म मेरो अनुभवबाट शुरू गर्न चाहन्छु। मध्यरात! मेरो कोठाको ढोका जोडले ढकढकियो। ब्यूँझदा होस्टेलमा कोलाहल चलिरहेको थियो। गर्मी महिना! झूलभित्र अन्डरप्यान्ट [sic]] मात्र लाएको एक जना विद्यार्थी लडीबुडी गर्दै 'प्रभु, प्रभु, मे के गरूँ' भनिरहेको अवस्थामा भेट्टाएँ। उनका साथीहरू भन्दैथिए, 'अघिदेखि यसो मात्र भनेर रुँदैछन्। हामीले सम्झायौँ। केही सीप लागेन! कतै भूतात्माको खेल हो कि भनेर प्रार्थना गरेको त झाँक्रीझैँ काम्न लागेपछि हामीलाई डर लागेर तपाईंलाई बोलाएका हौँ!''
मैले नामै काढेर उनलाई बोलाएँ, तर चेतमा नभएको जस्तो देखिन्थ्यो। फेरि कराउन थाले, 'प्रभु, प्रभु, मे के गरूँ, तपाईं चाँडै आउँदै हुनुहुन्छ! म छोडिने भएँ! मेरा आफन्तहरूले विश्वास गरेका छैनन्, उनीहरू नरकमा पर्नेछन्!' उनलाई होसमा ल्याउन पानी नै छ्याप्नुपर्ने भयो। चेतमा आएपछि कुरा गरियो। मैले भन्दै गएँ,''प्रभुको दोस्रो आगमन हाम्रो लागि आनन्दको विषय हो – यसमा आत्तिनुपर्ने कुरा के छ र? अहिले नै आइदिनुभए त कति जाती हुन्थ्यो। अनि आफन्तहरू नरकमा पर्ला भनेर चिन्ता गर्नुपर्ने कुरो पनि छैन। उनीहरूको विषयमा चिन्ता लाग्छ भने, सुसमाचार सुनाउनको लागि भोलि नै पनि जान सकिन्छ।'' अलि मत्थर भएपछि प्रार्थना गरेर हामी सुत्न लाग्यौँ।
भोलिपल्ट त्यो भाइ ढिलो गरी उठे। कस्तो छ भनेर बुझ्दा, पूरै जिउ दुखेको बताइयो। उनी निकै कमजोर देखिन्थे। कक्षामा उपस्थित हुन सकेनन्।
धेरै पछि मात्र थाहा भयो कि केही दिनअघि मात्र उनले मण्डलीमा ख्रीष्टको दोस्रो आगमनसम्बन्धी प्रचार सुनेका रहेछन्। प्रभु आउनुभन्दा अघि अनिकाल, भुइँचालो, लडाइँ र विपत्तिहरूसहित महासङ्कष्ट आउने कुराहरू वक्ताले बताएपछि उनको हृदय र मन–मष्तिस्क नै खलबलिएछ र केही दिनदेखि त्यतिकै झसङ्ग–झसङ्ग भइरहने अवस्थामा पुगेका रहेछन्। गजबको साक्षी बाँड्दै हिँड्थे, त्यो भाइ! एक समय झाँक्रीको काम गरेका अनि आफै बिरामी परेपछि प्रभुलाई विश्वास गरेर चङ्गाइ पाएका उनका घटनाहरू सुन्नलायकका थिए। चङ्गाइ र मुक्तिको अनुभवले फुरुङ्ग भएको जोसिलो युवा कुनै वक्ताको प्रचार सुनेदेखि छटपटीमा परे।
येशूको दोस्रो आगमन महिमित आशाले भरिएको घटना हो र यो घटना घट्नुअघि सङ्कष्ट आउने कुरो सही नै हो, तर आगमनजस्तो महिमित घटनालाई सङ्कष्टमाथि जित्ने प्रेरणाको रूपमा प्रचार गर्नुको साटो उल्टै त्रासको विषय बनाइदिएका छन्, कतिपय वक्ताहरूले! अचेल प्राय दोस्रो आगमनको विषयमा गरिने प्रचार आशाको नभएर डरको हुँदछ, जब कि हामीसँग सङ्कष्टभन्दा पनि आनन्दको सन्देश बढी प्रभावशाली छ र संसारमा आउन लाग्नुभएको प्रभु संसारलाई जित्ने प्रभु हुनुहुन्छ।
पहिलो शताब्दीदेखि आजका युगसम्म सच्चा विश्वासीले पर्खेको घटना ख्रीष्टको दोस्रो आगमन हो। प्रेरितहरूले उनीहरूकै पालामा ख्रीष्ट फर्कने आशा राखेका थिए, विशेष गरी याकूब ५,८मा लेखिएको छ, ''तिमीहरूले पनि धैर्य धारण गर। आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।'' त्यसै गरी यूहन्नाले पनि दर्शनमा पाए, “हेर, म चाँड़ै आउँदैछु'' (प्रकाश २२:७,१२)। यसको अर्थ, हामीभन्दा अगिल्ला युगका विश्वासीहरूले पनि पर्खे, अनि हामी पनि पर्खँदैछौँ। अहिलेसम्म उहाँ आउनुभएको छैन। हामी संसारमा हुँदा नै आउनुभयो भने उहाँलाई संसारमा नै भेट्नेछौँ र आउनुभएन भने पनि हामी उहाँलाई माथि भेट्नेछौँ।
दुःखको कुरो, अन्तिम दिनसम्बन्धी अपूरो शिक्षा दिनेहरूले येशूको दोस्रो आगमनलाई आनन्दभन्दा पनि त्रासको विषय बनाइदिएका छन्, जसकारण कतिपय विश्वासीहरू भयानक घटनाहरू सम्झेर होसै गुमाएका छन्।
ख्रीष्टको दोस्रो आगमन कहिले हुन्छ भन्ने रहस्य हामीलाई दिइएको छैन। न स्वर्गदूतलाई न त पुत्रलाई नै दिइएको छ। यसको अर्थ येशूलाई समेत थाहा छैन भन्न खोजिएको होइन, बरु यो रहस्य हामीले जान्नु आवश्यक छैन। प्रभु कुन मितिमा आउनुहुन्छ भन्ने कुराको दर्शन पृथ्वीमा भएका कसैलाई पनि दिइँदैन भन्ने कुरो यसैबाट थाहा हुन्छ।
मत्ती २४ अध्याय, मर्कूस १३ अध्याय, लूका २१ अध्याय, प्रकाशको पुस्तकलगायत अन्य पुस्तकहरूमा उल्लेख गरिएका सङ्कष्टहरू येशूको दोस्रो आगमन हुनअघिका लक्षणहरू त हुन्, तर तीमध्ये कतिपय सङ्कष्टका कुराहरू त्यही घडी पूरा भएका पनि छन्, जस्तैः मत्ती २४ अनुसार मन्दिर नाश हुने कुरो ई.सं. ७०मा पूरा भयो। साथमा यसले येशूको दोस्रो आगमनलाई पनि सङ्केत गर्यो। यी सङ्कष्टका घटनाहरूलाई बढी केन्द्रित गर्ने हो भने, सङ्कष्टबाट छुटकारा दिनुहुने येशूतिर हाम्रो ध्यान नपुग्ने खतरा छ। तसर्थ, येशूको दोस्रो आगमन डर होइन, बरु आशा दिने घटना हो भन्ने सम्बन्धमा केही खण्डहरूलाई टिप्पणी गरौँ,
लूका २१,२८मा लेखिएको छ, ''जब यी कुरा हुन थाल्छन् तब खड़ा होओ र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेछ।” यो डरको कुरो नभएर आउनै लागेको उद्धारले पूर्णता पाउने सङ्केत हो।
यसै गरी प्रभुको दोस्रो आगमन मण्डली उठाइने समय हो – मण्डली भनेको हामी! यस विषयमा १थेस ४,१६–१८ मा लेखिएको छ,
प्रभु स्वयम् हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं। यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्त्वना देओ।
यहाँ पक्रनुपर्ने शब्दहरू 'बादलमा उठाइलगिनेछौं...हामी सधैँ प्रभुसँग रहनेछौं...एकले-अर्कोलाई यी वचनहरूले सान्त्वना देओ।' अब झन् आशाको एउटा वचन १यूहन्ना ३,२बाट पढौँ,
प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौं, र हामी के होऔंला, सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौं, कि जब उहाँ प्रकट हुनुहुन्छ, तब हामी उहाँजस्तै हुनेछौं। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं।
यस्तै आशाले भरिएका खण्डहरू बाइबलमा कैयौँ छन्। ती पनि सङ्कलन गरेर अध्ययन गर्नुस्।
गलत ईश्वरशास्त्रबाट जोगौँ
येशूको आगमनसम्बन्धी चिन्ताले चर्ल्स टेज रस्सेल नाम गरेको मानिसका मानसिक सन्तुलन गुमेको इतिहास पढ्न पाइन्छ। आफ्नो मण्डली छोडेर रस्सेलले Watch Tower Bible and Tract Society नाम गरेको सङ्गठन खोले, जुन अहिलेका याहोवाका साक्षीहरू हुन्। ख्रीष्टको दोस्रो आगमनका मितिहरू पाँच पटक (१८७८, १८८१, १९१४, १९१८, १९२५) तोके र फेल खाए। सेभेन्थ डे एडभन्टिस्ट नाम गरेको समूह सैद्धान्तिक हिसाबले उति खतरनाक होइन, तर तिनीहरूका अगुवा विलियम मिलरले ई.सं. १८४४मा येशूको आगमनको मिति तोकिदिएपछि झूटमा गनिए। तिनीहरूको त्यो दाग अहिलेसम्म पखाल्न सकेका छैनन्। माता मान्नेहरूले डिसेम्बर २०१२मा संसारको अन्त हुन्छ भनेर संसारलाई झुक्याए। याद गर्नुस्, अधिकांश झूटा शिक्षाहरूले ख्रीष्टको दोस्रो आगमनसम्बन्धी गलत व्याख्या गरेर अरूलाई तर्साउँछन् र त्यसबाट फाइदा लिँदछन्।
निष्कर्ष
ख्रीष्टियान विश्वास कष्टसँग परिचित छ। येशू आफैले क्रूसको कष्ट भोग्नुभयो, तर अन्तमा कष्टलाई महिमामा बदल्नुभयो। मण्डली कष्टबाट अगि बढ्नेछ र मण्डलीको शिर येशू स्वयम्ले हामीलाई हरेक कष्टमाथि विजयी बनाउनुहुनेछ।
दोस्रो आगमनको बेला अनिकाल, भूकम्प, युद्ध र महामारीहरू आउने विषयमा येशूले बताउनुको अर्थ उहाँमाथि विश्वास गर्नेहरूलाई अत्याउनलाई नभएर, सामना गर्नको लागि साहस दिनुभएको हो। हामी उहाँसँग आबद्ध छौँ भने दोस्रो आगमन कहिले होला, सङ्कष्ट होला कि नहोला, छोडिएला कि उठाइएला भनेर चिन्ता गरिरहनुपर्दैन। उहाँमा हुनेहरू कोही पनि हराउनेछैनन्। यसकारण येशूको दोस्रो आगमनलाई हेर्ने हाम्रो दृष्टिकोणलाई स्पष्ट पारौँ। हामी पनि पावलसँगै भनौँ, ''हे हाम्रा प्रभु, आउनुहोस्'' (१को १६,२२)!