुक्ति पाइँदैन भनिएको हो। ती विधिहरू येशू ख्रीष्ट आउनुअघि मात्र सक्रिय थिए, तर कलभरीमा उहाँको बलिदानी मृत्युले व्यवस्थाले सिफारिस गरेका धार्मिक रीतिविधिहरूलाई विस्थापित गर्यो। अब तीभन्दा उत्तम कुरो ख्रीष्ट येशूबाट आएको छ।  निश्चय नै पाप क्षमाको लागि मोशामार्फत दिइएको धार्मिक व्यवस्थाले बलिदानको माग गर्छ – त्योचाहिँ येशू नआउञ्जेलको लागि स्थापित रगतमा भएको करार थियो। अस्थायी थियो।  यो पुरानो भइसक्यो।  यसलाई हामी पुरानो करार भन्दछौँ।  अब हामी नयाँ करारको युगमा छौँ।  नयाँ करारले पनि रगतको माग गर्छ, तर पशुको नभएर येशूको – यो नयाँ करार हो! आशा छ, कुन व्यवस्था पालना गर्नुपर्दैन भन्ने कुरो यहाँहरूलाई स्पष्ट भएको छ।

 

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.