विश्वासीको लास जलाएपछि पुनरुत्थान कसरी होला र?

विश्वासीको लास जलाएपछि पुनरुत्थान कसरी होला र?

मैले केही वर्षअघि आफ्नै मण्डलीका विश्वासीहरूबाट बेहोरेको प्रश्न हो, 'जलाइसकेपछि पुनरुत्थानमा कहाँबाट शरीर जुट्छ त?' यो प्रश्न म आफैले उनीहरूलाई १कोरिन्थी १५ अध्याय पढ्न सिफारिस गर्नुको उपज थियो, जहाँ शरीर पुनरुत्थान हुने कुरो उल्लेख गरिएको छ।  एक हिसाबले हेर्दा ठीकै होः विश्वासीको लास जलाइसकेपछि खरानी/माटो भइसकेको हुन्छ। पुनरुत्थानको लागि के बाँकी रह्यो र?

गहिरिएर अध्ययन नगर्ने हो भने हामीलाई लाग्नेछ कि १कोरिन्थी १५ अध्यायअनुसार, पार्थिव (पृथ्वीको) शरीर गाड्नुपर्छ र गाडिएन भने पुनरुत्थानमा सहभागी हुन पाइँदैन।  १कोरिन्थी १५ अध्यायलगायत १थेसलोनिकी र प्रकाशको पुस्तकमा उल्लिखित पुनरुत्थानमा प्राप्त गरिने शरीर भौतिक होइन, महिमित हो। अहिले हामीसँग भएको शरीर महिमित होइन, बरु आदमद्वारा महिमा गुमाएको शरीरको निरन्तरता हो। यसलाई हामीले संसारमा बिसाउनैपर्छ। यसलाई पावलले 'गाड्ने' भन्ने शब्दावली चलाएका छन्। यस्तो लेखिएको छ,

 

मृतकहरूको पुनरुत्‍थान पनि त्‍यस्‍तै हो। जुन शरीर विनाशमा गाडिन्‍छ, त्‍यो अविनाशमा जीवित हुन्‍छ। अनादरमा त्‍यो गाडिन्‍छ, महिमामा त्‍यो जीवित हुन्‍छ। दुर्बलतामा त्‍यो गाडिन्‍छ, शक्तिमा त्‍यो जीवित हुन्‍छ। प्राकृतिक शरीरमा त्‍यो गाडिन्‍छ, आत्‍मिक शरीरमा त्‍यो जीवित हुन्‍छ (१कोरिन्थी १५,४२४४)।

यहाँ चलाइएको 'गाडिन्छ' भन्ने शब्दको मौलिक ग्रीकमा ठेट अर्थ 'बिउ छर्नु' हो  ग्रीक शब्द स्पेरेटाइ (σπείρεται) चलाइएको छ  वचनको बिउ छर्ने सम्बन्धमा पनि यही शब्दावली चलाइएको छ (मर्कूस ४,१५)। यहाँनेर 'गाडिन्छ' भन्नुको साटो 'छरिन्छ' भनेको खण्डमा अझ बढी ठेट हुने र लास गाड्नुपर्छ भन्ने आसय होइन भन्ने प्रष्ट हुन्छ। जमिनमा कुहिनको लागि मिल्काइने वा लुकाइनेजस्तो देखिए पनि आखिर ख्रीष्ट येशूलाई विश्वास गर्नेको निम्ति जमिनमा बिउ छर्नुसरह हो, जसले नयाँ रूप धारण गर्छ।

यो पार्थिव शरीर माटोमा मिल्छ र माटो बन्छ, तर पुनरुत्थानको दिनमा यसलाई महिमित शरीरमा उठाइनेछ। अझै पनि कुरो छ, ''त्यसो भए, जलाइसकेपछि कसरी पुनरुत्थान हुन्छ?'' आदमलाई धूलोबाट रचना गर्नुहुनेले, के पुनरुत्थानको दिनमा माटो/खरानीबाटै नउठाउनुहोला र? गाडिएको एउटा लास कालान्तरमा नभेटिने गरी माटो नै बन्छ  कुरो यति हो कि गर्मी ठाउँमा छिटै माटो बन्छ भने जाडो अलि ढिलो! याद गर्नुस्, आदमलाई रचिएको 'माटो'को लागि हिब्रू शब्द עָפָ֣ר (आपार) चलाइएको छ, जसलाई 'माटो/खरानी' भनेर अनुवाद गर्न सकिन्छ।

मानौँ, पुनरुत्थान होस् भनेर ख्रीष्टियानको लास जमिनमा गाडिन्छ भने, पुनरुत्थानको दिनमा उसले कुन उमेरको शरीर प्राप्त गर्ला? बाल्यकालको शरीर! जवान! वयस्क शरीर! लौरो टेक्नुपर्ने बूढेस्कालको शरीर! कुनचाहिँ उमेरको शरीर पाइएला त? यीमध्ये कुनै पनि होइनन्। पावलले कोरिन्थका विश्वासीहरूसँग चर्चा गरेको पुनरुत्थानमा हामी महिमित शरीर प्राप्त गर्नेछौँ, जुन हामीसँग भएका ५ इन्द्रियहरूले ठम्याउन सक्दैनन्। यो मासु र रगतभन्दा फरक रूप हो, त्यसो त पावलले भनेका छन्, 'मासु र रगत स्‍वर्गका राज्‍यको हकदार हुन सक्‍दैन(५० पद)। जलाएर पुनरुत्थानमा सहभागी हुन नपाइने भन्ने सोचमा कुनै ईश्वरशास्त्रीय आधार छैन वा गाडेर इज्जत हुन्छ भन्ने आधार पनि छैन। जलाऊन् वा गाडून् आखिर माटोमा मिल्ने हो।

 

निष्कर्ष

आदमको पापको कारण मानिस माटो/खरानी बन्न बाध्य छ (उत्पत्ति ३,१९)।  वास्तवमा मानिस माटोमा जानु (परमेश्वरको) अनादर हो किनभने मानवलाई सृजना गर्नुको मौलिक उद्देश्य माटोमा मिलाउनु थिएन, तर त्यो अनादरलाई परमेश्वरले पुत्र येशूमार्फत पुनरुत्थानद्वारा हटाउनुभयो। यसकारण मुक्तिमा नै खलबल हुने रहेछ भने गम्भीर हुनुपर्छ, नत्र जलाउँदैमा अनादर हुने र गाड्दैमा आदर हुने भन्ने सिद्धान्त बाइबलले बसाल्दैन।  तर्कको लागि बाइबलका पदहरू प्रसङ्गविना टिपन–टापन गरेर व्याख्या गर्न सकिन्छ, तर बाइबलीय र तर्कसङ्गत तर्क मात्र गरौँ।

 

Share

Your encouragement is valuable to us

Your stories help make websites like this possible.